जनमोर्चाले छाड्यो गण्डकी सरकारको साथ, धरापमा मुख्यमन्त्री गुरुङको पद

prithabi_Chitra_Gandaki
  • 254
    Shares
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय जनमोर्चाले नेकपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ। सरकारविरुद्ध प्रतिपक्षले ल्याउने अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने समेत जनमोर्चाले स्पष्ट पारेको छ।

गण्डकी प्रदेश सरकारलाई दिएको समर्थनबारे भएको निर्णय सार्वजनिक गर्दै जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अविश्वासको प्रस्तावमा समर्थन गर्ने प्रस्ट पारेका हुन्। बुधवार जारी वक्तव्यमार्फत केसीले एमाले सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको घोषणा गरेका छन्।

‘केन्द्रमा हामीले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि प्रदेशहरूमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेका सरकारहरूलाई समर्थन कायमै राखेका थियौं,’ वक्तव्यमा भनिएको छ, ‘त्यसको अर्थ हामीले वामपन्थीको सरकारमा जोड दिएका हौं। गण्डकी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) अलग भएको स्थितिमा त्यहाँ ओली पक्षको मात्र सरकार हुन्छ।’

गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चासँग तीन सांसद छन्। उसले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार धरापमा परेको छ। वक्तव्यमा भनिएको छ, ‘गण्डकी प्रदेश सरकारले ओलीको पक्षमा काम गरिरहेको छ। त्यसका क्रियाकलापहरूले प्रतिगमनलाई मद्दत पुग्छ। त्यस कारण गण्डकी प्रदेश सरकारका विरुद्ध प्रतिपक्षबाट आउने अविश्वासको प्रस्तावलाई हाम्रो समर्थन हुनेछ।’

गुरुङको सरकार ढलेपछि नयाँ बन्ने सरकारमा जनमोर्चा सहभागी नहुने स्पष्ट पारे। यद्यपि नयाँ सरकार बनाउन आफूहरू सहयोग गर्न तयार रहेको उनको भनाई छ। केसीले भनेका छन्, ‘मुख्यमन्त्रीमा माओवादी केन्द्र र नेका जुन आए पनि त्यो उनीहरुबीच बन्ने समीकरणको कुरा हो। त्यसमा हाम्रो समर्थन रहने छ। तर त्यो सरकारमा हामी भने सहभागी हुने छैनौं।’

आफूहरू वामपन्थीको पक्षमा रहेकोले हालसम्म सरकारको समर्थन गरिरहेको तर नेकपा माओवादीले समर्थन फिर्ता लिइसकेपछि एमाले एक्लैको सरकार भएकोले समर्थन गर्न नसकिने जनमोर्चाको तर्क छ। गण्डकीमा एमाले नेतृत्वको सरकार जोगिन जनमोर्चाको साथ आवश्यक छ। जनमोर्चाले साथ नदिने भएपछि मुख्यमन्त्री गुरुङले विश्वासको मत लिन सक्नेछैनन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्