मनाङ जिल्ला : साहसिक पर्यटकको गन्तव्य

Manag
लोकपाटी न्यूज
0 Shares

मनाङ हिमालपारिको सुन्दर जिल्लाको रूपमा परिचित छ। गण्डकी प्रदेशमा अवस्थित मनाङ प्राकृतिक सौन्दर्यले भरिएको जिल्ला हो। यहाँ पुग्नेहरूले मनाङलाई हिमालभित्रको जिल्ला पनि भन्ने गर्छन्। तिलिचो ताल, थोरङला पास, आईस लेक, अन्नपूर्ण पदमार्गको यात्रा गर्न स्वदेशी तथा विदेशी पर्यटकहरू यहाँ पुग्ने गर्छन्। चामेको तातोपानी, ताचैंको होमस्टेलगायतका स्थान मनाङ पुग्ने पर्यटकले छुटाउन नहुने स्थान हुन्।

मनाङका हरेक स्थान सुन्दर छन्। मनाङको यात्रा सहज छैन। तर साहसिक यात्रा रुचाउनेका लागि अनौठो अनुभव दिलाउने प्रकारको छ। मनाङमा हेर्ने हिमाल, हिमाली हावापानी, वातावरण, हिमाली वन्यजन्तु र मनमोहक वातावरण हो। जडीबुटी, फूल र जैविक विविधतामा पनि मनाङ धनी छ। दन्त लहर झैँ फैलिएका हिमाल, स्थानीय रहनसहन, मर्स्याङ्दी नदीको सुसाई, चक्रीय अन्नपूर्ण पदमार्गमा जाने पर्यटकका साथी हुन्।

मनाङ पदयात्रीका लागि आकर्षणको केन्द्र हो। यहाँ प्रकृतिको भण्डार छ। हिउँ पग्लिएर बनेको पहाड हेरेर पर्यटक लोभिन्छन्। हिमाल हेरेपछि दंग पर्छन्। वातावरण, रहनसहन, हिमाली हावाको सुगन्ध र एकान्तले उनीहरू प्रकृतिमा हराउँछन्। सदाबहार देखिने हिमाल, खोलानाला र प्रकृतिले आधुनिकतालाई चुनौती दिएको छ।

मनाङ तिब्बतको संस्कृतिसँग मिल्ने जनजीवन, बौद्धमार्गी प्रत्येक गाउँमा गुम्वा, हिमाली जनजीवन र स्वतन्त्र परिवेशमा रहेको भूमि हो। मनाङमा भोटे, गुरुङ घले, लामा र तिनै जातिसँग मिल्ने भेषभुषा र भाषा बोल्ने दलित बाहेक अन्य जातीको बसोबास पनि छैन। तर अहिले व्यापार र अन्य कारणले गर्दा केही जातीहरूले मनाङलाई कर्म थलोको रूपमा लिन थालेका छन्।

नामाकरण

जिल्लाको सबैभन्दा ठूलो गाउँ मनाङबाट नै जिल्लाको नामाकरण भएको पाइन्छ। मनाङ शब्द तिब्बती भाषाको ‘म्हनाङ्’ शब्दबाट अपभ्रंश भएर आएको मानिन्छ। तिब्बती भाषामा ‘म्ह’को अर्थ सहायता र ‘नाङ’को अर्थ देऊ भन्ने हुन्छ। बिकट भौगोलिक परिवेशमा रहेको र बाह्य साहयता बिना जनजीवन अतीकष्टकर रहेको भन्ने अर्थमा बुझ्नु पर्ने हुन्छ।

जिल्लाको इतिहास

सन १७८१मा रणबहादुर शाहको शासनकालमा नेपाल राज्यमा एकीकरण हुनु भन्दा अगाडी यो जिल्ला लमजुङ राज्य कै एक अंगको रूपमा रहेको थियो। पछि यस जिल्लालाई पश्चिम ३ नं. गोश्वारा अन्तर्गत पोखरा स्थित बडाहाकिम मार्फत राखी प्रशासन सञ्चालन गरियो। वि.सं. २०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गर्दा गण्डकी अञ्चल अन्तर्गत एउटा छुट्टै जिल्लाको रूपमा स्थापित भएको हो। तर मनाङ जिल्लाको सदरमुकाम मनाङको भूगोलमा राख्न त्यति बेलाको सरकारले सकेन। कारण थियो मनाङेहरूले नेपालको सरकारलाई नमान्ने।

त्यति वेलासम्म मनाङ बौद्ध भिक्षुहरूले आफ्नो राजाको रूपमा दलाई लामालाई मान्ने गरेका थिए। त्यसैले त्यति बेला मनाङको सदरमुकाम लमजुङ जिल्लाको बाहुनडाडामा राखियो। बाहुनडाडा मनाङ जाने मार्गमा पर्दछ। मनाङ जिल्लाबाट प्रतिनिधित्व गर्ने पन्च नेताहरू पनि लमजुङ जिल्लाबाट मनोनिल हुन थाले। मनाङ वासीहरूलाई यो भूमि नेपाल हो, तपाईहरु नेपाली हुनुहुन्छ, त्यसैले अव तपाईहरुले नेपाल सरकारको ऐन नियम पालना गर्नु पर्दछ भन्ने कुरा सिकाउनु पर्‍यो। लामो समयपछि तल्लो भेगका मनाङ बासी सरकारको कुरामा सहमत भएपछि बल्ल सदरमुकाम मनाङ जिल्लाको थोचेमा लमजुङको बाहुनडाडा बाट सारिएको थियो।

सदरमुकाम थोचेमा रहेपनि उपल्लो मनाङेहरूले पूर्णरुपले सरकारलाई समर्थन गरेनन्। पछि राजा महेन्द्रले मनाङ जिल्लाको भ्रमण गरी उपल्लो मनाङेहरूलाई तेस्रो मुलुकमा विना भन्सार व्यापार गर्न दिने व्यवस्था मिलाएपछि थोचेको सदरमुकाम अहिलेको सदरमुकाम चामेमा सारिएको हो। महेन्द्रको हुकुम प्रमाणितको आदेशमा विना भन्सार तेस्रो मुलुकसँगको व्यापार गर्न पाउनेमा उपल्लो मनाङका बासिन्दा मात्र भए। मनाङको पनि अति दुर्गम मानिने नार र फू गाउँ र तल्लो मनाङका बासिन्दा त्यो सुविधाबाट वञ्चित भएका थिए।

जसको परिणाम अहिले मनाङमा दुई खाले जनजीवन देखिन्छ। उपल्लो मनाङवासीहरू आर्थीकरुपले सम्पन्न छन्। तर अन्य भू-भाग अर्थात् तल्लो भेगका मनाङवासीको अवस्था भने सामान्य नै रहेको छ। अहिले मनाङ जिल्लालाई चार स्थानीय तहमा विभाजन गरिएको छ। चामे गाउँपालिका, नासोङ गाउँपालिका, नेस्याङ गाउँपालिका र नारफु गाउँपालिका नाम भएको छ। मनाङको कुल क्षेत्रफल २ हजार २४६ वर्ग कि.मि. रहेको छ।

भौगोलिक अवस्थिति

मनाङ जिल्ला भौगोलिक अवस्थितिका हिसाबले २८ डिग्री २७ मिनेट देखि २८ डिग्री २८ मिनेट उत्तरी अक्षांश र ८३ डिग्री ४०मिनेट पूर्वी देशान्तर देखि ८४ डिग्री ३४ मिनेट पूर्वी देशान्तरमा फैलिएको छ। उचाइको हिसाबले यो जिल्ला समुन्द्री सतहबाट १६८० मिटर देखि ८१६३ मिटरसम्मको उचाइमा रहेको छ। ४ वटा गाउँपालिका, २८ वटा वडा तथा ३५ भन्दा बढी ग्रामीण बस्ती रहेका छन्। यस जिल्लाको सिमाना पूर्वमा गोरखा र लमजुङ, पश्चिममा मुस्ताङ र म्याग्दी, दक्षिणमा कास्की र लमजुङ तथा उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ।

जिल्लाको भौगोलिक सुन्दरताको वयान गर्दा अति नै लोभ लाग्दा दृश्यहरू, अग्ला भिराला पहाडहरू र उच्च हिमश्रृखलाहरू जस्ता विशेषताहरू भएको यस जिल्लामा पूर्वमा मनास्लु, पश्चिममा दामोदर, दक्षिणमा अन्नपूर्ण र लमजुङ हिमाल पर्दछन् भने उत्तरमा तिब्बतको पेरी र चीन हिमाल पर्दछन्। मनाङ जिल्ला थुप्रै स्वदेशी तथा विदेशी पर्यटक/पदयात्रीको गन्तव्य मार्ग, बहुमूल्य जडीबुटी, वन सम्पदा, अपार जलस्रोतको धनी, विश्वको सबभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल तथा कुण्डहरूको बेजोड संगम भएको जिल्ला हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्