राजनीतिक संकटको अग्रगामी निकासको खाँचो छ : सभामुख

Agni_Sapkota
  • 887
    Shares
लोकपाटी न्यूज

काठमाडौं। सभामुख अग्नि प्रसाद सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउज सबैखाले प्रयत्न गर्ने बताएका छन्। नयाँ वर्षको शुभकामना दिँदै सापकोटाले यस्तो प्रतिवद्दता जनाएका हुन्। संविधान सभामार्फत् नयाँ संविधान जारी भएपछि यसको कार्यान्वयनको चरणमा रहेकोले संविधानको मर्म, भावना अनुसार गर्नु पर्ने धेरै काम बाँकी रहेको सभामुख सापकोटाले बताए।

‘मुलुकमा राजनीतिक स्थिरता र स्थायित्व कायम होस् भन्ने जनचाहना सहितको समृद्धिको यात्रा अगाडि बढाउन राजनीतिक दलहरुबीच नयाँ वर्ष प्रारम्भसँगै नयाँ समन्वय र समझदारी कायम हुनेछ भन्ने अपेक्षा गरेको छु,’ शुभकामना सन्देशमा उनले भनेका छन्, ‘सकारात्मक परिवर्तनका लागि आपसी सहकार्य र सहमतिले मात्र मुलुकलाई अगाडि बढाउन सहज हुने विश्वास लिएको छु। अग्रगामी निकासका लागि हाम्राबीचमा दृढ संकल्प आवश्यक छ।’

प्रतिबद्धताहरु व्यवहारमा देखिए मात्रै विश्वासको आधारशीला तयार हुने उनको भनाइ छ। सन्देशमा उनले भनेका छन्, ‘हामीले मानव सभ्यता र अस्तित्वलाई नै चुनौती खडा हुने गरी फैलिएको कोभिड-१९ को महामारी, ठूला ठूला प्राकृतिक विपत्ति र संवैधानिक संकट ब्योहोरेर विक्रम सम्वत् २०७७ साललाई बिदा गरेका छौँ।’

संकट अझै टरेको छैन भन्दै सभामुखले गत वर्षभन्दा अझ बढी सजक र सतर्क भएर अघि बढ्नुपर्ने अवस्था रहेको तथा महामारीविरुद्ध संघर्ष जारी रहेको स्पष्ट पारेका छन्। उनले सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि अधिक पूर्वतयारी गर्नुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्