एमसीसी सम्झौता रोक्न मिल्दैन : प्रधानमन्त्री ओली

KP_Oli
  • 276
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी प्रतिवेदन संसदमा निर्णयार्थ प्रस्तुत नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्। सरकारले टेबुल गरिसकेको प्रतिवेदन रोक्न नपाइने पनि प्रधानमन्त्री ओलीको भनाई छ।

बुधबार देशवासीका नाममा सम्बोधनको क्रममा उनले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्रका कारण एमसिसी सम्झौता सदनमा पेस हुन नसकेको बताए। उनले ती दुबै पार्टी सरकारमा हुँदा एमसिसी सम्झौता अघि बढाउने निर्णय भए पनि आफ्नो सरकारले संसदमा पठाएको सम्झौता निर्णयार्थ पेस नै नगरिएको बताए।

प्रधानमन्त्री ओली भने, ‘नेपाली कांग्रेस र नेकपा माओवादी सरकारमा हुँदा सम्झौता गरिएको थियो। त्यो संसदमा टेबल गरेका छौं। निर्णयार्थ प्रस्तुत गर्न हामीले माग गरिरहेका छौं। सरकारले प्रस्तुत गरिसकेपछि निर्णयार्थ प्रस्तुत नगर्ने संवैधानिक कुनै अधिकार कसैसँग हुँदैन। त्यो प्रस्तुत गर्नैपर्ने हुन्छ।’

सरकारले टेबल गरेको एमसीसी सम्झौता निर्णयार्थ प्रस्तुत नगरेर संविधान नमानिरहेको अवस्था सरकारले झेलिरहेको उनको भनाइ थियो। प्रधानमन्त्री ओली पछिल्लो समय एमसीसी पारित हुनुपर्छ भनेर सार्वजनिक अभिव्यक्ति दिइरहेका छन्। प्रतिनिधिसभा विघटन गर्ने २०७७ पुस ५ को निर्णय सर्वोच्चले असंवैधानिक भनी खारेज गरेपछि बसेको प्रतिनिधिसभाको कुनै पनि बैठकमा उनी उपस्थित भएका छैनन्।

तर संसद्मा हुने गतिविधि र त्यहाँ हुनुपर्ने बिजनेसबारे भने उनले सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्। सभामुख अग्निप्रसाद सापकोटा र संसद्को बहसबारे ओलीले सार्वजनिक मञ्चबाट चर्को आलोचना गर्दै आएका छन्। राष्ट्रका नाममा गरेको सम्बोधनमा पनि प्रधानमन्त्री ओलीले अध्यादेशहरू प्रतिनिधिसभाको पहिलो बैठकमा टेबुल गर्न नदिएको भनेर असन्तुष्टि जनाए।

२०७७ सफल, के-के भए काम ?

यो वर्ष कोभिडको महामारी र राजनीतिक अस्वस्थता भए पनि निरर्थक वर्ष नरहेको प्रधानमन्त्री ओलीले बताए। ‘हामीले मेलम्चीको पानी ल्याएर काठमाडौंमा झर्ना धाराधारामा पानी झर्न सफल भयौ। खुसीयाली साट्यौं,’ प्रधानमन्त्री ओलीले भने।

त्यसैगरी प्रधानमन्त्री ओलीले दुरगामी महत्वका काम अघि बढाएर निरर्थक हुन नदिएको बताए। उनले प्रतिकुल मौसममा पनि अनलाइनबाट शिक्षा दिने देखि सामाजिक जनजीवनलाई सामान्य अवस्थामा जनजीवन फर्काउने प्रयास गरेको बताए।

कोभिड-१९ को बेला पनि सरकारले जीवनलाई प्राथमिकतामा राखेको उनको भनाई थियो। ‘नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो लक्ष्य हो। जनताको जीवन पहिलो हो। जनताको जीवन रहे शिक्षालय चल्न सक्छन्। उद्योगहरु पुन सञ्चालन गर्न सकिन्छ। मानिस रहेन भने सञ्चालन गर्न सकिन्न,’ ओलीले भने।

जीवनको सुरक्षालाई प्राथमिक महत्वमा राखेर कोभिडविरुद्धको गतिविधि अघि बढाएको उनको भनाई थियो। सरकारको सही नीतिकै कारण तुलनात्मक रुपमा कोभिडको प्रभावलाई असफल पारिदिएको ओलीको दाबी थियो। ‘हाम्रो सही नीतिकै कारण तुलनात्मक रुपमा असफल हुन दिएनौ,’ ओलीले भने, ‘कृषि उपजमा वृद्धि राम्रै भयो। ऋणात्मक भएन। त्यसैले गएको वर्षलाई सफलताको वर्ष मान्नुपर्छ।’

ओलीले पृथकतावादी सोचलाई अन्त्य गरेर महत्वपूर्ण सफलता प्राप्त गरेकोसमेत बताए। ‘हिंसाको बाटो लिइरहेको समूहलाई शान्तिपूर्ण बाटोतिर ल्याएर अर्को सफलता प्राप्त गर्‍यौं। अब जनतामा वास्ताविकक सर्वभौमसत्ता रहेको छ,’ उनले भने, ‘यस सन्दर्भमा ठूला सफलता प्राप्त गर्‍यौ।’

७७ सालमा धेरै सभागृहसमेत बनेको ओलीको दाबी थियो। उनले भने, ‘७७ सालमा धेरै सभागृह बने। लुम्बिनीमा पाँचहजार क्षमताको सभागृह र ध्यानकेन्द्र बनिसक्यो। गोदावरीमा ३ हजार क्षमताको सभागृह बनिसकेको छ। संसदीय भवन निर्माण भइरहेको छ।’

पछिल्ला दिनहरुमा सडक पनि उही रफ्तारमा बनिरहेको प्रधानमन्त्रो भनाई थियो। ‘प्रतिदिन साढे पाँच किलोमिटर बाटो बनेको छ। जनतामा आशा जगाउने काम गरेका छौ। एक दिनमा १२ वटा आवास बनेका छन्,’ ओलीले थपे, ‘भत्ता बढेको छ। अझै बढ्छ। यस्ता थुप्रै काम हामीले गरेका छौं। हरेक दिन एउटाभन्दा बढी झोलुंगे पुल। हरेक दोस्रो दिन सडक पुल। विभिन्न नाकाहरु खोलेका छन्। नदी करिडोर बनेका छन्। स्टिमर चलिसकेको छ। १३ मिनेटमा भोजपुर पुग्न सकिन्छ। यसरी ठूलो प्रगति भएको छ।’

ओलीले पुनर्निमाण प्राधिकरणले असाधारण काम गरेकोसमेत बताए। उनले वैशाख ११ गते धरहरा उद्घाटन हुनेबारेसमेत जानकारी गराए। त्यसैगरी हवाइ मैदान विस्तार भएकोबारेसमेत जानकारी गराए। शिक्षा क्षेत्रमा पनि धेरै प्रगति भएको उनको भनाई थियो। ‘थुप्रै विद्यालय निर्माण गरेका छौ। पाटनमा जापानको सहयोगमा बनेको वैशाख ६ गते उद्घाटन हुँदैछ,’ ओलीले भने।

मेलम्चीको पानीमा आफूले जस लिने काम भन्दा पनि जनतालाई सुविधा दिने काम ठूलो भएको तर्क गरे। भने, ‘मेलम्चीको पानी धाराधारामा बाँड्ने काम सानो हैन। हामीलाई जस चाहिएको छैन। जनतालाई सुविधा दिनु छ।’

त्यसैगरी ओलीले यही सरकारकै कारण खेलाडीमा आत्मबल बढेको र १९ गुणा बढी पदक जितेको दाबी गरे। भने, ‘१३ औंमा आइपुग्दा पदक ५१ वटा स्वर्ण पदक जित्यौं। १२ औंमा भन्दा १३ औंमा १७ गुणा बढी पदक जित्यौं।’ नेपाली भुभागलाई नेपालमै पारेर नयाँ नक्सा जारी गर्नु वर्ष २०७७ को ठुलो उपलब्धि भएको उनको भनाई रह्यो। भने, ‘नेपालको नयाँ नक्सा जारी गर्‍यौं। नेपालीमा हर्ष छाएको छ उमंग छाएको छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्