कविता : हाम्रो धरहरा

  • 39
    Shares
लोकपाटी न्यूज

-अच्युत दाहाल

जब जब समय बितिरहेको थियो
हर दिन तथा रातहरु
पारम्परिक झोंकमा
कामना गरिरहेका थिएँ
हाम्रो धरहरा भनेर
पुनः ठ्डिएर नयाँ भएर आउनू
तर अनुभव थिएन
कुनै पनि रहर
नयाँ भएर आएका थिएनन्

जो पनि आउथ्यो
हात समातेर केही दिन नचाउँथ्यो
रनभुल्लमा पारी आफू पनि नाचेझैँ गर्दै
त्यसपछि उसले यो चराचरलाई
आफ्नो हालतमा छोडिदिन्थ्यो।

तर धरहरा भने
साँच्चै नै नयाँ भएर आयो
तिमीले जीवनमा रोमाञ्च थप्यौ
घस्रिरहेको नाटकीय सङ्ग्रहका
अभिनयहरू
गर्दा
गर्दा
गर्दा
गर्दा वास्तविकता भुलेको जीवनमा
सत्यको उद्घाटन बन्यौ
प्रदुषणमा निस्सासिएर मर्न लागेको शहरबाट
धुलो र धुवाँ छाँट्यौ
वल्लो र पल्लो शहरमा रहेका भित्तामा रहेको
एक फोक्टा कलेजो जस्तो जङ्गल देखायौ
त्यसको मोह उमार्यौ
आफैंलाई टाडा छोडेर भागेको मान्छेलाई
घरभित्र हुल्यौ
दैलो थुन्न लगायौ
र आमा र बाबुको,
अनि छोराछोरीको अनुहारमा हेर्न लायौ।

यसभन्दा अघि
कहिले पो हेर्न पाइएको थियो र
बाबुको अनुहारको ग्राफमा
झर्दै गरेको रातो घाम !
अामाको हातको छालामा
मुजा परेर बसेको
ती बाल्यकालका रहरलाग्दा समयहरू!

कुनै धर्मगुरूलाई झैँ प्रवचनमा
सम्झाउन गाह्रो पर्ने कुरा
धरहरा तिमीले मान्छे स्वयमलाई
डेमो बनाएर बुझायौ –
तेरो कुनै सम्पति तेरो होइन
तेरो कुनै नातागोता तेरो होइन
तेरो कुनै आकांक्षा स्थायी होइन
तेरो कुनै कर्म महान होइन

अनि भन्यौ – तँ शून्य होस्।
यो समय बितेर जान्छ
भन्ने कुरो बिर्सेर निर्वाह गरेको
तेरो पद शून्य हो ।
म आत्म हुँ
भन्ने कुरा बिर्सेर निर्वाह गरेको
धरहरा,यी शहर र हाम्रो सम्बन्ध शून्य हो
एकदिन छोड्नु पर्छ
भन्ने कुरो बिर्सेर कमाएको
तेरो धन शून्य हो।

धरहरा !
संसारमा कुनै भाइरस आएन
बरू ऊर्जा फैलियो
जो मान्छेले मान्छे विरूद्ध
देशले देशविरूद्ध
सिमानाले सिमानाविरूद्ध
आफ्नो छातीमा राखेको थियो
र त्यो, छातीदेखि
छातीमै सर्यो।

हिजो तिमी महागर्भमा
विलुप्त हुन लागेको थियौ
तर आज एउटा पात
कुनै रूख बनिनुमा
रूखको फल बनिनुमा
रूखको बीज बनिनुमा
त्यो पातको जति भूमिका हुन्छ
यो युग बनिनुमा
त्यति नै तिम्रो भूमिका छ
म तिमीलाई बिर्सन सक्दिनँ
म कृतघ्न बन्न सक्दिनँ

तिम्रो संज्ञान
तिमीले सिकाएको पाठ
मुटुमा मेरो प्रवाहित हुने रक्तकण बनोस्
म तिमीसङ्ग सङ्गै यात्रामा पुनः
महायात्राको उद्देश्य हिँड्नसकुँ
मेरो आँगनको रूखमा
रासायनिक कणको धुलो नटाँसियोस्
पुतली रङ्गीन उडोस
आँखा – आँखाको फूलमा पुगोस्
सन्देह मासियोस्
महान – आस्था जन्मियोस्
भोगाइहरूमा
तटस्थताको कञ्चन धारा बगोस

अब यस्तो समय आवोस्।

हाम्रो धरहरा तिमीप्रति
अशेष श्रद्धा !

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्