सरकारले भीड जम्मा गरेर संक्रमण फैलायो, जनतालाई मृत्युको मुखमा धकेल्याे : वर्षमान पुन

Barsaman_pun
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारको अभिव्यक्तिले नागरिकमा त्रास फैलाएको बताएका छन्। कोरोना रोकथाम तथा न्यूनीकरणमा सरकार नलागी गम्भीर लापरबाही गरेको उनको भनाइ छ। शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वऊर्जामन्त्री समेत रहेका नेता पुनले सरकारले नै लापरबाही गरेर भिड जम्मा गर्ने र पछि उपचार गर्न सक्दिन भनेर हात उठाउनु लज्जास्पद कुरा भएको आरोप लगाए।

‘आफैं लापरबाही गरेर, हजारौं हजारको मास जम्मा गरेर, शुरुमा सम्भावित जोखिमको लागि तयारी पनि नगर्ने सरकार, जोखिम बढेपछि म सक्दिनँ भनेर हात उठाउनु असाध्यै गैरजिम्मेवार कुरा हो,’ उनले भने, ‘यसरी सरकार, राज्य केही पनि चल्न सक्दैन। यो कुरालाई तुरुन्त सच्याउनुपर्छ र जिम्मेवारीपूर्वक जनताको स्वास्थ्य उपचार, चेकजाँच र परीक्षणमा ध्यान दिनुपर्छ।’

नेता पुनले कोरोना संक्रमण नियन्त्रणका लागि निजी अस्पतालसँग समन्वय गर्नुपर्ने र थप आइसोलेसन सेन्टरका लागि विभिन्न सार्वजनिक ठाउँहरुमा युद्धस्तरको काम थाल्नुपर्ने पनि बताए। सरकारले अन्य राजनीतिक दल र आम जनतालाई परिचालन गर्न नसकी जनतालाई जर्बजस्त मृत्युको मुखमा धकेल्ने प्रयत्न गरको भन्दै उनले कोरोना नियन्त्रणका लागि सर्वदलीय संयन्त्र बनाउन प्रधानमन्त्रीसँग मागसमेत गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्