केही दार्शनिक–राजनीतिक शब्दावलीहरु

Political words meaning
  • 1K
    Shares
लोकपाटी न्यूज

हेमनाथ पौडेल/शब्द भाषाका सार्थक एकाइ हुन्। भाषा सामाजिक एवं मानवीय वस्तु हो। समाज विकासका क्रममा भाषाको पनि विकास हुँदै आएको छ र भाषाको विकास सँगसँगै ज्ञान विज्ञानका पनि अनेक शाखा प्रशाखाहरू विकसित हुँदै आएका छन्। यस क्रममा कतिपय शब्द र शब्दसमूहले विशेष अर्थ वहन गरेका हुन्छन्। यसरी विशेष अर्थ बहन गर्ने शब्दहरूलाई प्राविधिक, पारिभाषिक शब्द भनिन्छ। यस्ता शब्दहरू खास खास क्षेत्रमा चल्ने तथा विशिष्ट अर्थमा प्रयोग हुने र परिभाषा दिनुपर्ने खालका हुन्छन्। यस्ता शब्दहरूको अर्थ ठीक ढङ्गले बुझ्न सकिएन भने वास्तविक कुराको बोध नभई विचार निर्माण पनि हुन सक्दैन। त्यसैले यस्ता शब्दहरूको अर्थ हामी सबैले बुझ्नु जरुरी छ। त्यस्ता शब्दहरूमध्ये यहाँ बुझ्नैपर्ने केही राजनीतिक पारिभाषिक शब्दहरूको परिचय दिइएको छ।

१. दर्शन :– दर्शनको सामान्य अर्थ कुनै वस्तुप्रतिको हेराइ, देवीदेवता वा मान्यजनलाई गरिने ढोग, नमस्कार,साक्षात्कार आदि हो भने विशेष अर्थ जीवन–जगत्लाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने दृष्टिकोण वा प्रकृति, ईश्वर, ज्ञान–विज्ञान, वस्तु, जीवन र चेतनाका बारेमा विवेचना र विश्लेषण गरिने विद्या, तत् सम्बन्धी विषयमा व्यापक रूपले यथार्थ परिचय दिने शास्त्र हो। यसले संसार के हो ? यसको सृष्टि कसरी भयो ? विकास कसरी हुन्छ ? जस्ता प्रश्नहरूका बारेमा ज्ञान दिन्छ। दर्शन मूलतः दुई थरीका छन्– अध्यात्मवादी वा आदर्शवादी दर्शन र भौतिकवादी दर्शन। अध्यात्मवादी दर्शनले चेतनालाई पहिलो वा मूल तत्त्व मान्दै चेतनाले  नै पदार्थ अर्थात् विश्वब्रह्माण्डको सृष्टि गरेको हो त्यसैले संसार अज्ञेय छ भन्छ भने भौतिकवादी दर्शनले पदार्थ पहिलो हो, पदार्थ अस्तित्वमा आएपछि त्यसबाटै चेतनाको विकास भएकाले संसार ज्ञेय छ, बोधगम्य छ र व्याख्येय पनि छ भन्छ। यसरी पदार्थबाट चेतना बन्छ कि चेतनाले पदार्थ बनाउँछ अनि संसार ज्ञेयद छ कि अज्ञेय छ भन्ने प्रश्नमा दर्शन केन्द्रित छ। यिनै दुई मूलभूत पक्षसँग जोडिएर संसारमा विकसित सबै दर्शनहरू आएका छन्। यीमध्ये मार्क्सवादी दर्शन भौतिकवादको सबभन्दा विकसित र वैज्ञानिक दर्शन हो। यसले संसारको व्याख्या मात्र होइन, बदल्ने कुरा पनि गर्छ।

२. क्रान्ति :– क्रान्तिको सामान्य अर्थ परिवर्तन, उलटफेर वा पुरानाको ठाउँ नयाँले लिनु हो। विशेष अर्थमा चाहिँ यसले राजनीतिक, सामाजिक, परिवर्तनलाई जनाउँछ। राजनीतिक अर्थमा एउटा वर्गको सत्तालाई बलात् खोसी अर्को वर्गले आफ्नो शासन कायम गर्नु हो भने सामाजिक अर्थमा उत्पादनका साधन र वस्तुमाथि रहेको निजी स्वामित्व खोसी सामाजिक  स्वामित्व कायम गर्नु हो। क्रान्ति शान्तिपूर्ण, हिंसात्मक आदि हुन सक्छन्। क्रान्तिका बारेमा विभिन्न व्यक्तिहरूले विभिन्न मत व्यक्त गरेका छन्। क्रान्ति पनि पुँजीवादी, जनवादी र समाजवादी आदि हुन्छन्। मार्क्सले मजदुरहरूले पुँजीपतिविरुद्ध गर्ने विद्रोह र पुँजीपतिका हातबाट सत्ता कब्जा गरी सर्वहारावर्गको सत्ता कायम गर्नुलाई क्रान्ति भनेका छन् भने लेनिनले कम्युनिस्ट पार्टीको नेतृत्वमा मजदुर वर्गको अगुवाइमा सत्ता कब्जा गरी समाजवादको स्थापना गर्नुलाई क्रान्ति भनेका छन्। रुसको अक्टुवर क्रान्ति, चीनको जनवादी क्रान्ति, अमेरिकाको स्वतन्त्रता सङ्ग्राम, फ्रान्सको राज्य क्रान्ति, भारतको स्वतन्त्रता आन्दोलन, बेलायतको गौरवमय क्रान्ति, क्युवाको समाजवादी क्रान्ति विश्वमा भएका चर्चित क्रान्तिहरू हुन्। नेपालमा २००७ साल र २०४६ सालमा जन आन्दोलनद्वारा सरकार परिवर्तन भए पनि वास्तविक क्रान्ति हुन सकेन भने ०६२/०६३ मा शान्तिपूर्ण आन्दोलनका माध्यमबाट सामन्त वर्गबाट शासन सत्ता खोसी गणतन्त्र स्थापना भई जनताका हातमा आएकाले यसलाई लोकतान्त्रिक गणतन्त्रको क्रान्तिका रूपमा लिन सकिन्छ। नेपालमा ०६२/०६३ सालमा राजनीतिक क्रान्ति भए पनि अझैसम्म पनि सामाजिक, सांस्कृतिक र आर्थिक क्रान्ति भने हुन सकेको छैन।

३. गणतन्त्र/जनगणतन्त्र :– वंशगत उत्तराधिकारबाट चल्ने राजतन्त्रको सट्टा जनताद्वारा निर्वाचित सर्वोच्च शासक (राष्टपति/राष्ट्राध्यक्ष) रहने व्यवस्थालाई गणतन्त्र भनिन्छ। गणतन्त्र भनेको सामान्य रूपमा राजतन्त्र र सैनिक शासन नभएको पुँजीवादी प्रजातन्त्र नै हो भने जनगणतन्त्र भनेको चाहिँ श्रमजीवी वर्गको शासन व्यवस्था भएको जनवादी व्यवस्था हो। गणतन्त्रले एक प्रकारको राजनीतिक प्रणालीलाई बुझाउँछ जसमा जनताको मतदानद्वारा छानिएका प्रतिनिधिहरूले शासन सत्ता सञ्चालन गर्छन्। यस व्यवस्थामा कोही पनि कानुनभन्दा माथि रहँदैन र सार्वभौम सत्ता जनतामा निहित हुन्छ। आवधिक निर्वाचन, बहुमतको सरकार, अल्पमतको विपक्ष, मानव अधिकारको प्रत्याभूति, वाक् स्वतन्त्रता एवं सङ्गठनको अधिकार लगायतका विशेषताहरू यस व्यवस्थामा रहन्छन्, तापनि यस व्यवस्थामा आर्थिक, सामाजिक संरचनामा आमूल परिवर्तन भएको हुँदैन। यसका लागि जनगणतन्त्रकै स्थापना हुनु आवश्यक छ। जनगणतन्त्रमा भने राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरूको सम्बोधन हुने हुँदा यस व्यवस्थामा व्यक्तिद्वारा व्यक्तिमाथि गरिने शोषणको अन्त्य भई समानताको प्रत्याभूति हुन्छ। यसमा कानुनी राज्य, जनताको सर्वोच्चता, शोषणरहित समाज, समान अधिकार, उत्पादनका साधन र उत्पादित वस्तुमाथि सार्वजनिक स्वामित्व रहने भएकाले यो सर्वाधिक उच्चतम व्यवस्था हो। भारत, फ्रान्स, स्वीजरल्याण्ड आदिमा गणतान्त्रिक व्यवस्था छ भने चीन, उत्तर कोरिया आदिमा जनगणतन्त्रात्मक व्यवस्था छ।

४. आदर्शवाद :– भौतिकवादको ठीक उल्टो पदार्थलाई होइन, चेतन तत्त्वलाई प्रमुख मान्ने अथवा सृष्टिजगत् सबै चेतनाको उपज हो भनेर मान्ने सिद्धान्तलाई आदर्शवाद भनिन्छ। ‘आदर्श’ शब्दमा ‘वाद’को योग भएर आदर्शवाद बने पनि आदर्श र आदर्शवादमा फरक छ। ‘आदर्श’ भनेको अनुकरण गर्न लायक कुनै गुण, विचार वा सिद्धान्त हो भने ‘आदर्शवाद’  भनेको देख्दा राम्रो देखिने र सुन्दा मीठो सुनिने तर व्यवहारमा लागू हुन नसक्ने अवस्तुगत, अभौतिक सिद्धान्त हो। ‘आदर्श’ प्रगतिशील र प्रतिगामी दुवै हुन सक्छ। तर ‘आदर्शवाद’ प्रतिगामी मात्र हुन्छ। आदर्शवादले नै जर्मनीमा नाजीवाद र फासीवादलाई जन्म दिएको हो। त्यसैले यो भौतिकवाद विरोधी आध्यात्मिक विचारधारा नै हो। कम्युनिस्टहरूले प्रगतिशील आदर्शलाई मान्छन्। तर आदर्शवादलाई मान्दैनन्।

५. कार्यनीति र रणनीति :– कुनै पार्टी, सङ्घ–सङ्गठन आदिले आफ्नो घोषित उद्देश्य प्राप्तिका लागि बनाएको अल्पकालीन र दीर्घकालीन नीतिलाई क्रमशः कार्यनीति र रणनीति भनिन्छ। कार्यनीति रणनीतिको अङ्ग र अधीनस्थ कार्यक्रम हो भने रणनीति कार्यनीतिबाटै प्राप्त गरिने दीर्घकालीन लक्ष्य हो। कार्यनीति रणनीति प्राप्त गर्ने समय र परिस्थितिअनुसारको कार्यक्रम भएकाले यो अस्थायी हुन्छ भने रणनीति दीर्घकालीन लक्ष्य भएकाले यो स्थायी हुन्छ। युद्ध, क्रान्ति वा आन्दोलनमा रणनीतिक उद्देश्य प्राप्तिका लागि अँगालिने तत्कालीन सम्पूर्ण पक्षहरू कार्यनीति हुन्। कार्यनीति सही भएन भने रणनीति प्राप्त गर्न सकिँदैन। त्यसैले कार्यनीति सही रूपको, तुरुन्त लागू गर्न सकिने र रणनीतिलाई सघाउने खालको हुनुपर्दछ। दुवैको संयुक्त रूप चाहिँ कार्यक्रम हो।

६. अवसरवाद :– मौका छोपेर स्वार्थपूर्ति गर्ने सिद्धान्तलाई अवसरवाद भनिन्छ। ‘ताकपरे तिवारी नत्र गोतामे’ वा ‘माछा देख्दा भित्र हात, सर्प देख्दा बाहिर हात’ यसको मूल प्रवृत्ति हो। अवसरवादिता मूल रूपमा निम्न मध्यम वर्गीय चरित्र भए पनि आजभोलि यसले अरू वर्गलाई पनि प्रभाव पारेको छ। विशेष गरी राजनीतिक क्षेत्रमा सद्धौन्तिक, वैचारिक र व्यावहारिक अडान फेर्ने, जता फाइदा देख्यो त्यतै लाग्ने व्यक्ति, समूह र संस्थाका चरित्रमा यो देखापरेको छ। अवसरवाद सामन्तवादको पनि चरित्र हो। मार्क्सवादले दक्षिणपन्थी, मध्यमपन्थी र वामपन्थी गरी अवसरवादका तीन रूप हुने कुरा बताएको छ र यसका विरुद्ध सशक्त सङ्घर्ष गर्नुपर्ने उल्लेख गरेको छ।

७. आत्मालोचना :– आफ्ना गल्ती, कमजोरीलाई आफैले स्वीकार गरी आत्ममूल्यांकन गर्नुपर्ने प्रक्रियालाई आत्मालोचना भनिन्छ। विशेष गरी कम्युनिस्ट पार्टीका कार्यकर्ता र सङ्गठनमा आबद्ध व्यक्तिहरूले अनुशासन कायम राख्न कमिटी बैठकहरूमा आफ्ना भुलहरू आफैले भनी आफूलाई सुधार्न यस पद्धतिलाई अंगाल्ने गर्दछन्। आफ्ना कमी, कमजोरी र गुण–दोषलाई आफैले देखाउने यस पद्धतिले व्यक्तिलाई सच्चिने मौका प्राप्त हुने र यसबाट आत्मनिरीक्षण हुन गई त्यस्ता गल्ती, कमजोरीहरू पुन नदोहोरिने सम्भावना रहने हुदा पार्टी कायकर्ता र सङ्गठनमा आबद्ध व्यक्तिहरूका निम्ति यो पद्धति अत्यन्त आवश्यक मानिन्छ।

८. आलोचना :– निष्पक्ष रूपमा गुणदोषको विवेचना गर्ने कामलाई आलोचना भनिन्छ। यसमा व्यक्ति, कृति र संस्था आदिको गुणदोष दुवै देखाउने काम गरिन्छ। गुण मात्र देखाए गुणदर्शन र दोषमात्र देखाए दोषदर्शन आलोचना हुन्छ। तर गुण वा दोष एउटा मात्र देखाउने कार्य राम्रो होइन। आलोचना कुनै कृति, रचना वा कार्यको गरिन्छ र व्यक्तिको पनि गरिन्छ। यसलाई समीक्षा वा टीका टिप्पणी पनि भनिन्छ। शिष्ट वा सही आलोचनाले व्यक्तिलाई सुधार्ने, सही बाटोमा लाग्न मार्गदर्शन गर्ने र अगाडि बढ्न प्रेरित गर्ने हुन्छ भने अशिष्ट वा नकारात्मक आलोचनाले व्यक्तिलाई आघात पुर्‍याउने र हानि, नोक्सानी गर्ने पनि हुन सक्छ। त्यसैले आलोचना गर्दा तथ्यपरक, वस्तुगत र मित्रवत् हुनुपर्दछ। कम्युनिस्ट कार्यकर्ताहरूले एकअर्काको मित्रवत् आलोचना गरी एक अर्काका कमी, कमजोरी सुधार्न प्रयत्न गर्ने गर्छन्।

९. उग्रवामपन्थी :– ठोस परिस्थितिको ठोस विश्लेषण नगरी परिस्थिति अनुकूल नभए पनि आफ्नो शक्तिको बढी मूल्याङ्कन गर्दै क्रान्ति सम्पन्न गर्न सकिन्छ भन्ने विचार, कार्यदिशा र अवस्थालाई उग्रवामपन्थी भनिन्छ। उग्रवामपन्थीहरूले शत्रु पक्षका कमजोर पक्ष र आफ्ना सबल पक्षलाई मात्र आधार बनाउछन्, सबै पक्षको मूल्यांकन गदर्नैन्। लेखनका क्रममा वामपन्थी शब्दलाई उद्धरण चिन्हभित्र (“वामपन्थी”) राख्दा उग्रवामपन्थी जनाउँछ भने नराख्दा (वामपन्थ) वामपन्थी मात्र जनाउँछ। वामपन्थीहरूले क्रान्ति गर्न या हतियार उठाउन परिस्थितिको ठोस विश्लषेण गर्दै अगाडि बढ्नुपर्ने हुन्छ। यसका लागि आत्मगत शक्तिको मूल्याङ्कन, क्रान्तिको तयारी, अन्तर्राष्ट्रिय शक्तिको साँठगाठ, प्रतिक्रियावादी वर्गको अवस्था सबै कुरामा ध्यान पुर्‍याउनुपर्ने हुन्छ। यसो नगरी हतारिएर सत्ता हात पार्न जबर्जस्ती लाग्ने कुरा उग्रवामपन्थी हो।

१०. उत्पादन पद्धति :– मानिसका जीवनका लागि आवश्यक वस्तु खाद्यान्न, लुगाकपडा, आवास र श्रमसम्बन्धी औजार उत्पादन गर्ने प्रणालीलाई उत्पादन पद्धति भनिन्छ। उत्पादनका साधन (उपकरण वा औजार, भूमि, कलकारखाना, भवन, यातायातका साधन आदि), उत्पादक शक्ति (श्रमशक्ति, सीप, कौशल र प्रविधिको संयुक्त रूप) र उत्पादन सम्बन्ध (उत्पादनका साधन र उत्पादित वस्तुमाथिको स्वामित्वको स्वरूप) को समष्टि नै उत्पादन पद्धति हो। उत्पादन पद्धतिले नै समाज व्यवस्थालाई निर्धारण गर्दछ। उत्पादन पद्धतिको विकासअनुसार नै मानव समाजको इतिहासलाई आदिम साम्यवादी युग, दास युग, सामन्ती युग, पुँजीवादी युग र समाजवादी युगमा बाँडिएको हो। उत्पादन पद्धति वा प्रणालीमा उत्पादक शक्तिहरूको भूमिका निर्णायक हुन्छ। उत्पादक शक्तिमध्ये पनि मानव श्रम सबैभन्दा प्रभावकारी हुन्छ। उत्पादनका साधन र उत्पादित वस्तुमाथि निजी स्वामित्व रहने व्यवस्था पुँजीवादी व्यवस्था हो भने सार्वजनिक स्वामित्व हुने व्यवस्था समाजवादी व्यवस्था हो। समाजवादी व्यवस्थामा वस्तुको वितरण समान रूपमा हुन्छ। दासयुग, सामन्ती युग र पुँजीवादी युगमा उत्पादनका साधन र उत्पादित वस्तुमाथि निजी स्वामित्व रहने हुँदा वस्तुको वितरण पनि असमान रही मानिसमाथि मानिसको शोषण रहन्छ। आदिम समाजमा पनि सामाजिक स्वामित्व नै थियो। मार्क्सवादले निजी होइन, सार्वजनिक उत्पादन सम्बन्ध र समान वितरण भएको साम्यवादी समाजको परिकल्पना गरेको छ र कम्युनिस्टहरूको अन्तिम लक्ष्य पनि यही हो।

११. कमरेड :– ‘कमरेड’को सामान्य अर्थ साथी, दौंतरी वा मित्र हो। विकासका क्रममा यस शब्दले विशिष्ट अर्थ वहन गरेकाले पछि आएर यो शब्द एउटै उद्देश्य र लक्ष्य बोकेर हिडेका र कम्युनिस्ट पार्टीमा लागेका व्यक्तिलाई सम्बोधन गर्दा प्रयोग गर्न थालियो। कम्युनिस्ट पार्टीमा लागेका सबै सदस्य समान मानिने हुँदा एक अर्कालाई सम्बोधन गर्दा समानता बोधक शब्द कमरेड (साथी) को प्रयोग गरिएको हो। कम्युनिस्ट पार्टीमा केन्द्रीय कमिटीका अध्यक्षदेखि तल्लो कमिटीका सदस्यसम्मका सबै सदस्यलाई कमरेड भनेर सम्बोधन गरिन्छ। ‘कमरेड’ शब्दले समानता र सम्मान दुवै जनाउँछ।

१२. कम्युनिस्ट :– कम्युनिजमको अनुयायीलाई कम्युनिस्ट भनिन्छ। ‘कम्युन’बाट कम्युनिज्म र कम्युनिस्ट बनेको हो। ‘कम्युन’ भनेको साझा खेतीपाती, साझा उत्पादन, समान वितरण र उत्पादित वस्तुमा साझा स्वामित्व रहेको समुदाय वा जनपद हो। यस्तो समुदाय वा जनपद भएको  सामाजिक विकासको उच्चतम अवस्था कम्युनिज्म हो। उत्पादनका साधनमाथि सार्वजनिक स्वामित्व रहने हुँदा यस व्यवस्थामा प्रत्येक व्यक्तिले क्षमताअनुसारको काम र आवश्यकताअनुसारको दाम पाउँछन् र त्यहाँ सबै खालको शोषण समाप्त भई साम्य स्थिति रहन्छ। कम्युनिज्ममा सर्वहारा वर्गको अधिनायकत्व, वर्गविहीन सामाजिक व्यवस्था, शारीरिक र बौद्धिक श्रमका बीच समानता एवं राष्ट्र–राष्ट्रका बीच बन्धुत्वको भावना रहन्छ। कम्युनिज्मलाई समाजमा स्थापित गर्न चाहने, शोषण,दमन र अन्याय–अत्याचार एवं निजी सम्पत्तिको विरोध गर्ने, सामूहिक उत्पादन पद्धति, सामूहिक जीवन र समानतामा विश्वास गर्ने, मार्क्सवादी लेनिनवादी वैज्ञानिक विचार धारामा दृढ रहेको, सर्वहारावर्गको पार्टीको सामूहिक अनुशासनमा रहने क्रान्तिकारीलाई कम्युनिस्ट भनिन्छ।

१३. कार्लमार्क्स :– जर्मनीमा सन् १८१८ मा जन्मेर १८८३ मा मरेका कार्लमार्क्स द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी दर्शनका प्रणेता, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका प्रवर्तक एवं विश्वसर्वहारा वर्गका महान् नेता हुन्।

१४. मार्क्सवाद–लेनिनवाद :– कार्लमार्क्सले अगाडि सारेका दर्शनशास्त्र, मार्क्सवादी अर्थशास्त्र र वैज्ञानिक समाजवादी सिद्धान्तको समष्टिलाई मार्क्सवाद भनिन्छ। मार्क्सवादको विकासमा एङ्गेल्सको पनि महत्त्वपूर्ण योगदान छ। मार्क्स एक्लैले लेखेका थुप्रै कृति र लेखहरूका साथै एङ्गेल्ससँग मिलेर लेखेका कृतिहरू नै मार्क्सवादका आधारभूत सामग्री हुन्। पछि यसमा रुसमा १८७० मा जन्मेर संशोधनवादविरुद्ध सङ्घर्ष गर्दै मार्क्सवादलाई क्रान्तिकारी मार्क्सवादका रूपमा विकसित गर्ने काम लेनिनले गरे। रुसमा भएको सन् १९१७ को समाजवादी क्रान्ति लेनिनकै नेतृत्वमा सम्पन्न भएको थियो। लेनिनका सिद्धान्तहरू लेनिनवादका नामले प्रसिद्ध छन्। समष्टिगत रूपमा चाहिँ मार्क्स, एङ्गेल्स र लेनिन तथा त्यसपछिका पनि कतिपय क्रान्तिकारी विचारकहरूले व्याख्या, विश्लेषण र सम्पुष्ट पारी विकसित गरेका सिद्धान्तलाई मार्क्सवाद–लेनिनवाद भनिन्छ।

१५. जडसूत्रवाद :– कुनै पनि वस्तुभित्र हुने अनिवार्य गतिलाई स्वीकार नगर्ने वा कुनै पनि वस्तु वा चिन्तनलाई जस्ताको तस्तै स्वीकार गर्ने चिन्तनलाई जडसूत्रवाद भनिन्छ। फलानाले भनेको वा फलाना शास्त्रमा यस्तो लेखिएको छ भनी त्यसमा कुनै किसिमको संशय नगरी भनेका वा लेखेका कुरालाई अपरिवर्तनीय मान्ने प्रवृत्ति जडसूत्रवाद हो। जडसूत्रवादीहरू वस्तुभित्र हुने अनिवार्य गतिलाई मान्दैनन्। उनीहरू देश, काल, परिस्थितिअनुसार कुनै पनि वस्तुमा परिवर्तन आउँछ भन्ने कुरा स्वीकार गर्दैनन्। यो द्वन्द्ववाद विपरीत सिद्धान्त हो। धर्मशास्त्रीय वाक्यहरू, वेद, उपनिषद्, गीता वा चर्चका सूत्रहरूलाई धर्मान्धहरूले अकाट्य माने जस्तै जडसूत्रवादीहरू पनि मार्क्स–लेनिन र वी.पी–पुष्पलाल आदिले भनेका सूत्रहरूलाई उद्धृत गरेर त्यस्ता सूत्रलाई अपरिवर्तनीय (जड) रूपमा व्याख्या गर्छन्। जडसूत्रवाद धार्मिक क्षेत्रमा जस्तै राजनीतिक र वैचारिक क्षेत्रमा पनि रहेको छ।

१६. जनवादी केन्द्रीयता :– कम्युनिस्ट पार्टी सञ्चालन गर्ने सङ्गठनात्मक सिद्धान्तलाई जनवादी केन्द्रीयता भनिन्छ। यो लेनिनवादी सङ्गठनात्मक सिद्धान्तमा आधारित छ। यसमा जनवाद र केन्द्रीयता दुईवटा पक्ष छन्। ‘जनवाद’ भनेको कार्यकर्ताहरूले मर्यादित रूपमा तर्क–वितर्क, वाद–विवाद, छलफल र आलोचना गर्न पाउने तथा चुन्ने, चुनिने अधिकार हो भने ‘केन्द्रीयता’ भनेको आफूभन्दा माथिल्ला कमिटीका निर्देशनलाई पालना गर्नुपर्ने अनुशासन हो। पार्टीभित्र अल्पमत बहुमतको अधीनमा रहनु, तल्ला कमिटीहरू माथिल्ला कमिटीका र सबै सदस्यहरू केन्द्रीय कमिटीका मातहतमा रहनु केन्द्रीयता हो। कम्युनिस्ट पार्टीभित्र केन्द्रीयताको कुरा गर्दा जनवाद र जनवादको कुरा गर्दा केन्द्रीयताको कुरा पनि सँगसँगै आउने गर्छन्। त्यसैले यी दुवैलाई मिलाएर सङ्गठन सञ्चालन गर्ने विधि नै जनवादी केन्द्रीयता हो।

१७. दक्षिणपन्थी र वामपन्थी :– वामपन्थीको ठिक उल्टो प्रगतिशील परिवर्तनको विरोध गर्ने, यथास्थितिलाई रुचाउने, परिस्थिति तयार भएपछि पनि क्रान्ति वा परिवर्तनका निम्ति अगाडि नबढ्ने प्रवृत्ति वा विचारलाई दक्षिणपन्थी भनिन्छ। बेलायतको गौरवमय क्रान्तिपछि बनेको संसदमा सरकारको समर्थन गर्नेहरूलाई  दाहिनेतिर र विरोध गर्नेहरूलाई बायाँतिर राखिन्थ्यो। यसै आधारमा दायाँतिर बस्नेलाई दक्षिणपन्थी र बायाँतिर बस्नेलाई वामपन्थी भनियो। पछि आएर परिवर्तनका विरोधीलाई दक्षिणपन्थी र परिवर्तनका संवाहकहरूलाई वामपन्थी भन्न थलियो। अहिले वामपन्थी शब्दले कम्युनिस्टहरूलाई र दक्षिणपन्थी शब्दले प्रजातन्त्र विरोधी, यथास्थितिवादी र प्रतिक्रियावादीहरूलाई जनाउँछ।

१८. दलाल पुँजीपति :– दलाली गर्ने वा कुनै वस्तु खरिद बिक्री गर्दा किन्ने र बेच्नेका बीचमा कुरा मिलाई नाफा खाने बिचौलिया व्यक्तिलाई दलाल भनिन्छ। यसरी दलाली गरेर पुँजी आर्जन गर्ने ठूलठूला व्यापारी वा पुँजीपतिलाई दलाल पुँजीपति भनिन्छ। यस्ता पुँजीपतिहरूले आफूले आर्जन गरेको सम्पत्तिमा कर नतिर्ने हुँदा यिनीहरूले मुलुकलाई फाइदा होइन, नोक्सान पुर्‍याउँछन्। यस्ता पुँजीपतिहरूले विदेशी पुजीपतिसँग साँठगाँठ गरेर होस् या मुलुकभित्रै दलाली गरेर होस् नाफा कमाउने काम गर्छन्।

१९. धर्म निरपेक्षता :– कुनै एउटा धर्मलाई विशेष मान्यता नदिई सबै धर्मलाई समान रूपमा लिनुलाई धर्मनिरपेक्षता भनिन्छ। धर्मनिरपेक्ष राज्यहरू धर्मका सम्बन्धमा कुनै हस्तक्षेप नगरी ऐन, कानुन र संविधानमा कुनै धर्मलाई विशेष महत्त्व नदिई तटस्थ रहन्छन्। चीन, रुस, फ्रान्स, बेलायतजस्ता राज्यमा धर्मनिरपेक्षता रहेको छ। नेपालले पनि २०६२/६३ को क्रान्तिपछि आफूलाई धर्मनिरपेक्ष राज्य घोषित गरेको छ।

२०. नवउपनिवेश :– शक्तिशाली राष्ट्रले कमजोर राष्ट्रलाई आफ्नो अधीनमा राख्नु र उसको राजनीतिक, आर्थिक स्वतन्त्रता समाप्त गर्नुलाई उपनिवेश भनिन्छ भने त्यस्ता राष्ट्रले आर्थिक, सामाजिक एवं सांस्कृतिक प्रभावद्वारा कमजोर वा विपन्न राष्ट्रलाई अप्रत्यक्ष रूपमा शोषण गर्नुलाई नवउपनिवेश भनिन्छ। दोस्रो विश्वयुद्धपूर्व युरोपमा बेलायत, फ्रान्स, रुस, पोर्चुगल, स्पेनजस्ता मुलुकले आफ्ना उपनिवेशहरू फैलाएका थिए। तर त्यसपछि उपनिवेशको व्यापक विरोध भएपछि अप्रत्यक्ष शोषण गर्ने नव उपनिवेशको अवधारणा विकास भएको हो। अहिले शक्तिशाली राष्ट्रहरूले कमजोर वा विपन्न राष्ट्रहरूलाई सोझै होइन, प्रकारान्तरले पराश्रयी, पिछलग्गु र आपूmप्रति नतमस्तक बनाएर यसलाई लागू गरिरहेका छन्। नेपालमा पनि अमेरिका, जापान आदिले आर्थिक सहायतामार्फत्, विदेशी बैंक, बहुराष्ट्रिय कम्पनी, भारतीय एकाधिकारवादी शासक आदिले पुँजी लगानीमार्फत् नवउपनिवेशलाई विस्तार गरिरहेका छन्। नेपाल बाहिरी रूपमा हेर्दा स्वतन्त्र देखिए पनि यहाँको राजनीति, संस्कृति र अर्थतन्त्रमाथि भारतीय एकाधिकार र अमेरिकी साम्राज्यवादको व्यापक प्रभाव रहेकाले यहाँ अर्धऔपनिवेशिक अवस्था रहेको छ।

२१. निम्न पुँजीवाद :– सिद्धान्त र व्यवहारमा भिन्नता हुने, शक्तिको गलत मूल्याङ्कन गर्ने, एकपक्षीय दृष्टि राख्ने, आत्मबल र आत्मविश्वासको कमी हुने, सङ्कीर्ण मनोवृत्ति र व्यक्तिवादी प्रवृत्तिलाई निम्न पुँजीवाद भनिन्छ। निम्न पुँजीवादीहरू क्रान्ति र परिवर्तनप्रति चाहना त राख्छन्। तर व्यवहारमा लागू गर्न सक्दैनन्। वर्गीय हिसाबले भन्दा सानोतिनो व्यापार, पेसा, व्यवसाय आदि गरी जीवन गुजारा गर्नेहरू निम्न पुँजीपति हुन्। निम्न पुँजीपति अवस्था भनेको मजदुर, किसानबाट माथि उक्लेको तर पुँजीपतिमा पनि पुग्न नसकेको अवस्था हो। यस्तो अवस्थाका मानिसमा निम्न पुँजीवादी प्रवृत्ति पाइन्छ। निम्न पुँजीपति समाजको एउटा वर्ग हो भने निम्न पुँजीवाद एउटा प्रवृत्ति हो। यो प्रवृत्ति चाहिँ अरू वर्गमा पनि पाइन्छ। यो प्रवृत्ति अत्यन्तै ढुलमुले र अवसरवादी खालको हुन्छ। त्यसैले निम्न पुँजीवादी प्रवृत्तिलाई क्रान्तिका निम्ति विश्वास गर्न सकिन्न।

२२. प्रगतिशील/प्रगतिवादी :– समाजलाई प्रगतितर्फ उन्मुख बनाउने, परिवर्तन र जनताको विजयमा आस्था राख्ने, जनताको शक्तिमा विश्वास राखरे जनतालाई अगग्रतितर्फ प्रेरित र प्रोत्साहित गर्ने, सबैखाले निरङ्कुशताको विराध गर्ने, सामन्तवाद र साम्राज्यवादको विरोध गर्ने चिन्तन प्रगतिशील हो भने मार्क्सवादमा आधारित समाजको आमूल परिवर्तन गर्न चाहने सिद्धान्त प्रगतिवाद हो। प्रगतिशील हुन मार्क्सवादी वा कम्युनिस्ट हुनैपर्छ भन्ने छैन। तर प्रगतिवादी हुन मार्क्सवादलाई आत्मसात् गरेकै हुनुपर्छ। यी दुई शब्द विशेष गरी साहित्यमा प्रचलित छन्। यथास्थितिको विरोध गर्दै अग्रगति परिवर्तनतर्फ उन्मुख गराउने वा परिवर्तनलाई आत्मसात् गर्ने सिर्जनालाई प्रगतिशील साहित्य भनिन्छ भने समाजमा पुँजी र श्रमका बीचको धनी र गरिबका बीचको शोषक र शोषितका बीचको अन्तर्विरोधलाई पहिचानी त्यसको यथार्थ  चित्रण गर्दै समाज रूपान्तरणका निम्ति दिशाबोध गराउने साहित्यलाई प्रगतिवादी साहित्य भनिन्छ।

२३. समाजवादी यथार्थवाद :– प्रगतिवाद भनेको मार्क्सवादको कला, साहित्य सम्बन्धी चिन्तन भएकाले यो समाजवादी यथार्थवादको अर्को नाम हो। यसलाई मार्क्सवादी सौन्दर्यशास्त्र पनि भनिन्छ। यथार्थवादका विभिन्न रूप हुन्छन्। तीमध्ये प्रगतिवाद यथार्थवादको उच्चतम रूप हो। त्यसैले यो सामान्य यथार्थवाद वा आलोचनात्मक यथार्थवाद मात्र नभएर त्यसबाट अगाडि बढेको समाजवादी यथार्थवाद हो। यसले सामाजिक जीवन र इतिहासको विकासमा उत्पादन पद्धति र उत्पादक शक्तिका बीचको सम्बन्धमा श्रमको भूमिकालाई सर्वोपरि मान्दछ र यसैलाई भावस्रोत बनाएर यथार्थ अभिव्यञ्जना गर्दछ। राजनीतिक क्षेत्रमा साम्यवाद, सामाजिक क्षेत्रमा समाजवाद र दर्शनका क्षेत्रमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद नै साहित्यिक क्षेत्रमा प्रगतिवाद हो। निष्कर्षतः प्रगतिवादी साहित्य समाज वैज्ञानिक दर्शनसँग सम्बद्ध समाजवादी यथार्थवादको लेखन पद्धति हो।

२४. यथास्थितिवाद :– पूरानो व्यवस्थामा कुनै परिवर्तन नगरी जस्ताको तस्तै राख्न चाहने विचार, प्रवृत्तिलाई यथास्थितिवाद भनिन्छ। यथास्थितिवाद परिवर्तन र प्रगतिशीलताको विरोधी सिद्धान्त हो। यथास्थितिवादीहरू भइरहेको अवस्थामा परिवर्तन भएमा आफ्नो स्वार्थमा धक्का पर्ने ठान्छन् र पूरानै अवस्थालाई रुचाउँछन्। यथास्थितिवादलाई दक्षिणपन्थ पनि भन्न सकिन्छ। कहिलेकाहीँ बाध्यतावश अगाडि बढे पनि नेपालमा नेपाली कांग्रेसले यथास्थितिवादको प्रतिनिधित्व गर्दछ भने पुराना पञ्चहरू यथास्थितिवादबाट पनि पछाडि फर्किन चाहने दक्षिणपन्थी प्रतिक्रियावादी हुन्।

२५. वर्गसङ्घर्ष :– विपरीत स्वार्थ भएका वर्गहरूबीचको निरन्तर सङ्घर्ष नै वर्गसङ्घर्ष हो। यो मार्क्सवादको आधारभूत अवधारणा हो। मार्क्स–एङ्गेल्सले सन् १८४८ मा प्रकाशित गरेको कम्युनिस्ट घोषणापत्रमा मानव जातिको इतिहासलाई वर्गसङ्घर्षको इतिहास भनेका छन् र वर्ग रहुन्जेल वर्गसङ्घर्ष चलिरहन्छ भन्ने बताएका छन्। यस दृष्टिकोण अनुसार वर्गहरूका बीचमा एकता, सङ्घर्ष र रूपान्तरणको त्रिआयामिक सम्बन्धबाट समाजको विकास हुन्छ र पूरानो वर्गको विनाश एवं नयाँ वर्गको उदय हुँदै समाजको विकास भई अन्त्यमा श्रमिकवर्गको विजय भएर वर्गविहीन समाजका रूपमा साम्यवादको निर्माण हुन्छ भन्ने मान्यता छ। यस मान्यताअनुसार वर्गको निर्धारण आर्थिक सम्बन्धका आधारमा हुन्छ। उत्पादनका साधन र उत्पादित वस्तुमाथिको स्वामित्वको सम्बन्धका आधारमा समाजमा विभिन्न वर्गहरू निर्माण भएका हुन्छन् र तिनीहरू आफ्नो स्वार्थ रक्षाका लागि सधैँ युद्धरत रहन्छन्। मजदुर, किसान श्रमिकहरू आफ्नो श्रमको उचित मूल्य चाहन्छन् भने मालिकहरू श्रमिकहरूलाई श्रमको उचित मूल्य नदिएर अतिरिक्त मुनाफा कमाउन चाहन्छन्। ज्याला बढाउँदा मुनाफा घट्ने र मुनाफा बढाउँदा ज्याला घट्ने भएकाले यी दुई वर्गका बीच सधैँ सङ्घर्ष हुन्छ भन्ने वर्गसङ्घर्षको मान्यता हो। दास र मालिक, किसान र सामन्त वा मोही र जमिन्दार, मजदुर र पुँजीपति, शोषित र शोषक आदिका बीचमा कहिले खुला र कहिले गुप्त रूपमा वर्गसङ्घर्ष हुँदै आएको छ र भइरहन्छ। स्वार्थ फरक भएकाले भिन्नभिन्न वर्गका बीच एकता र मित्रता नै हुँदैन र भइहाले पनि त्यो अस्थायी हुन्छ भने उही वर्गका बीच स्वार्थ एउटै भएकाले एकता र मित्रता पनि हुन्छ। त्यसैले वर्गसमन्वय वा वर्ग सम्झौता नभई वर्गसङ्घर्ष नै हुन्छ भन्ने मार्क्सवादी दृष्टिकोण छ। मुलुकभित्रै मात्र होइन, एउटा मुलुकको शोषक वा पुँजीपतिलाई अर्को मुलुकको शोषक वा पुँजीपतिले श्रमिकहरूको आन्दोलन दबाउन सहयोग पुर्‍याउनु र एउटा मुलुकको श्रमिक आन्दोलनलाई अर्का मुलुकका श्रमिकहरूले सहयोग पुर्‍याउनु पनि यही कारण हो। समाजमा वर्गको स्वरूप समय र परिस्थितिअनुसार निर्माण हुन्छ र सङ्घर्षको रूप पनि प्रविधिको विकास सँगसँगै फेरिन सक्छ। वर्ग सङ्घर्ष सशस्त्र नै मात्र हुन्छ भन्ने छैन, यो निशस्त्र र शान्तिपूर्ण पनि हुन सक्छ। यथार्थतः जबसम्म समाजमा वर्गहरू रहन्छन्, तबसम्म रूप र तरिका फेरिए पनि सङ्घर्ष भने चलिरहन्छ र अन्त्यमा श्रमिक वर्गको जित हुन्छ भन्ने मार्क्सवादको मान्यता छ। यही मान्यता नै वर्गसङ्घर्ष सम्बन्धी मान्यता हो ।

२६. विस्तारवाद :– आफ्नो मुलुकको प्रभाव र भूमिकालाई छिमेकी वा अन्य साना मुलुकमा विस्तार गर्ने सिद्धान्त विस्तारवाद हो। विस्तारवादी राष्ट्रहरू साना, गरिब वा कमजोर राष्ट्रमा प्रत्यक्ष वा अप्रत्यक्ष किसिमले राजनीतिक, आर्थिक, सैनिक, सांस्कृतिक र अन्य कुटनीतिक तरिकाबाट आफ्नो प्रभावलाई विस्तार गर्न चाहन्छन्। भारतीय शासकहरूले नेपालमा असमान सन्धि–सम्झौता, सीमा अतिक्रमण, अनावश्यक राजनीतिक संलग्नता, आर्थिक, सामाजिक एवं सांस्कृतिक र कुटनीतिक घुसपैठ गरी आफ्नो प्रभाव र भूमिकालाई विस्तार गर्ने गरेका छन्।

२७. समाजवाद र साम्यवाद :– पुँजीवादी व्यवस्थालाई समाप्त पारी स्थापित हुने र सर्वहारा वा कामदारहरूको शासन सत्ता कायम हुने व्यवस्था समाजवाद हो भने समाजवादबाट अझै अगाडि बढेको सर्वहारा वर्गको पूर्ण मुक्तिको अवस्था साम्यवाद हो। मार्क्सवादले पुँजीवादी चरणपछि वैज्ञानिक समाजवाद र त्यसपछि साम्यवाद स्थापित हुने परिकल्पना गरेको छ। समाजवादमा हरेक व्यक्तिले योग्यताअनुसारको काम र कामअनुसारको दाम प्राप्त गर्ने अवस्था हुन्छ। यस व्यवस्थामा उत्पादनका साधन र उत्पादित वस्तुमाथि सामाजिक स्वामित्व रहने र वितरण पनि न्यायपूर्ण हुने हुन्छ। यद्यपि समाजवादमा पनि व्यक्तिगत सम्पत्तिको अस्तित्व रहिरहने र पुँजीवादका सबै अवशेषहरू समाप्त नहुने हुँदा पूर्ण समानता भने साम्यवादमा मात्र प्राप्त हुन्छ। साम्यवादमा पुँजीवादका सबै अवशेषहरू समाप्त हुन्छन् र आर्थिक वर्गको अस्तित्व समाप्त भई पूर्णतः शोषण रहित समाजको सिर्जना हुन पुग्छ। साम्यवादमा निजी सम्पत्ति, निजी स्वामित्व र राज्यसत्ताको समेत उन्मूल भई साम्य समाजको सिर्जना हुने भएकाले यो व्यवस्था सबैभन्दा उत्तम, वैज्ञानिक र न्यायपूर्ण हुन्छ भन्ने मान्यता रहेको छ।

२८. संशोधनवाद :– मार्क्सवाद–लेनिनवादको मूल प्रस्तावनालाई संशोधन गरी अवसरवादलाई अँगाल्नु वा उग्रवादलाई समात्नु संशोधनवाद हो। यसले मार्क्सवाद–लेनिनवादका आधारभूत कुराहरूलाई बङ्ग्याएर वा छलाङ मार्ने नाममा पुँजीवादको सेवा गर्न पुग्छ। संशोधनवादका दुई रूप हुन्छन्– दक्षिणपन्थी संशोधनवाद र वामपन्थी संशोधनवाद। वर्गसङ्घर्षको सट्टा वर्ग समन्वयको कुरा गर्नु, जनवादी केन्द्रीयतालाई स्वीकार नगर्नु, समाजवादी क्रान्तिको आवश्यकतालाई नकार्नु, सुधारका माध्यमबाट पुँजीवादमा परिवर्तन आउँछ भन्ने ठान्नु दक्षिणपन्थी संशोधनवाद हो भने ठोस परिस्थितिको ठोस विश्लेषणै नगरी अराजकता र आतङ्क फैलाएर उग्रतापूर्वक तुरुन्तै क्रान्ति सम्पन्न गर्न लाग्नु वामपन्थी संशोधनवाद हो। यी दुवै धार क्रान्तिका निम्ति वाधक हुन्। दक्षिणपन्थी संशोधनवाद पुँजीवादी अवसरवादका नजिक हुन्छ भने वामपन्थी संशोधनवाद आतङ्कवादी अराजकतावादका नजिक हुन्छ। ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्तन गर्ने बाटोमा लाग्नु क्रान्तिकारी मार्क्सवाद हो भने यसका विपरीत क्रान्तिकारी धारलाई संशोधन गरी विकासवादलाई अँगाल्नु दक्षिणपन्थी संशोधनवाद र मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्तनको बाटो होइन, एकैचोटि छलाङ मारेर परिवर्तन गर्न सकिन्छ भन्दै विज्ञान विपरीत उग्रवादी बाटोमा लाग्नु वामपन्थी संशोधनवाद हो। नेपालमा कम्युनिस्ट पार्टीको स्थापनाकालदेखि नै यी तीनवटै धारहरू देखा पर्दै आएका छन्।

२९. सर्वहारा वर्ग :– सबै कुरा गुमाएको वा आफूसँग श्रमशक्तिबाहेक केही नभएको विपन्न वर्ग वा मजदुरलाई सर्वहारा भनिन्छ। आफूसँग पुँजी र उत्पादनका साधन केही नहुने भएकाले यस वर्गले पुँजीपतिलाई आफ्नो श्रमविक्री गरेर जीविका चलाउँछ। मार्क्सका अनुसार सर्वहारावर्गसँग हार्ने कुनै कुरा हुँदैन जितेमा सम्पूर्ण संसार हुन्छ। यस वर्गले नै समाजमा पुँजीवादलाई समाप्त गरी समाजवाद वा साम्यवाद ल्याउनमा महत्त्वपूर्ण भूमिका खेल्दछ। यस वर्गको श्रम शोषण गरी पुँजीपति वर्गले मुनाफा कमाउने भएकाले पुँजीवादीहरू यस वर्गलाई पनि उत्पादनको साधन मान्दछन्। तर मार्क्सवादले यसलाई उत्पादनको साधन होइन, उत्पादक शक्ति मान्दछ। यस वर्गको क्रान्तिमा निर्णायक भूमिका हुने र यही वर्गको शासन सत्ता कायम भएपछि मात्र समाजवाद र साम्यवादको परिकल्पना गरिएकाले यो क्रान्तिका लागि महत्त्वपूर्ण वर्ग हो।

३०. सामन्तवाद :– उत्पादनका साधन र उत्पादित वस्तुमाथि सामन्तको स्वामित्व रहने दासयुगभन्दा पछाडि र पुँजीवादी युगभन्दा अगाडिको सामाजिक, आर्थिक व्यवस्थालाई सामन्तवाद भनिन्छ। सामन्त वर्गको हित र स्वार्थ पूरा गर्न बनेका विचार, सिद्धान्त, ऐन, कानुन, धर्मकर्म, चालचलन, रीतिरिवाज आदि पनि यसभित्र पर्दछन्। धेरैभन्दा धेरै जमिन भएका, आफूले श्रम नगरी अधियाँ, कुत र ठेक्का उठाई ऐस–आराम गर्ने वर्ग सामन्त हो। यसभित्र राजा, रजौटा, गाउँको मुखिया, शासकको आड लिएर सर्वसाधारणलाई शोषण गर्ने व्यक्ति आदि पर्दछन्। राजा सबैभन्दा ठूला सामन्त र सामन्तीहरूका रक्षक हुन् भने ठूलाठूला भारदार, सरदार, जमिनदार, बिर्तावाल आदि सामन्त हुन्, अनि यिनीहरूले मोही, किसान, भूदास आदि राखेर आम्दानी लिन पाउने व्यवस्था सामन्ती व्यवस्था हो। नेपालमा राजतन्त्रको समाप्ति भए पनि पूर्णतः पुँजीवादको विकास नभइसकेको र मोही– किसानमाथिको शोषण र जमिनदारी प्रथा रहिरहेकाले अहिले पनि सामन्तवाद समाप्त भएको छैन। वित्तीय संस्थाहरूले पुँजी प्रवाह गरेकाले मलखाद, अन्नबिउ, औषधी आदि प्रयोग गरी अर्थोपार्जनका दृष्टिले खेती गर्ने प्रक्रिया सुरु भए पनि र केही मात्रामा मोहीको अधिकार संरक्षण भए पनि कृषिको आधुनिकीकरण नभएको र भूमिमाथि भूमिपतिहरूको स्वामित्व कायमै रहेको उत्पादन सम्बन्ध भएकाले नेपालमा यतिखेर अर्धसामन्तवाद कायम छ।

३१. साम्राज्यवाद :– पुँजीवादको चरम विकास भई एकाधिकार पुँजीवादका कारण उन्मत्त हुँदै अन्य साना मुलुकमाथि आर्थिक, सांस्कृतिक र सैन्य नियन्त्रण विस्तार गर्ने कार्यलाई साम्राज्यवाद भनिन्छ। विभिन्न तरिकाले अर्को देशलाई आफ्नो अधीनमा राखी शोषण गर्नु, सीमा अतिक्रमण गरी भू–भाग बढाउनु, राष्ट्रिय सुरक्षा र प्रतिरक्षाका लागि सामरिक महत्त्वको स्थान प्राप्त गर्न खोज्नु, अतिरिक्त पुँजीको विकास गर्न खोज्नु, अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाउन खोज्नु आदि साम्राज्यवादका कार्य हुन्। साम्राज्यवादका मूलतः तीन रूप हुन्छन्– सैनिक साम्राज्यवाद, आर्थिक साम्राज्यवाद र सांस्कृतिक साम्राज्यवाद। साम्राज्यवाद एक प्रकारले राक्षसी वा दानवी नीति हो। दोस्रो विश्वयुद्धपछि साम्राज्यवादी नीतिको ज्यादै विरोध भएकाले यो पतन हुँदैछ। तर पनि नवउपनिवेशका रूपमा यसले आफ्नो कार्य र प्रभावलाई विस्तार गरिरहेकै छ। पहिले व्रिटिस साम्राज्यको दवदवा थियो भने यतिखेर विश्वमा अमेरिकी साम्राज्यवाद हावी भएको छ।

३२. सार र रूप :– प्रकृति र समाजका कुनै पनि वस्तु, घटना वा विचारका दुईवटा पक्ष हुन्छन्–सार र रूप। वस्तुको भित्री कुरा वा अन्तर्वस्तु सार हो भने त्यसको बाह्य पक्ष वा आवरण रूप हो। सार र रूप एकअर्काका अभिन्न अङ्ग हुन्। सार नभई रूपको अस्तित्व हुँदैन भने रूप नभई सारको पनि अस्तित्व हुँदैन। त्यसैले यी दुईको जैविक एकता नै कुनै पनि वस्तुको अस्तित्व हो। सार र रूपका सम्बन्धमा अध्यात्मवाद र भौतिकवादका छुट्टाछुट्टै मान्यता छन्। अध्यात्म वा अधिभूतवादीहरू यी दुईका बीचको सम्बन्धलाई बेग्लाबेग्लै र अपरिवर्तनीय मान्छन् भने भौतिकवादीहरू खास गरी मार्क्सवादले यी दुईका बीचको सम्बन्धलाई अन्योन्याश्रित, परिवर्तनीय र द्वन्द्वात्मक मान्दछ। परिवर्तका निमित्त रूपको सारमाथि निर्णायक भूमिका नभए पनि केही न केही प्रभाव हुन्छ भने रूपमाथि चाहिँ सारको निर्णायक भूमिका नै हुन्छ किनभने सारमा परिवर्तन आउने बित्तिकै रूपमा पनि परिवर्तन आउँछ। यसको अर्थ के हो भने अन्तर्वस्तुको गुण फेरिएपछि त्यसको पुरानो रूप असुहाउँदो हुन्छ र त्यसमा पनि हेरफेर हुन्छ। सार र रूपका सम्बन्धमा चर्चा गर्दा संसारका हरेक वस्तुको आन्तरिक पक्ष सार हो भने त्यसको आकार, फैलावट, वजन, रङ्ग, स्वरूप रूप पक्ष हो। राज्यसत्ताका क्षेत्रमा वर्ग स्वार्थको रक्षा सार हो भने शासन प्रणाली रूप हो। साहित्यका क्षेत्रमा रचनाको भाव, विषय वस्तु वा कलात्मक बिम्ब सार वा अन्तर्वस्तु हो भने भाषाशैली, संरचना, छन्द, अलङ्कार आदि रूप पक्ष हुन्।

३३. द्वन्द्वात्मक भौतिकवाद :– पदार्थ पहिलो तत्त्व हो, यो अनादि छ, अविनाशी छ, अनन्त छ र परिवर्तनशील छ। यसबाट नै चेतनाको विकास भएको हो अथवा विश्व ब्रह्माण्ड र जीवन जगत्को मूल आधार चेतना नभएर भौतिक तत्त्व हो भनेर स्वीकार गर्दै पदार्थ र त्यससित सम्बन्धित सम्पूर्ण कुराहरूको चरित्र द्वन्द्वात्मक हुन्छ भनेर मान्ने सिद्धान्तलाई द्वन्द्वात्मक भौतिकवाद भनिन्छ। द्वन्द्वात्मक भौतिकवादलाई मार्क्स–एङ्गेल्सले प्रतिपादन गरेका हुन्। यसअघिका दार्शनिकहरू फायरवाखले अगाडि सारेको भौतिकवाद र हेगेलले अगाडि सारेको द्वन्द्ववादलाई सच्याएर मार्क्स–एङ्गेल्सले द्वन्द्वात्मक भौतिकवादको विकास गरेका हुन्।

३४. द्वन्द्ववादका तीन नियम :– द्वन्द्ववादभित्र विरोधी तत्त्वहरूका बीचको एकता र सङ्घर्षको नियम, मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्तन हुने नियम र निषेधको निषेध नियम गरी तीन नियम पर्दछन्। संसारका हरेक वस्तु, घटना र प्रक्रियाभित्र विपरीत तत्व (पक्ष–प्रतिपक्ष वा सकारात्मक र नकारात्मक तत्त्व) हुन्छन्। यिनीहरूका बीच एकता र सङ्घर्ष अथवा अन्तर्विरोध चलिरहन्छ। त्यस्तै कुनै वस्तु या समाज सधैं स्थीर रूपमा रहन सक्तैन। त्यसमा मात्रात्मक परिवर्तन भइरहन्छ र निश्चित बिन्दुमा पुगेपछि त्यसमा गुणात्मक परिवर्तन आउँछ, अनि परिवर्तन निश्चित बिन्दुमा वा उचाइमा पुगेपछि नयाँले पूरानाको स्थान लिन्छ वा नयाँ कुरा जन्मिन्छ अथवा निषेधको निषेध नियम लागू हुन्छ भन्ने आधारभूत नियम नै द्वन्द्ववादका तीन नियम हुन्।

५. लालसलाम :– क्रान्तिकारीहरूले हँसिया, हथौडाको आकारमा मुठ्ठी उठाएर अभिवादन गर्दा प्रयोग गर्ने शब्दलाई लालसलाम भनिन्छ। यो शब्द ‘रेड सल्युट’बाट अनूदित भएको हो। ‘लाल’को अर्थ रातो र ‘सलाम’को अर्थ अभिवादन, प्रणाम, नमस्कार भन्ने हो। रातो रङ्ग क्रान्तिको प्रतीक भएकाले क्रान्ति चाहनेहरूले क्रान्तिकारी भाव र आदरका साथ अभिवादन गर्दा रातो अभिवादन वा लालसलाम गर्ने गरेका हुन्। लालसलाम विशेष गरी कम्युनिस्ट क्रान्तिकारीहरूले प्रयोग गर्ने गर्छन्।

३६. राष्ट्रिय पुँजीपति :– आधुनिक उद्योग सञ्चालन गरी राष्ट्रिय पुँजीको विकास गर्ने र मुलुकलाई समृद्ध बनाउने पुँजीपतिलाई राष्ट्रिय पुँजीपति भनिन्छ। यिनीहरूले नेपालमा उत्पादित वस्तु देश–विदेशमा पुर्‍याउने र विदेशी पुँजीपतिको हस्तक्षेप र शोषणबाट मुलुकलाई बचाउने काम गर्छन्। राष्ट्रिय पुँजीपतिले मुलुकको पुँजी मुलुक बाहिर जान नदिई मुलुकभित्रै लगानी गर्ने भएकाले राष्ट्रिय अर्थतन्त्रको विकासमा यिनको महत्त्वपूर्ण भूमिका हुन्छ। यी जनवादी क्रान्तिका पनि मित्र शक्ति हुन्। राष्ट्रिय पुँजीपतिहरू दलाल पुजीवाद र विदेशी पुजीवादका विरुद्धमा रहने भएकाले यिनीहरू देशभक्त पुँजीपति मानिन्छन्।

३७. राष्ट्रवाद/राष्ट्रियता :– जनता, सरकार तथा सार्वभौमसत्ता सम्पन्न मुलुक वा देशलाई राष्ट्र भनिन्छ भने आफ्नो राष्ट्रको उन्नति र हितलाई सर्वोपरि मान्ने सिद्धान्त वा राष्ट्र र राष्ट्रियताप्रतिको भावना वा विचारधारा राष्ट्रवाद हो अनि राष्ट्रप्रतिको आस्था वा राष्ट्रहितको भावना वा राष्ट्रप्रेम, राष्ट्रियता हो। कानुनी दृष्टिले राष्ट्रियताको तात्पर्य राज्यको सदस्य हुनु भन्ने भए तापनि यसभित्र भाषा, साहित्य, कला, संस्कृति लगायत सम्बन्धित राष्ट्र झल्काउने कुरा पनि पर्दछन्, अनि तिनीहरूप्रतिको अपनत्वको भावना पनि राष्ट्रियता हो। यथार्थमा राष्ट्रियताले व्यक्ति तथा राज्यबीचको सम्बन्धलाई जनाउँछ। राष्ट्रियता जन्म, वंश, देशीयकरण, पुनःप्राप्ति र हस्तान्तरणका माध्यमबाट प्राप्त हुन्छ। नेपालले मूलतः वंशका नाताले राष्ट्रियता प्रदान गर्दै आएको छ।

(पौडेल त्रिविविका सहप्राध्यापक हुन्।)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्