शिक्षा क्षेत्रमा बजेट बृद्धि गर्न जनप्रतिनिधिले जनाए प्रतिबद्धता

pic 1
  • 61
    Shares
लोकपाटी न्यूज

निर्मल पौडेल/ पर्वत, १६ वैशाख। शिक्षा क्षेत्रका लागि हाल विनियोजन भैरहेको बजेट अपुग भएको भन्दै बजेट वृद्धि गर्न आवश्यक रहेको कुरामा जनप्रतिनिधिहरुले सहमति जनाएका छन्। शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई नेपाल) पर्वतको आयोजनामा विद्यालय शिक्षामा लगानी बृद्धिको खाँचो विषयक भर्चुअल अन्तरसम्बाद कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले यस्तो प्रतिबद्धता जनाएका हुन्।

शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह २०२१ को सन्दर्भमा शिक्षामा लगानी बढाऔं भन्ने मूल नाराका साथ आयोजित शिक्षासम्बद्ध विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको कार्यक्रममा फलेवास नगरपालिकाका उपप्रमुख मञ्जु अधिकारीले शिक्षाकै माध्यमबाट सबै क्षेत्रको विकासलाई बढावा दिन सकिने भएकाले तीनै तहका सरकारहरुले बिना हिच्किचाहट सार्वजनिक शिक्षाको स्तर माथि उठाउन पर्याप्त लगानी गर्नुपर्ने आवश्यकता रहेको बताइन्।

उनले फलेवास नगरपालिकाले गुणस्तरीय शिक्षाका लागि शिक्षक तालिम, अंग्रेजी माध्यममा पठनपाठनको सुरुवात, सट्टा महिला शिक्षकको व्यवस्था, आइसिटीको प्रयोग, स्कुल बसको व्यवस्था, अभिभावक सचेतीकरणदेखि विद्यालयहरुको भौतिक संरचना व्यवस्थापनमा जोड दिइरहेको र आगामी वर्षको बजेटमा शिक्षालाई विशेष प्राथमिकता दिएर बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे। उपप्रमुख अधिकारीले पालिकाभित्रका विद्यालयहरुको शैक्षिक अवस्था सुधार गर्नका लागि सबै सरोकारवालाहरुको सहभागिता र साझेदारीमा काम गर्न फलेवास नगरपालिका तत्पर रहेको जानकारी पनि दिइन्।

जलजला गाउँपालिकाका उपाध्यक्ष सीमा गर्बुजा पुनले मुलुक रुपान्तरणको भरपर्दो आधार मानिएको सार्वजनिक शिक्षालाई सबै तहका सरकारहरुले उच्च प्राथमिकदा दिनुपर्ने खाँचो औंल्याउँदै शैक्षिक गुणस्तर बृद्धि गर्न तथा बजारको आवश्यकताअनुरुपको शैक्षिक उत्पादन निकाल्नका लागि हाल भैरहेको लगानीको दरलाई बृद्धि गर्नैपर्ने कुरामा जोड दिइन्। उनले जलजला गाउँपालिकाले चालु वर्षको तुलनामा आगामी बजेटमा शिक्षाका लागि मनग्य बजेट छुट्याउने वचनबद्धता प्रकट गरिन्।

भर्चुअल कार्यक्रममा विषयगत अवधारणा प्रस्तुत गर्दै शिक्षा विकास तथा समन्वय इकाइ पर्वतका प्रमुख उद्दिमराज पौडेलले जिल्लाका सातवटै पालिकाबाट पछिल्लो वर्ष शिक्षा क्षेत्रका लागि विनियोजित रकम पर्याप्त नभएकाले आगामी वर्षको बजेटमा उल्लेख्य मात्रामा बजेट छुट्याउनुपर्ने खाँचो रहेको बताए। इकाइ प्रमुख पौडेलले जिल्लाका सातवटै पालिकाको शैक्षिक लगानीको अवस्था र अबको खाँचो विषयमा प्रस्तुतीकरण राखेका थिए। उनले आफ्ना चुनावी घोषणापत्रमा प्रकट गरिएका शैक्षिक प्रतिबद्धताबाट दलहरु पछि हट्न नहुने तथ्य स्मरण गराए।

महाशिला गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ५ का वडा अध्यक्ष जीवन उचै ठकुरीले महाशिला गाउँपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि र कोभिड-१९ ले शिक्षामा पारेका प्रभाव न्यूनीकरणका लागि गरेका सिर्जनात्मक कामहरुको बारेमा जानकारी गराउँदै पालिकाको शैक्षिक व्यवस्थापनलाई प्रभावकारी र चुस्तदुरुस्त बनाउनका लागि आउने वर्षमा शिक्षाको बजेट बृद्धि गर्ने प्रतिबद्धता प्रकट गरे।

कार्यक्रममा एनसिई नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्र पहाडी, ग्रामप्रकाश माविका प्रधानाध्यापक भवानीशंकर पौडेल, शिक्षक चौतारी पर्वतका अध्यक्ष आनन्द पौडेल, छोरी पढाउँ अभियानका प्रेम विश्वकर्मा, शैक्षिक अभियन्ताहरु क्रमशः जगन्नाथ शर्मा, भिमबहादुर नेपालीलगायतले मुलुकको शिक्षा प्रणालीको व्यापक सुधार तथा सवलीकरणका लागि कूल राष्ट्रिय बजेटको कम्तीमा २० प्रतिशत र कूल ग्राहस्थ उत्पादनको ४ प्रतिशतसम्म शिक्षाका लागि लागनी गर्नुपर्ने, शैक्षिक लगानी बृद्धिका लागि प्रगतिशील कर पद्दति लागू गर्नुपर्ने र कोभिड १९ जस्तो महामारीले अस्तव्यस्त बन्ने जोखिममा रहेको शिक्षा क्षेत्रलाई त्राण भर्न थप ४ प्रतिशतसम्म लगानी गर्नुपर्ने कुरामा जोड दिए। भर्चुअल संवाद कार्यक्रममा भवानीशंकर पौडेल, साम्भवी अधिकारी, सुरेश पुन, सुरज लम्साल, सन्तोष पौडेल, राजेश गिरी, सन्देश राई, संगीता सुवेदी, गीता अर्याल, सुयश, विमला, कमल क्षेत्री, सिर्जना आचार्यलगायतका शिक्षासेवी तथा शिक्षाकर्मीहरुको सक्रिय सहभागिता रहेको थियो।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल पर्वतले आयोजना गरेको कार्यक्रमको सञ्चालन एनसिई नेपाल पर्वतका संयोजक यज्ञप्रसाद शर्माले गरेका थिए। स्मरणीय छ, एनसिई पर्वतले विश्वव्यापी कार्य सप्ताह २०२१ मनाउने सन्दर्भमा स्थानीय एफएम रेडियोबाट शैक्षिक आव्हानसहितको पीएसए बजाउने, सामाजिक सञ्जालबाट शैक्षिक सवालमा आधारित इन्फोग्राफिक्सहरु सार्वजनिक गर्ने तथा शिक्षामा बजेट बृद्धिका लागि स्थानीय सरकारहरुलाई आव्हान गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्