माओवादी केन्द्र छाडेका ४ जनाको सांसद पद खारेज

लोकपाटी न्यूज

जनकपुरधाम। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमाले पार्टीमा प्रवेश गरेका नेकपा माओवादी केन्द्रका चारजना सांसद पदमुक्त भएका छन्। सोमबार माओवादी केन्द्रको सिफारिसमा ती सांसदलाई सभामुख सरोज यादवले पदमुक्त गरेका हुन्।

बैठकमा सभामुख यादवले पत्र पढेर माओवादी केन्द्रबाट एमालेमा लागेका रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुशवाहा, ज्वाला साह र मोहम्मद समिरलाई पदमुक्त भएको घोषणा गरे। नेकपा एमाले र नेकपा माओवादी मिलेर बनेको नेकपा सर्वोच्च अदालतले खारेज गरेपछि नेताहरु फरकधारमा उभिएका थिए।

पार्टीको विधान विपरित गएकोले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३१ र ३२ (१) ख बमोजिम पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चारैजनालाई कारवाही गरिएको सभामुख समक्ष पठाइएको पत्रमा उल्लेख गरिएको छ। चारजना सांसद नेकपा एमालेमा लागेपछि पार्टीको केन्द्रीय समितिले स्पष्टीकरण सोधेको थियो।

२४ घण्टाभित्र स्पष्टीकरण दिन भनिए पनि उनीहरुले नदिएपछि उनीहरुलाई पदमुक्त गर्न सिफारिस गरिएको थियो। माओवादी केन्द्रको प्रदेशसभामा प्रतिनिधित्व गर्ने ११ जना प्रदेशसभा सदस्यहरु थिए। जसमा चारजना कारवाहीमा परेसँगै अब यस पार्टीको प्रदेश २ मा ७ जना सांसद रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्