नेपाल समूहले जारी गर्‍यो यस्तो सर्कुलर

Madhav_Nepal
  • 2K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको असन्तुष्ट पक्षले आन्तरिक सर्कलुर जारी गरेको छ। सर्कुलरमा पार्टी अध्यक्ष केपी शर्मा ओली महाधिवेशनबाट पारित नीति र विधि अनुसार नचलेको आरोप लगाइएको छ। चैत्र ४ र ५ गते सम्पन्न राष्ट्रिय भेलाका निर्णयहरु, त्यसअघि र पछि भएका स्थायी कमिटी तथा केन्द्रीय कमिटीका निर्णयहरु समेत मातहत कमिटीहरुमा प्रेषित गर्न यो सर्कुलर जारी गरिएको छ।

सर्कुलर नेपाल समूहले राष्ट्रिय भेलाको निर्णयअनुसार परिचालित हुन निर्देशन दिएको छ। ‘यस्तो विषम परिस्थितिमा कसरी अघि बढ्ने भन्ने सम्बन्धमा छलफल गरी एउटा साझा निष्कर्षमा पुग्न हामीले २०७७ चैत ४ र ५ गते राजधानीमा राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गर्‍यौं। अत्यन्त उत्साहजनक एवम् भव्य रूपमा सम्पन्न उक्त भेलाकानिणर्यहरू, त्यसअघि र पछि भएका स्थायी कमिटी तथा केन्द्रीय कमिटीका निणर्यहरू समेत मातहतकमिटीहरूमा प्रेषित गर्न यो सर्कुलर जारी गरिएको छ। अब सम्पूर्ण पार्टीपंक्ति यसै अनुसार परिचालित हुन निर्देशित गरिन्छ,’ सर्कुलरमा भनिएको छ।

सर्कुलरमा प्रधानमन्त्री तथा तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेको कदमलाई कालो दिनको रुपमा अर्थ्याइएको छ। अदालतले एमाले ब्यूँताएपछि ओलीले फागुन २८ गते एमाले विघटन गर्ने कदम चालेको र त्यसले आफूहरुलाई राष्ट्रिय भेला गर्न बाध्य गराएको नेपालको भनाइ छ।

‘पूर्ववत अवस्थामा फर्काइएपछि हामीले नेकपा (एमाले) २०७५ जेष्ठ २ गते जुन अवस्थामा थियो त्यही अबस्थाबाट अगाडि बढ्नुपर्ने अडान राख्यौं। तर कमरेड केपी ओलीको दक्षिणपन्थी एवं विसर्जनवादी प्रवृत्ति नेकपा (एमाले)लाई विघटन गर्नेतर्फ उद्दत रह्यो,’ सर्कुलरमा भनिएको छ,’ त्यसैको एउटा कडी हो फाल्गुण २८ गतेको घोर षड्यन्त्रकारी कदम। त्यसदिन कमरेड केपी ओलीले नवौं महाधिवेशनको सम्पूर्ण म्याण्डेटलाई ध्वस्त पार्नुभयो। उहाँले पार्टीविधान, पार्टीमा स्थापित विधि र पद्धति विपरित केन्द्रीय कमिटीका सम्पूर्ण सदस्यहरूलाई खबर नै नगरी केन्द्रीय कमिटीको तथाकथित विशेष बैठकको नाममा गुटको भेला गरेर मनपरी ढंगले अवैधानिक निणर्य गरी पार्टीलाई विभाजित हुने स्थितिमा पुर्‍याउनुभयो। कमरेड केपी ओलीले यस किसिमको बल मिच्याँई र मनमौजी ढङ्गले गरेका सम्पूर्ण निणर्यहरू अवैधानिक भएको र त्यसलाई सच्याउँदै २०७५ जेष्ठ २ गतेको अवस्थामा पार्टीलाई पुर्‍याउन उहाँसँग दबावमूलक ढङ्गले कुरा गर्न हामी केन्द्रीय कार्यालय धुम्बाराही पुग्यौं तर कमरेड ओलीमा यति धेरै दम्भ र घमण्ड देखियो कि उहाँ कुनै कुरा पनि सच्याउन तयारहुनुभएन र आफ्नो विखण्डकारी अडानमै रहनुभयो। पार्टीमा गम्भीर संकट उत्पन्न भयो।’

यस्तो छ दुई महिने अभियान

खनाल-नेपाल समूहले दुई महिने पार्टी वैचारिक तथा संगठनात्मक सुदृढिकरण अभियान सञ्चालन गर्ने योजना पारित गरेको छ। सोही अभियान अन्तर्गत पार्टी र जनसंगठनका सबै तहका बैठक तथा भेला गर्ने, कमिटी विस्तार तथा पुनर्गठन गर्ने, प्रशिक्षण अभियान सञ्चालन गर्ने नेता नेपाल जारी गरेको सर्कुलरमा उल्लेख छ।

वैशाख ९ गते पार्टी स्थापना दिवसको अवसरमा काठमाडौंमा विशेष कार्यक्रम गर्न, सबै जिल्ला कमिटीले ओलीको कार्यविरुद्ध कार्यक्रम गर्न नेता नेपालले निर्देशन दिएका छन्। वैशाख १३ गते विराटनगरमा प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २२ औं स्मृति दिवसको कार्यक्रम आयोजना गरिने, २७ औं मदन आश्रित स्मृति दिवसको सन्दर्भमा जेष्ठ ३ गते चितवनमा विशेष कार्यक्रमको आयोजना गरिने खनाल-नेपाल समूहको तयारी छ।

खनाल-नेपाल समूहले पार्टी अध्यक्ष ओलीको स्पष्टीकरणको जवाफसहितको पुस्तक बनाएर मातहतका कमिटीमा पठाउने भएको छ । कार्यकर्ता भेलाको निर्णयबाट अत्तालिएर आफूहलाई कारबाही गरेको नेता नेपालको ठहर छ। ओलीले नेता नेपालसहित नेताहरु भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका थिए। नेता नेपालले हस्ताक्षर गरेको सर्कुलरमा कम्युनिष्ट आन्दोलन र नेपाली क्रान्तिका उपलब्धिहरूको रक्षा गर्नुपर्ने दायित्वमा अघि बढ्नुपर्ने बताइएको छ। नेता नेपालले आफूहरुको जित निश्तचित भएको जिकिर पनि गरेका छन्।

‘आज हामी अत्यन्त संवेदनशील अवस्थामा छौँ। नेपालको कम्युनिष्ट आन्दोलन र नेपाली क्रान्तिकाउपलब्धीहरूको रक्षा गर्नुपर्ने दायित्व हाम्रो काँधमा आएको छ। जसरी हाम्रा अग्रजहरूले कठिन अवस्थामा पार्टी र क्रान्तिको रक्षा गरेका थिए त्यसैगरी हामीले पनि हाम्रो काँधमा आएको यो दायित्व वहन गर्न संकल्पबद्ध भएर अगाडि बढ्नु पर्छ,’ सर्कुलरमा उल्लेख छ, ‘यिनै विचार, भावना र संकल्प बोकेर दृढता एवं आत्मविश्वासकासाथ हामी सबैअघि बढौं। जित हाम्रो निश्चित छ।’

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्