विश्वको सेरोफेरो : प्राचीन मिश्रको सभ्यता

piramid misra
तस्वीर : मिश्रको पिरामिड
लोकपाटी न्यूज

विश्वको प्राचीन सभ्यताहरूमध्ये मिश्रको सभ्यतालाई प्राचीनतम् सभ्यता मानिन्छ। यो सभ्यताको विकास नील नदीको किनारमा विकास भएको थियो। इतिहासकार प्रोफेसर फ्लीन्डर्स पेट्रीका अनुसार मिश्रको प्राचीन सभ्यताको उदय इसाभन्दा पनि १०,००० वर्ष पहिले नै भइसकेको थियो।

मेसोपोटामियाको सभ्यता जति पूरानो छ, त्यति नै पूरानो मिश्रको सभ्यता भएको इतिहासकारहरूको भनाइ तथा तर्क छ। प्राचीन मिश्रको सभ्यताको संस्थापक एक जातिको नभएर अनेक जाति मिलेर भएको हुनसक्छ भन्ने पनि इतिहासकारहरूको तर्क रहेको छ। प्राचीन मूलबासीहरूको विषयमा इतिहासकारहरूमा मत भिन्नता रहेता पनि यो सभ्यताका जन्मदाताका रूपमा इथोपियन, लिबियन, सिरियन र सिमेटिक जातिहरू हुन् भन्ने विचारमा इतिहासकारहरूको सहमत रहेको छ। प्राचीन मिश्र प्राकृतिक तथा भौगोलिक दुवै दृष्टिकोणले चारैतिरबाट सुरक्षित रहेको थियो। त्यसै कारणले मिश्रको सभ्यता विध्नबाधा नभई लामो समयसम्म भई नै रह्यो।

इतिहासकार पेट्रिको भनाइअनुसार मिश्रको प्राचीन सभ्यताको इतिहासको आरम्भ इसाभन्दा १०,००० वर्षभन्दा पहिले भइसकेका थियो। तापनि मिश्रको विधिवत् तथ्यपूर्ण इतिहासमा इसाभन्दा ३४०० वर्ष पहिलेदेखि नै इतिहासकारहरूलाई प्राप्त हुन सक्यो।

१. पिरामिड युग (इसापूर्व ३४००–२५०० सम्म) :– इसाभन्दा ३४०० वर्ष पहिले पहिलोपटक मेनिस नामक फारो सम्राटले उच्च र निम्न मिश्रलाई एकीकरण गरेर बृहत राज्य कायम गरेका थिए र मेम्फिसलाई राजधानीमा बनाएको थियो। मिश्रको इतिहासमा मेनिसद्वारा स्थापना भएको राजवंश नै मिश्रको पहिलो राजवंश थियो। मिश्रको सम्राट राजवंशबाट फारो वा फैराओको पदले विभुषित हुन लागे। यही फैराओ सम्राटहरूले आ–आफ्नो शासनकालमा अनेकौँ पिरामिडहरूको निर्माण गरे। इसापूर्व ३४०० देखि २५०० सम्ममा पाँच राजवंशले शासन गरे। त्यही पाँच राजवंशको ऐतिहासिक शासनकाललाई हाल पिरामिडको युगको नामबाट चिन्न सकिन्छ।

पिरामिड युगमा हजारौं हजार पिरामिडहरूको निर्माण भएको थियो। वास्तवमा यहाँ रहेको सम्पूर्ण पिरामिडहरूलाई चिहानका रूपमा लिन सकिन्छ । यहाँ रहेको पिरामिडहरूमध्ये सबैभन्दा ठूलो पिरामिडका रूपमा गिजाको पिरामिडलाई लिन सकिन्छ। यो पिरामिडको उचाई ४८३ फिट र लम्बाई ७६५ फिट रहेको छ। यो भव्य र विशाल पिरामिड निर्माणका लागि १ लाख मजदूरहरूले २० वर्षसम्म अथक मिहिनेत गरेका थिए भन्ने अनुमान गरिन्छ।

२. सामन्त युग (इसापूर्व २४००–१८०० सम्म) :– पिरामिडको युगको अन्त्य वा समाप्तिपश्चात् मिश्रमा अराजकता, अशान्ति र तनाबको वातावरण सिर्जना भएको थियो। यसै बीचमा एक सामन्तले एघारौँ राजवंशको स्थापना गरी शासनको बागडोर सम्हाल्दै थिब्समा आफ्नै राजधानी बनाए, फेरि एकपल्ट मिश्रमा कानून, व्यवस्था र नियमपालना गर्ने कार्य सुरू भयो। तर, एउटा मन्त्रीले यो एघारौँ राजवंशको शासन, शक्ति र सत्तालाई चुनौती दिएर आफूले नै शासनको बागडोर सम्हाल्यो। उसले नै प्राचीन मिश्रमा बाह्रौँ राजवंशीको सामन्ती राजको स्थापना गराएका थिए।

३. साम्राज्य युग (इसापूर्व १८००–१००० सम्म) :– प्राचीन मिश्र दुई भागमा विभाजित रहेको थियो। पहिलोलाई तल्लो मिश्र र दोस्रोलाई माथिल्लो मिश्र भन्ने गरिन्थ्यो। उत्तरी मिश्रको डेल्टाको छेउछाउको भागलाई तल्लो र दक्षिणी भागलाई माथिल्लो मिश्र भनिन्थ्यो। तल्लो मिश्र माथिल्लोभन्दा समृद्धशाली रहेको थियो। करिब ई.पू. ३४०० मा माथिल्लो मिश्रका राजा मेनिजले मिश्रको एकीकरण गरेका थिए भने यिनै राजाले मिश्रमा विशाल सहर निर्माण गरेका थिए। यस सहरको नाम मेम्फिस राखियो। त्यसपछि यसलाई मिश्रको राजधानी बनाइयो। पन्ध्र सय वर्षसम्म मेम्फिस मिश्रको राजधानीको रूपमा रहेको थियो। राजा मेनिजका वंशले र त्यसपछि दोस्रो वंशले मिश्रमा चार सय बीस वर्ष राज्य गरेका थिए। यो अवधिभर मिश्रमा जम्मा अठार जना राजाहरूले राज्य गरेका थिए।

Nile-river
तस्वीर : नाइल नदी

४. नील नदीको देन :– भनिन्छ सायद नील नदी यदि नभएको भए मिश्रको सभ्यताबारे नामोनिसाना हुँदैनथ्यो। त्यसैले पनि प्राचीन मिश्रको सभ्यताको उदयका लागि नील नदीको ठूलो योगदान रहेको छ। यस नदीले आफ्नो महत्त्वपूर्ण प्राकृतिक सम्पदाले मिश्र सभ्यतालाई प्रभाव पारेको थियो। नील नदीको सहयोगले नै आधुनिक मिश्रको निर्माण भयो। मिश्रको निर्माण हजारौं वर्षदेखिको क्रमिक प्रयासले भएको हो। नील नदीको बाढीले मिश्रको सम्पूर्ण भूभागलाई सिंचाइ गरिरहन्थ्यो। नील नदीले आफ्नो किनारको टाढा टाढासम्मको भूभागलाई कालो र उब्जाउपुर्ण मैदानको रूपमा परिणत गरिरहन्थ्यो। नील नदीबाट नहर बनाएर टाढाटाढाको खेतहरूमा सिँचाइ गरिने गरिन्थ्यो।

५. सभ्यता र संस्कृति :– प्राचीन मिश्रको राजनीतिक अवस्था अत्यन्तै राम्रो सुदृढ थियो। मिश्रका शासकलाई फैराओ भनिन्थ्यो। राजा नै सर्वोच्च शासक, सेनापति र धर्म गुरु हुन्थे। फैराओ तथा राजालाई ईश्वरको प्रतिनिधि मानिन्थ्यो र उसको शासन दैवी सिद्धान्तमा आधारित हुन्थ्यो। शासकको घोषणा नै राज्यको कानून बन्न पुग्थ्यो। राज्यको सम्पूर्ण भूमि र जनशक्तिको स्वामी शासक हुने गर्दथे। वैदेशिक सम्बन्ध स्थापना गरेने अधिकार उसैमा निहित हुने गर्दथ्यो। युद्ध, शान्ति, सुरक्षा व्यवस्था र सन्धि गर्ने सर्वोच्च अधिकार राजामा नै निहित थियो। शासन पद्धतिको स्रोत पनि सम्राट नै हुन्थे। मिश्रमा कुनै न्याय व्यवस्था थिएन। तर मिश्रको सैनिक सङ्गठन भने निकै राम्रो थियो। मिश्रमा थल सेना र जल सेना रहेको थियो र दुवैको आफ्नो क्षेत्रमा बाहुल्यता थियो। मिश्रको विशाल साम्राज्य संगठित स्नाकै भरमा निर्भर थियो ।

६. आर्थिक अवस्था :– मिश्रबासी जनताको मुख्य जीविका नै कृषिमा निर्भर थियो। कृषि उत्पादनमा नै जनताको अर्थ व्यवस्थाको आधार हुन्थ्यो। नहरहरू निर्माण गरेर कृषिको विकास गरिएको थियो। मिश्रमा मजदूर र दासहरू कृषि कार्यमा संलग्न हुने गर्दथे।

मिश्रको यही सभ्यता संसारकै प्राचीन सभ्यता मानिन्छ। प्राचीन कालदेखि नै मिश्र भाषा, कला–संस्कृति र दर्शनका दृष्टिले समेत महत्वपूर्ण मानिन्छ। (विकिल्याण्डकाे सहयाेगमा।)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्