बोधीश्रवण धर्म संघ, चुनिखेल
“शिक्षा, धन र प्रतिष्ठा मात्र नभएर आध्यात्मिक चिन्तन गहिरो रुपमा भएन भने मानिसमा कहिल्यै आनन्द हुँदैन र जतिसुकै भौतिक प्रगति भए पनि असन्तुष्टिले पछ्याइरहन्छ। फगत सिद्धान्त मात्र थाहा हुने र अथाह ज्ञानमात्र आर्जन गर्दैमा त्यसको दुरगामी सकारात्मक असर हुँदैन।” याले युनिभर्सिटीबाट ‘साइन्स अफ वेलबिइङ’ क्रयास कोर्स गरेका मात्र नभइ ओम शान्तिबाट दीक्षित, युरोपमा (जर्मनी) भएको आत्मबोधको चेतनाको विजारोपण र ओशो धारामा पनि आबद्ध भइसकेका समन (श्रीहरि सुबेदी) ले भन्नुभयो। विकासशील मात्र नभइ विकसित देशका मानिसका दरिद्रपूर्ण मानसिकताले भौतिक संसारमा निक्कै अघि बढे पनि अध्यात्मिक चिन्तनको प्रत्यक्ष वा परोक्ष रुपमा जरुरी रहेको ठान्नुभयो। चैत्र ७ गते शनिबार ‘आध्यात्मिक यात्रा(Spiritual Journey) कार्यक्रमका प्रमुख पहलकर्ता समनले आध्यात्मिक धार नै आनन्दको आधार रहेको अनुभव र अनुभूति गरेको बताउनुभयो । १२ जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा जीवनदर्शनको विषयमा जाने बुझेका ज्ञान र भोगेका संघर्ष साटासाट गर्ने सबैमा उत्साह देखिन्थ्यो ।
समनले यस मेडिया एण्ड पब्लिकेसनका प्रबन्ध निर्देशक तथा पूर्व नयाँशक्ति पार्टीका राजनितिकर्मी रामहरि खड्कासँग सो कार्यक्रमका लागि सहकार्य गर्नुभएको थियो । विषय विशेषज्ञ नभए तापनि गृहस्थी जीवनलाई स्वीकार्दै आध्यात्मिक चिन्तनमा लाग्नु परम आनन्द हुन्छ भन्ने ठम्याइसकेका खड्काले भन्नुभयो “२०७२ सालको भूकम्पको ठूलो विनाशबाट विक्षत भएका बेला भौतारिँदै गर्दा, योगी नरहरिनाथको पुस्तकालय र मन्दिरको जीर्णोद्धारमा खटिन पुगें, अनि परमात्मा शिवको भक्तिमा पनि सामेल हुने सुवर्ण अवसर पाएँ । तब अध्यात्मको गहिराइमा डुबुल्की मार्दा आनन्दको अनुभूत भएको जस्तो भयो अनि त झन् शिवतत्वको व्याख्या खोज्न मन लाग्यो । योगी नरहरिनाथको परम् शिष्य श्रीशनाथ गुरुको शरणमा पुगें । हप्तौंसम्म उहाँको मुखारविन्दबाट केही आएन । अन्ततः मेरो धैर्यको बाँध फुट्नु अगावै गुरुले अध्यात्मको गहिराइ र भाव बुझ्न त्यति सजिलो नहुने तर कोसिस गरे सफल भइन्छ भनेर प्रष्ट्याउनुभयो । तब भौतिक आनन्दबाट आध्यात्मिक बाटो एकाएक रोज्न थालें र सिक्ने र सिकाउने क्रम विद्यार्थी झैं अहिले पनि निरन्तर जारी छ ।”
कार्यक्रममा विनित महर्जनले महासम्बोधी बोधीधर्म सङ्घ अर्थात् रामबहादुर बम्जनको विषयमा बताउँदै भन्नुभयो “सत्ययुग देखि नै सत्यमाथि प्रहार हँुदै आएको हो । त्यसैले गुरुमाथि शंका, आक्षेप लाग्नु कुनै नौलो कुरा होइन । महिनौंसम्म भोकै बसेर तपस्या गर्नुभएको र संसारका वैज्ञानिकहरु समेत च्कित परेको कुरा सर्वविदितै छ । नखाएको विष लाग्दैन । सत्य जहिले पनि अमर रहन्छ । मैत्रिमंगलम ्अभियानमा महासम्बोधि धर्म संघ गुरु भन्नुहुन्छ कि धर्म भनेको मुक्ति र मोक्षको मार्ग प्रदान गर्ने एक अदृश्य सत्य तत्व हो र सर्व परमात्मा भगवानहरु बस्नु भएको परमात्मालोक अथवा सर्व गुरु भनेको हो । ‘धर्म’ नित्य अर्थात् शाश्वत अजर अमर, परम सुख–शान्ति, महा विशुद्ध, कञ्चन, सुन्दर, सुगन्ध, तेजस्वी, परम सत्य, सर्व ज्ञानगुण, सर्व मैत्रीभाव र सर्व शक्ति, जस्ता तत्वहरूबाट सम्पन्नता भएको हुन्छ ।”
राष्ट्र र जनतामा २९ वर्षसम्म समर्पित हुनुभएका भु.पू. कर्णेल लब थापा मगरले इष्ट टिमोरमा रहँदा शान्ति मिसनको एक मर्मस्पर्शी घटनाको वर्णन गर्दै भन्नुभयो “एक महिनासम्म मेरो मलेसियल मुसलमान साथी र म एउटै कोठामा बस्थ्यौं । मेरो साथीले रुमाल राखेर प्रार्थना गथ्र्याे भने मैंले पनि भगवान शिवको धुप बती दिंदै प्रत्येक दिन आरधाना गर्थें । उ र मेरो विचमा कहिल्यै पनि मनमुटाव भएन, न मैंले न उसले मन कुडउन प¥यो । हामीहरुमा धार्मिकसंगै आध्यात्मिक चिन्तन हुने हो भने हामीमा समभाव हुन्छ, सबै धर्म, मानीस लाई सम्मान गर्छौं ।” गायकीमा पनि निख्खर उहाँलाई भजन गाउँदा गहिरो आनन्द आउने कुरा बताउनुभयो । उदार र कृपालु पूर्व कर्णेल थापा अझै पनि जातभातको भेदभाव, मानिसका विचमा चरमसिमामा नास्तिकता, भ्रष्टाचारको पराकाष्ट देखेर निक्कै चिन्ता लाग्ने कुरा बताउदै अगाडि भन्नुभयो “सबै व्यत्तिहरुलाई अध्यात्ममा जोड्न सके देशको मुहार नै फेरिनेमा ढुक्क छु । हामीले आध्यात्मिक जिज्ञासा प्रटक गर्दै परसेवामा तल्लीन रहन हौसायौ भने त्यो जस्तो मानवीय कल्याण केही छैन ।” करिब दुई दशक अगाडि स्रष्टा पूर्ण गुरुङसंग रहेर संगीत र अध्यात्मलाई संगै अघि बढाउने प्रयास स्वरुप ललितपुर, भैंसेपाटीको खाडीको डोल रामजी मानेको घरमा ॐ कारको अभ्याससमेत थाल्नुभएको थियो । साइ अखण्ड किर्तनमा समेत पूर्ण गुरुङसंगै लाग्नुभएको थियो तर सेनामा कार्यरत भएपछि त्यो सम्बन्ध अनायसै टुट्यो । हालसालै उहाँले (यो लेख https://lokpati.com/2020/10/94021/ पढेर थाहा पाएपछि) स्रष्टा पूर्ण गुरुङको सहयोगको तुरुन्त गर्नुभएको जानकारी गराउनुभयो। अहिले सेनाबाट निवृत्त भएपछि फेरि जगनाथ भजन समूह, कुमारीपाटीमा आबद्ध भइ प्रत्येक सोमबार शिवभगवानको आरधनामा लिन हुनुहुँदै आध्यात्मिक यात्रा अघि बढाइरहनुभएको छ।
शिक्षण पेशालाई ३३ वर्ष अंगालेर कयौं कर्मशील विद्यार्थीहरु उत्पादन गरिसक्नु भएका चन्द्रमान माली सर जोड दिंदैहुनुहुन्थ्यो “सकारात्मक सोचले मानिसलाई अध्यात्मिक बनाउँछ। एक गिलासमा आधा गिलास पानीलाई आधा खाली नदेखि ‘ओहो’ आधा गिलास पानी रहेछ भनेर सकारात्मक रहन सकिन्छ र पूरा भरी छैन भनेर गुनासो गर्दै नकारात्मक सोच हावी हुन पाउँदैन। आइन्सटाइनले कहिले पनि हार मानेनन् र थुप्रै आविस्कारहरु बत्ती बाल्नेदेखि लिएर एटोमिक इनर्जी समेत पत्ता लगाए। हामीमा धैर्यताको खाँचो प्रगाढ रुपमा चाहिन्छ। अनि यस्तै आध्यात्मिक चिन्तनले उदेक र वितृष्णा कहिल्यै पनि ल्याउँदैन। ‘दिप ज्योति माध्यामिक विद्यालय’ बुंगमतीका प्रधानाध्यापक माली सर योगी विकासानन्ददेखि लिएर Motivational Speaker राजु घलेसम्मको सत्संगमा अनुभव बटुली सक्नुभएको छ। माली सर आध्यात्मिक जागरणमा पहिल्यै देखि नै दृढ संकल्प राख्नुहुन्थ्यो। समाजले गर्ने सम्झना नै हाम्रो जीवनको सौन्दर्य होे भन्ने मान्यता लिनु भएका माली सर आध्यात्मिक यात्राका कार्यक्रमहरुमा सक्रिय रहने वाचा गर्नुभयो।
त्यस्तै आफ्नो आध्यात्मिक यात्रा सुनाउने क्रममा पर्यटन व्यवसायमा ३० वर्षदेखि अनवरत रुपमा तल्लीन रहनु भएका संकल्प शर्माले भन्नुभयो “धर्म र अध्यात्म दुई फरक धार हुन् र आत्मचिन्तन नभएसम्म रुमल्लि रहनुपर्ने हुन्छ। मानिसमा गुण र दोष दुवै हुने गर्छन् तर सकारात्मक चिन्तन नै आत्मज्ञानको मूलआधार हो। यूरोप बसाइका क्रममा अप्रत्याशित रुपमा एक दिन ग्रिसमा एकजना आफ्नै सहकर्मी, जो असाध्यै बलियो, अग्लो र तेजवान थियो, संग ठूलो झगडा प¥यो। (सायद त्यहाँको हाकिमले नछुटाएको भए मेरो मृत्यु पनि हुन सक्थ्यो) उक्त घटनाले मेरो मनमा ठूलो आघात पुग्यो। सर्मपण र इमान्दारी साथ ग्रीसको होटलमा काम गर्दागर्दै सहनुपरेको पीडाको त्यो झगडा पराकाष्टको रुप थियो। र त्यस अविस्मरणीय घटनापछि ‘म को हुँ’ भन्ने विषयमा निक्कै घोत्लिए र आत्मचिन्तनमा लागें अनि त जीवनमा उदेक र वितृष्णा भन्दा पनि प्रेम र समभाव प्रष्फुटित भैरहेको छ।”
अर्का वक्ता रमेश महर्जन, जसले नेपाल रेडक्रस सोसाइटीमा २० वर्षसम्म आबद्ध हुंदै देशका कुनाकाप्चामा अभिमुखिकरण तालिम लगायत थुप्रै कार्यक्रम दिइसक्नुभएको र १८ वर्षसम्म शिक्षण पेशालाई अंगालिरहनुभएको छ, भन्नुभयो “आत्म चिन्तन मुखले मात्र नभइ इमान्दारीता र उदारतालाई व्यवहारमा रुपान्तरण गरी लोक कल्याणको लागि केही काम गर्नु हो। हामी आफ्नो मात्र नभइ समाजमा जे योगदान दिन सकिन्छ त्यही गरिहाल्नुपर्छ, अनि त हामीमा अरुकाको मात्र मुख ताक्ने र गुनासो गर्ने बानी हट्छ। ” त्यस्तैगरि वुटवलदेखि आउनुभएका गोविन्द पाण्डे, चिरन्जीवी नेपाल, सन्दीप घिमिरे, दिपक श्रेष्ठ, दशराम महर्जन लगायत सबैले ‘आध्यात्मिक यात्रा’ मा जोडिन पाएकोमा निक्कै गौरवान्वित महसुस गर्नुभयो।
समनले ‘आध्यात्मिक यात्रा’ आजको समाजिक संजालको जालोमा फसिरहेको समाजमा साँच्चिनै औचित्य रहेको र यस्तो चिन्तनले सबैसंग मित्रवत् व्यवहार कायम राख्न हौसाउने कुरा व्यक्त गर्दै अघि भन्नुभयो “एक पटक स्पेनको सेभियामा आफ्ना साथीहरूका विच अनौठो र अलौकिक शक्ति प्राप्तभएको जस्तो लाग्यो। मध्यपानको सुरमा साथीहरुको विचमा उनीहरुको मनको कुरा (दुःख, चिन्ता) थाहा पाएको नाटक गरें, सबै जना चकित परे तर म भनें निराश थिएँ। सबैलाई मुर्ख बनाए पनि आफूले आफूलाई कहिल्यै ढांट्न नसकिने रहेछ । जीवन नियति र प्रारब्धहरूको शृङ्खला हो। जीवनमा समस्या भन्दा पनि समाधानका उपाय विस्तारै आउँदो रहेछ जब हामी अध्यात्मको स्वाधायन गर्न थाल्छौं।”
अन्त्यमा, तीब्बतको कैलाश मानसरोवर देखि मुक्तिनाथको पटक पटक भ्रमण गरिसक्नुभएका संकल्प शर्माले केही क्षण ध्यानका उपायहरु बताउँदै केही जानेका कुरा सिकाउनुभयो। थोरै समय मात्र भए पनि ध्यान गर्दा एकैछिन भएपनि शान्ती महसुस भएको सहभागीहरुले बताउनुभयो । दैनिक जीवनमा उतार चढाव आइ नै रहन्छ तर एकछिनको ध्यानले दिनभरिको लागि निक्कै उर्जा दिने कुरा शर्मा बताउँदैहुनुहुन्थ्यो । उहाँले बैरभाव, अभिष्ट इच्छा र व्यवहारमा सकारात्मक परिवर्तन आउने कुरामा दृढ विश्वास प्रकट गर्नुभयो।
मुख्य उद्देश्य आध्यात्मिक छलफल र जनचेतना रहेको पहिलो कार्यक्रम अत्यन्तै उल्लासपूर्ण भएको र आउँदा दिनमा कसरी अघि बढ्ने, आकार बढाउने भन्ने विषयमा बृहत छलफल गर्नुपर्ने निक्र्योल सहजकर्ता रामहरि खड्काले गर्नुभयो। भिस्तास हिमालय टुर्सका सञ्चालक समेत रहेका समनले सबैप्रति समभाव प्रकट गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्नेहरुप्रति धन्यवाद ज्ञापन गर्दै समापन गर्नुभयो।