जनताकाे स्वास्थ्यमा खेलवाड नगर्न प्रचण्डकाे आग्रह

Prachanda-20
  • 403
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रले जनताको स्वास्थ्यमा खेलवाड नगर्न सरकारसँग आग्रह गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार विज्ञप्ति जारी गर्दै स्थानीय निकायमा स्वास्थ्य सामग्रीको समुचित व्यवस्था मिलाउन आग्रह गरेका छन्।

‘स्वास्थ्य सेवा प्रभावकारी बनाई जनतालाई राहत दिन केन्द्रित हुनुको सट्टा वर्तमान सरकारको शिलान्यास र उद्घाटनमा केन्द्रित हुने आचरणले अप्ठ्यारो दिनको सामना गर्नुपर्ने त होइन भन्ने नेपाली जनसमुदायमा आशंका बढाएको छ’ उनले भनेका छन्, ‘सरकारसँग जनताको स्वास्थ्यमा खेलवाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय निकायमा स्वास्थ्य उपकरण र सामग्रीको समुचित व्यवस्था मिलाउन विशेष आग्रह गर्दछु।’

खुला सीमा भएको भारतमा एकै दिन लाखौं व्यक्ति संक्रमित हुनुका साथै केही हजारको मृत्यु भएको तथ्याङ्कले पनि स्थिति भयावह बन्ने तर्फ सचेत रहनुपर्ने भएको प्रचण्डले बताएका छन्। महामारीको सबैभन्दा बढी मार श्रमजीवि जनसमुदायलाई पर्ने भन्दै प्रचण्डले खाद्यान्न तथा अन्य विशेष सहयोगको व्यवस्था मिलाउन सरकार र निजी क्षेत्रलाई अपील गरेका छन्।

साथै स्वयंसेवीका रुपमा महामारीविरुद्धको लडाइँमा सावधानीपूर्वक नेतृत्व लिन पार्टीका नेता कार्यकर्तालाई आग्रहसमेत गरेका छन्।

प्रचण्डको विज्ञप्ति:-

प्रेस विज्ञप्ति
आज कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरको महामारी फैलिएको घटनाले सिंगो देश आक्रान्त भएको छ। यस संक्रामक भाइरसको दोस्रो लहरका कारण निधन भएका सम्पूर्ण नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै तिनका शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गर्न चाहन्छु। साथै भाइरसबाट संक्रमितहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। विश्व मानव जातिका लागि नयाँ चुनौतिका रुपमा देखापरेको कोरोना भाइरस (कोभिड–१९)का कारण हालसम्म १४ करोडभन्दा बढी मानिस संक्रमित भएका छन् भने करीब ३० लाख मानिसको मृत्यु भइसकेको छ।
कोरोना संक्रमणको दोस्रो लहर अझ आक्रामक एवम् तीब्र संक्रामकका रुपमा देखिएको छ । छिमेकी राष्ट्र भारतमा एकै दिन लाखौं व्यक्ति संक्रमित र हजारौंको संख्यामा मृत्युको तथ्याङ्कले पनि खुल्ला सीमा रहेको हाम्रो देशको स्थिति भयावह बन्ने तर्फ सचेत रहनुपर्ने भएको छ । स्वास्थ्य सेवा प्रभावकारी बनाई जनतालाई राहत दिन केन्द्रित हुनुको सट्टा वर्तमान सरकारको शिलान्यास र उद्घाटनमा केन्द्रित हुने आचरणले अप्ठ्यारो दिनको सामना गर्नुपर्ने त होइन भन्ने नेपाली जनसमुदायमा आशंका बढाएको छ। म सरकारसँग जनताको स्वास्थ्यमा खेलवाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय निकायमा स्वास्थ्य उपकरण र सामग्रीको समुचित व्यवस्था मिलाउन विशेष आग्रह गर्दछु।
महामारीको सबैभन्दा बढी मार श्रमजीवि जनसमुदायलाई पर्ने भएकाले उनीहरुका लागि खाद्यान्न तथा अन्य विशेष सहयोगको व्यवस्था मिलाउन सरकारका साथै निजी क्षेत्रसँग पनि अपील गर्दछु । विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई उच्च जोखिममा रहेको देशका रुपमा सचेत गराइरहेको सन्दर्भमा म तीनै तहका सरकार तथा पार्टीका सबै तहका नेता, कार्यकर्ता र सदस्यहरुलाई स्वयम्सेवीका रुपमा यस महामारीका विरुद्धको लडाइँमा सावधानीपूर्वक नेतृत्व लिन आग्रह गर्दछु। आधिकारीक सूचना तथा सन्देश प्रवाह गरी नेपाली पत्रकारिता जगतले यस महामारीमा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्ने मैले विश्वास लिएको छु । कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अग्रमोर्चामा खटिनु हुने चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुमा उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दछु । सम्पूर्ण जनसमुदायमा कोभिड–१९ विरुद्धका स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गरी उच्च सतर्कता अपनाउन विशेष अनुरोध समेत गर्दछु । १३ बैशाख, २०७८
पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्