के साम्यवादमा सबै अन्तरविरोध हल हुन्छन् ?

Earth globe
  • 106
    Shares
लोकपाटी न्यूज

काठमाडौं। कम्युनिस्टहरु स्वतन्त्रताको युग अर्थात् साम्यवादी समाज स्थापनाका हिमायती हुन्। समाजमा विद्यमान शोषणका सम्पूर्ण रुपहरुको अन्त्य र पूर्ण समानतामा आधारित समाजको स्थापना गर्नु उनीहरुको एक मात्र ध्येय हो। बलप्रयोगको माध्यमबाट समाजवादको स्थापना र सर्वहारावर्गको जनवादी अधिनायकत्वको बलमा साम्यवादको आधार तयार पार्नु कम्युनिस्ट आन्दोलनको मूल जिम्मेवारी पनि हो।

पूँजीवाद अन्तरविरोध नै अन्तरविरोधले जेलिएको अर्थराजनीतिक व्यवस्था हो। समाजवादी क्रान्तिले पूँजीवादमा विद्यमान अधिकांश अन्तरविरोधहरुको समाधान गर्दछ। त्यसमध्ये सबैभन्दा मुख्य अन्तरविरोध वर्गीय अन्तरविरोधमा फेरबदल हो। पूँजीवादमा पूँजीपति वर्गले सर्वहारा वर्गमाथि वर्गीय अधिनायकत्व लाद्छ, त्यो अल्पतन्त्रको शासन व्यवस्था हो। तर, समाजवादमा यो परिस्थिति उल्टिन्छ। सर्वहारा तथा श्रमजीवी वर्ग शासनको केन्द्रमा रहन्छ, पूँजीपति वर्ग त्यसको अधिनस्थ।

समाजवादमा पनि केही अन्तरविरोध विद्यमान रहन्छ। उत्पादनका साधनहरुमाथि जनसमुदायको स्वामित्व र नियन्त्रण हुने हुनाले यहाँ वर्गीय अन्तरविरोधको खाडल घटिसकेको हुन्छ। समाजवादमा पनि शहर र गाउँबिचको अन्तरविरोध हल भइसकेको हुँदैन। पूँजीवादले शहरको विकासमा मात्रै जोड दिने कारण समाजवादी राज्यले ग्रामीण क्षेत्रको विकासलाई सन्तुलनमा पुर्‍याएर निश्चित अवधि चाहिन्छ। त्यसैगरि शारीरिक श्रम र मानसिक श्रमबिचको अन्तरविरोध पनि समाजवादमा विद्यमान अर्को अन्तरविरोध हो। माओत्सेतुङका अनुसार समाजवादी राज्यले त्यस्तो अन्तरविरोधलाई बुद्धिजीवीहरुलाई शारीरिक श्रममा पनि सरिक गराउने र श्रमिकहरुको वैचारिक स्तर उकास्ने विधिमार्फत् समाधान खोजिन्छ। मजदूर र बुद्धिजीवी वर्गबिचको अन्तरविरोध पनि समाजवादी राज्यले समाधान गर्दछ।

माओत्सेतुङका अनुसार शत्रुता र अन्तरविरोध एउटै कुरा होइनन्। शत्रुता दुई फरक वर्गबिच हुने अन्तरविरोध हो। तर, अन्तरविरोध शत्रु वर्ग र आफ्नै वर्गबिच पनि रहन सक्छ। एउटै वर्गका प्रतिनिधिहरुबिच पनि पेशा, चिन्तन, सोच्ने तरिकाको विविधता आदि कारण अन्तरविरोध हुने गर्दछ। तिनीहरुको वर्गस्वार्थ एउटै हुने हुनाले ती अन्तरविरोधको समाधान समाजवादी प्रणालीभित्रै मित्रवत् रुपमा खोजिन्छ। तर, शत्रुतापूर्ण अन्तरविरोधको समाधान एउटा वर्गले अर्को वर्गमाथि विजय प्राप्त गरेर मात्र हुन्छ।

पूँजीवादमा पूँजीपति र श्रमजीवी वर्गबिच रहेको अन्तरविरोध समाजवादी क्रान्तिले हल गर्दछ। तर, के समाजवादमा सम्पूर्ण अन्तरविरोधको हल हुन्छ ? समाजवादको उच्चतर विकासको प्रक्रियाद्वारा मानव जाति र सिंगो विश्व साम्यवादमा प्रवेश गर्दछ। तर, के साम्यवादमा कुनै पनि प्रकारका अन्तरविरोध बाँकी रहँदैनन् ? अन्तरविरोध नै विकासको चालक हो भने अन्तरविरोधबिना साम्यवादी व्यवस्था कसरी गतिशील रहन्छ ? यस्ता कैयौं प्रश्नहरु बहसयोग्य छन्।

माओत्सेतुङका अनुसार साम्यवादमा वर्गीय अन्तरविरोध अन्त्य हुन्छ। तर, अन्य विविध अन्तरविरोधहरु कायम नै रहन्छन्। प्रकृति र समाजका बिच निरन्तर अन्तरविरोध रहन्छ, जुन अन्तरविरोध आदिम साम्यवादी कालमा पनि विद्यमान थियो, त्यस्तो अन्तरविरोध वैज्ञानिक साम्यवादमा पनि रहन्छ। त्यही अन्तरविरोधका आधारमा समाजले प्रकृतिभित्र नयाँ–नयाँ खोज र अनुसन्धानको प्रक्रिया अगाडि बढाउँछ। साम्यवादमा मानिसले प्रकृतिसँग गर्ने संघर्ष पनि अन्तरविरोधको यही नियमसँग गाँसिएको छ।

साम्यवादमा अर्को अन्तरविरोध पूरातन र नूतन विचारबिचको अन्तरविरोध हो। मानिसको मस्तिष्कमा निरन्तर नयाँ सोच र विचारको विकास भइरहेको हुन्छ। साम्यवादी समाजमा पनि कसैले अलि नयाँ ढंगले सोच्दछ भने कसैले परम्परागत सीमाभित्र रहेर सोच्दछ। नयाँ सोचले जहिले पनि आफ्नो विचार समाजमा स्थापित गर्न चाहन्छ। त्यहाँनेर अन्तरविरोध देखापर्दछ। यद्यपि, यो अन्तरविरोध वर्गीय अन्तरविरोध नहुने हुनाले सामाजिक अन्तरक्रियाका माध्यमबाट समाधान खोजिन्छ।

साम्यवादी समाजमा पनि मानवीय अन्तरविरोध विद्यमान रहन्छ। समाजका मानिसहरुबिच विभिन्न मतभिन्नताहरु रहन्छ, त्यस्तो मतभिन्नता अन्तरविरोधका रुपमा प्रकट हुन्छन्। यसरी साम्यवादमा तेस्रो अन्तरविरोधका रुपमा मानवीय सम्बन्धको अन्तरविरोध रहने माओको निष्कर्ष छ।

तर, ती सबै अन्तरविरोधहरु निषेधात्मक हुँदैन। साम्यवादमा अन्तरविरोध रहनुको अर्थ एकले अर्कालाई निषेध गर्नु नभएर समाजको अग्रगतिलाई थप विकसित गर्नु हो। त्यसकारण यस्तो अन्तरविरोधले सामाजिक विकासको प्रक्रियालाई अगाडि बढाउने सुनिश्चितता प्रदान गर्दछ। चाहे त्यो समाज पूँजीवादी होस्, चाहे समाजवादी, त्यस्तो समाजको सञ्चालनको प्रक्रिया द्वन्द्ववादको नियमभित्रैबाट हुने गर्दछ। द्वन्द्व प्रकृति, समाज, चिन्तन र जीवनका क्षेत्रमा पनि चालक शक्ति हो। साम्यवादलाई पनि यही नियमले दिशानिर्देश गर्दछ।

एंगेल्सका अनुसार ‘द्वन्द्ववाद भनेको सार्वभौम अन्तरसम्बन्धको विज्ञान हो।’ हेगेलको प्रकृतिवादी द्वन्द्ववादको आलोचना गर्दै एंगेल्सले द्वन्द्ववाद प्रकृतिमा मात्र नभएर समाज, जीवन र चिन्तनका क्षेत्रमा पनि एकरुपताका साथ लागू हुने संश्लेषण गरे। वस्तु र घटनाहरुबिचको अन्तरसम्बन्ध, जो सार्वभौम हुन्छन् र दोहोरिन्छन्, यिनीहरुलाई दार्शनिक अर्थमा नियम भनिन्छ। अन्तरविरोधको नियम पनि यसैद्वारा निर्देशित रहन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्