कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

coronadeath
फाइल तस्वीर
  • 52
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ। कोभिड–१९ बाट सोमबार मध्यान्हसम्म ४ जनाको मृत्यु भएको हो। बिराटनगरको कोशी कोभिड अस्पतालमा थप एक जनाको मृत्यु भएपछि कोभिडबाट निधन हुनेको संख्या पछिल्लो १२ घण्टामा ४ पुगेको हो। आइतबार राति झापा,दमकका ९२ वर्षीय बृद्धको मृत्यु भएको छ ।

मधुमेहका रोगी बृद्धको उपचारका क्रममा आइतबार मध्यरात मृत्यु भएको कोभिड–१९ उपचार केन्द्रका फोकल पर्सन एपोलो भगतले जानकारी दिएका छन्। उनका अनुसार बृद्धको शव आफन्तको जिम्मा लगाइ सकिएको छ।

कोशी कोभिड–१९ अस्पतालमा हाल २ जना कोरोना संक्रमित उपचाररत छन्। पछिल्लो दुई महिना अस्पताल सुनसान बनेपनि कोरोनाको दोस्रो लहर शुरु भएसँगै अस्पतालमा बिरामी आउन थालेको भगतले बताए । उता कैलालीमा पनि कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

फागुन पहिलो साता भारतबाट आएका उनमा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो। कडा खालको निमोनियासहित अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिएका छन्। सोमबार नै रुपन्देहीको बुटवलमा रहेको कोरोना विशेष अस्पतालमा ३ जनाको मृत्यु भएको छ।