दुई महिने संघर्ष अभियान चलाउँदै मोहन वैद्य

Mohan_Baidhya
  • 302
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले संगठन तथा संघर्षसम्बन्धी अभियान चलाउने भएको छ। यही चैत २८ र २९ गते बसेको पोलिटव्युरो बैठकले आगामी बैशाख र जेठ महिनामा दुई महिने अभियानात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।

बैठकमा सहभागीहरुले संगठन तथा संघर्षसम्बन्धी कामको समीक्षा र आगामी कामबारे रिपोर्टिङ गरेका थिए। उनीहरुले कामको वस्तुगत आवश्यकता तथा आत्मगत स्थितिकाबीच अन्तरविरोध रहेको उल्लेख गर्दै त्यसको समाधानका लागि विशेष प्रयत्न गर्नुपर्नेमा जोड दिएका थिए।

त्यसैले बैठकले सबै प्रदेशहरुमा पार्टीको प्रशिक्षण लगायतका कार्यक्रम सन्चालन गर्ने निर्णयसमेत लिएको छ। साथै राष्ट्रिय स्वाधिनताको रक्षा, जनजीविकाका समस्याको समाधान, महँगी लगायतका मुद्दा उठाएर विकेन्द्रित तथा केन्दि्रत संघर्षका कार्यक्रम गर्ने निर्णय गरिएको नेकपा क्रान्तिकारी माओवादीले जनाएको छ।

सो पार्टीका महासचिव किरणद्वारा जारी विज्ञप्तिमा संयुक्त मोर्चा तथा कार्यगत एकतामा सम्मिलित राजनीतिक दलहरुबाट संघर्षका कार्यक्रम सन्चालनका लागि पहल गर्ने उल्लेख छ। साथै बैठकले वर्तमान राजनीतिक व्यवस्थाको विकल्पमा संघीय जनगणतन्त्रको स्थापना र वैज्ञानिक समाजवादलाई सशक्त रुपमा प्रस्तुत गर्ने निर्णय पनि गरेको छ।