पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको शुक्रबार काठमाडौंको वीर अस्पतालमा पेटक इन्डोक्राइन ट्युमरको शल्यक्रिया गरिएको छ। शल्यक्रियाका लागि नेता भट्टराई बिहीबार अस्पताल भर्ना भएका थिए।
राज्यको माथिल्लो जिम्मेवारीमा पुगेका नेता, कर्मचारी, कुटनीतिज्ञ लगायत उच्चपदस्थ अधिकारीहरु स्वास्थ्योपचारका लागि बारम्बार विदेश धाउने गरेका छन्। नेपालमा सुविधासम्पन्न अस्पताल नभएको, दक्ष चिकित्सक नभएको, पर्याप्त स्वास्थ्य उपकरण नभएको र समयमै उपचार गर्ने परिस्थिति नभएकोजस्ता कारण देखिँदै उच्चपदस्थहरु उपचारका निम्ति विदेश जाने गर्दछन्, त्यसमध्ये अमेरिका, थाइल्याण्ड र भारत जाने नेताहरुको संख्या बढी छ। यसले नेपालको स्वास्थ्य क्षेत्र एक प्रकारको मनोवैज्ञानिक दवाव र स्वास्थ्य क्षेत्रप्रति विश्वासको संकटसमेत पर्दै आएको थियो।
नेपाली नेताहरु यदाकदा स्वास्थ्य परीक्षणका लागि नेपालकै अस्पतालहरुमा जाने गरे पनि सरकारी अस्पतालमा जाने नेताहरु भने नगन्य नै छन्। स्वास्थ्य परीक्षणका लागि अधिकांश नेताहरु निजी अस्पतालमा धाउने गरेका छन्। तर, नेपालको पूर्वप्रधानमन्त्री, राष्ट्रिय राजनीतिमा राम्रो प्रभाव राख्ने नेताले देशभित्रै शल्यक्रिया गर्नुले नेपालको स्वास्थ्य क्षेत्रप्रतिको विश्वास बढेको छ। यस अर्थमा डा. बाबुराम भट्टराईलाई धन्यवाद दिनैपर्छ।
यसअघि उपराष्ट्रपति नन्दबहादुर पुनले पनि आफू स्वास्थ्योपचारका लागि विदेश नजाने भन्दै नेपालकै अस्पतालमा उपचार गराएका थिए। पुनपछि डा. भट्टराईले वीर अस्पतालमा गराएको उपचारले नेपालको स्वास्थ्य क्षेत्रको मनोबल थप बढेको छ।
नेताहरुको उपचारको विषय खास चर्चायोग्य विषय होइन र हुनु पनि हुँदैन। तर, सरकारी स्वास्थ्य क्षेत्र उपेक्षित भइरहेको परिस्थितिमा देशको एक पूर्वप्रधानमन्त्रीले देशकै सरकारी अस्पतालमा उपचार गराउँदा त्यसले दिने राष्ट्रिय सन्देश भने निकै महत्वको छ। यो डा. भट्टराईको निजी विषय नभएर नेपालको स्वास्थ्य क्षेत्रप्रति राज्य र नीतिनिर्माताहरुले गर्ने भरोसाको सवाल पनि हो, जुन भरोसा उनले गरेका छन्।
नेपालको संविधानले शिक्षा, स्वास्थ्य लगायत नागरिकका आधारभूत अधिकारलाई मौलिक हकमा सूचिकृत गरेको छ। तर, संविधानप्रदत्त मौलिक हकको व्यवहारिक प्रयोगका सन्दर्भमा भने राज्यले ठोस पहल लिन सकेको छैन, जसका कारण आज पनि आम नागरिकले सामान्य उपचार नपाएर जीवन गुमाउनुपर्ने परिस्थिति छ भने नेताहरु उपचारका लागि विदेश धाउने गरेका छन्।
हामीकहाँ कुनै पात्रले सकारात्मक प्रवृत्तिका निम्ति देखाउने अग्रसरतालाई पनि राजनीतिक चश्माले हेर्ने, सस्तो लोकप्रियता भन्दै विरोध गर्ने प्रवृत्ति पनि व्याप्त छ, जुन राम्रो सोंच र संस्कार होइन। देशको हितमा गरिने हरेक राम्रो कामको समर्थन गरेर मात्र हामीले राष्ट्रिय संस्कृतिको निर्माण गर्न सक्छौं, सकारात्मक सन्देशका बलमा समाज रुपान्तरणमा गुणात्मक फड्को मार्न सक्छौं, त्यसका लागि डा. भट्टराईको कदम एउटा सन्देश हुन सक्छ।
कोभिड–१९ को प्रकोप बढिरहँदा पनि राज्यले निषेधाज्ञाबाहेक नागरिकको जीवन रक्षाका लागि अर्को कुनै ठोस कदम चाल्न सकेको देखिँदैन। बारम्बार आइरहने प्राकृतिक प्रकोप, महामारी, जलवायु परिवर्तनजस्ता चुनौतीहरुको सामना गर्ने दीर्घकालीन सोंच, संरचना र संयन्त्रको निर्माणतर्फ राज्यको कुनै चासो देखिँदैन, जुन कुरा आजको सन्दर्भमा राज्यको सर्वाधिक प्राथमिकताको विषय हुनुपर्थ्यो। यसले मात्र सरकारी स्वास्थ्य क्षेत्र सवल र आम नागरिकको पहुँचसम्म पुग्न सक्छ।
संविधानप्रदत्त मौलिक हकको व्यवहारिक कार्यान्वयनको भौतिक परिस्थिति निर्माण गर्न सबै उच्चपदस्थ अधिकारीहरुले पुन र भट्टराईको बाटो पछ्याउनुपर्छ। यसले मात्र समाजवादउन्मुख राज्यको हाम्रो संकल्प व्यवहारमा मुखरित हुन सक्दछ। यस अर्थमा डा. बाबुराम भट्टराईलाई हृदयदेखि सलाम।