स्वास्थ्यकर्मी र कोरोना संक्रमितको बेहाल, शैया पाउन सोर्सफोर्स

sieti aspatal
लोकपाटी न्यूज

धनगढी। सुदूरपश्चिमको रेफरल सेन्टरका रूपमा रहेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी र कोरोना संक्रमितको बेहाल छ। अक्सिजनको हाहाकार भएर बिरामीलाई पु¥याउन सकस छ। भरिभराउ अस्पतालमा संक्रमितलाई राख्ने ठाउँ नभएर अन्य रोगका बिरामीसँगै आकस्मिक कक्षको ग्यालरीमा राखिएको छ ।

प्रयोग हुने ठाउँमा आईसीयू र भेन्टिलेटरको चरम अभाव छ भने सञ्चालन हुन नसक्ने ठाउँमा त्यस्ता अत्यावश्यक उपकरणहरू थन्किएका छन्। उपचार नपाएर पछिल्ला दिनमा दैनिक १० जनाभन्दा बढीको मृत्यु हुन थालेको छ। यसले संक्रमितसँगै अन्य रोगका बिरामीको उपचार ओझेलमा परेको छ।

दुई दिनअघि आईसीयूको प्रतीक्षामा एक संक्रमितका आफन्तले सेती प्रादेशिक अस्पतालमा ४८ घण्टा बिताए। आईसीयूमा रहेका संक्रमितको मृत्यु भएपछि मात्रै उनले निकै सोर्सफोर्स लगाएर बेड पाए। अन्य बिरामीले त त्यही पनि पाएनन्। ‘आईसीयू र भेन्टिलेटरमा रहेको कुनै बिरामी अब बाँच्न मुस्किल छ भन्ने सूचना पाएपछि सकभर त्यो बेड चाँडै खाली भइदिए हुन्थ्यो भन्ने प्रतीक्षा गरिरहेका थुप्रै कुरुवाहरू भेटिन्छन्,’ बिरामीका एक आफन्तले आफ्नो भोगाइ सुनाए ।

आईसीयूमा राख्नुपर्ने बिरामीलाई शय्या नपाएर अक्सिजन सहायतामै राख्नुपर्दा आफन्तहरू कुन बेला आईसीयू खाली होला र त्यहाँ सारौला भन्ने प्रतीक्षामा हुने गरेको स्वास्थ्यकर्मी बताउँछन्। ‘हामी आईसीयूमा अन्तिम क्षणमा पुगेको बिरामीको पनि पुनर्जीवनको पुकारा गरिरहेका हुन्छौं तर अन्य बिरामीका परिवारजनलाई त्यो बेड चाँडो खाली भइदिए आफ्नो बिरामी राख्न पाइन्थ्यो भन्ने लागिरहेको हुँदो रहेछ,’ अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डे भन्छन्, ‘आईसीयूका लागि सर्वसाधारणको गुहार मात्रै हैन, उपल्लो ओहोदाका व्यक्तिहरूको टेलिफोन र सोर्सफोर्स पनि आइरहेको हुन्छ तर बेड खाली नभएसम्म हामीसँग विकल्प हुन्न ।’

सबैभन्दा धेरै तनाव कोरोना अस्पतालमा खटिएका नर्सिङ स्टाफलाई छ। स्वास्थ्यकर्मीका अनुसार हरेक बिरामी आईसीयू सहायता अनिवार्य पर्ने खालका छन् तर आईसीयू पर्याप्त छैन। अस्पतालमा ४० शय्या अक्सिजन जडित, १० शय्या एजडीयू र १० वटा आईसीयू छ। आईसीयू आवश्यकताको दबाब थेग्नै नसकेपछि अन्य रोगका बिरामीको उपचारका लागि जोहो गरिएका १० वटा आईसीयू शुक्रबारदेखि कोरोनामै प्रयोग गर्न सुरु गरिएको छ।

शनिबारसम्म ५९ जना संक्रमितमध्ये ३ जना भेन्टिलेटरमा, १७ आईसीयू र ३५ जनालाई अक्सिजन सहायता राखिएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए। स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार सुदूरपश्चिमभरि १० जनाको मृत्यु भएको छ। संक्रिय संक्रमितको संख्या १ हजार ८ सय ५२ पुगेको छ।

संक्रमितको संख्या बढेसँगै सेती प्रादेशिक अस्पताल अक्सिजन अभाव सुरु भइसकेको थियो। पछिल्लो समय अक्सिजन हाहाकार हुने अवस्था आएको छ। ‘अक्सिजनको मात्रा हाइफ्लोमा चलाउनुपर्ने बिरामीको संख्या बढेको, आईसीयू र भेन्टिलेटर निरन्तर सञ्चालनका गर्नुपरेका कारण अक्सिजन अभाव भएको हो,’ सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेले भने, ‘बिरामीका लागि अक्सिजन हारालुछको अवस्था छ, आपूर्ति गर्न हम्मेहम्मे छ ।’

अस्पतालमा अक्सिजन प्लान्ट छ तर उत्पादनले भ्याइरहेको छैन। दिनहुँ ७५ सिलिन्डर उत्पादन क्षमताको प्लान्टबाट ५० सिलिन्डर उत्पादन भइरहेको छ । कोरोना संक्रमण बढेसँगै अस्पताललाई दिनहुँ डेढ सय सिलिन्डरको आवश्यकता छ। अपुग जति बाहिरबाट जोहो गर्नुपर्ने अवस्था आइलागेको डा. पाण्डेले बताए। आपत्कालीन प्रयोगका लागि नेपालगन्जबाट एक सय सिलिन्डर ल्याउने प्रयास भइरहेको उनले बताए। ‘नेपालगन्जमा पनि सहज रूपमा पाउने अवस्था नभएकाले थप समस्या भइरहेको छ,’ डा. पाण्डेले भने। कान्तिपुरबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्