भारतबाट आएका नेपाली सोझै घरतिर

simama nepali
फाइल तस्वीर
  • 24
    Shares
लोकपाटी न्यूज

काठमाडौं। मोरङ/जनकपुर/कपिलवस्तु/भैरहवा/नेपालगन्ज/धनगढी/कञ्चनपुर) — नाकामा होल्डिङ सेन्टर नहुँदा भारतबाट आएका नेपाली सोझै घर पुग्ने गरेका छन्। नेपाल भित्रँदा गरिने एन्टिजेन परीक्षणमा कारोना पुष्टि भए पनि उनीहरूलाई रोकेर राख्ने ठाउँ छैन । जसले गर्दा संक्रमण सहजै समाजमा फैलिने गरेको छ ।

प्रदेश १ सरकारको संकट व्यवस्थापन समितिले सुनसरीको भोक्राहा, मोरङको रानी, झापाको काँकडभिट्टा, इलामको पशुपतिनगर र ओखलढुंगाको हर्कपुरमा होल्डिङ सेन्टर निर्माण तथा व्यवस्थापनको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई दिए पनि काम भएको छैन। प्रदेश सरकारले कोरोना जनसुरक्षा कोषबाट खर्च व्यहोर्ने गरी जिल्ला संकट व्यवस्थापन समिति मोरङ, झापा, सुनसरी, इलाम र ओखलढुंगालाई होल्डिङ सेन्टर बनाउन निर्देशन दिएको थियो ।

विराटनगरको रानी नाकाबाट दिनमा डेढ सय जनासम्म भारतका विभिन्न राज्यबाट आइरहेका छन्। एन्टिजेन परीक्षण गर्दा तीमध्ये २/४ जनामा कोरोना पुष्टि हुने गरेको छ। रानी नाकाका हेल्थ डेस्क प्रमुख डा. कमलकिशोर यादवले बिहीबारदेखि एन्टिजेन परीक्षणमा पोजिटिभ आएका बाहिर जिल्लाकालाई नोबेल अस्पतालको आइसोलेसन वार्डमा पठाउन थालिएको बताए। ‘भारतबाट आएकाहरू सार्वजनिक यातायातमा घर जाँदा संक्रमणको जोखिम बढाएको छ,’ कोसी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट चुमनलाल दासले भने, ‘उनीहरूलाई केही दिन होल्डिङ सेन्टरमा राखेर सुरक्षित रूपमा घर पु¥याउने व्यवस्था नभए अवस्था भयावह हुन्छ।’

जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा होल्डिङ सेन्टरका लागि ठाउँ छनोट गर्न नसकेको जनाएको छ। यसअघि डीएभी स्कुलको भवनमा होल्डिङ सेन्टर राखिएको थियो। पछि त्यसबापत दाबी गरेको खर्च नपाएपछि यस पटक उक्त स्कुल आफ्नो भवन प्रयोग गर्न दिन मानेको छैन।

इलामका प्रजिअ ध्रुवबहादुर खड्काले पशुपतिनगर नाका हुँदै भारतबाट आएकाहरूको संख्या थोरै रहेको र तिनीहरूमा खासै स्वास्थ्य समस्या नरहेकाले सिधै गन्तव्यतर्फ लाग्ने गरेको बताए। प्रदेश सरकारको निर्देशन आएकाले अहिले होल्डिङ सेन्टर राख्न ठाउँ खोजी भइरहेको जानकारी उनले दिए। यस्तै, झापाको नाकास्थित काँकडभिट्टा माध्यमिक विद्यालयमा सेनालाई १ हजार शय्याको होल्डिङ सेन्टर निर्माण गरी सञ्चालनको जिम्मा दिइएको छ। विद्यालयको चौरमा त्रिपाल र टेन्ट राखेर अस्थायी होल्डिङ सेन्टर शुक्रबारबाट सञ्चालनमा ल्याइएको छ।

सुनसरीको भोक्राहास्थित सिम्याक्स फुड्स उद्योगको खाली भवनमा १ सय शय्याको होल्डिङ सेन्टर निर्माण भए पनि प्रदेश सरकारले सञ्चालन अनुमति दिएको छैन। सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले अनुमति पर्खिरहेको बताए। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले होल्डिङ सेन्टर २÷४ दिनभित्रै सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए । ‘प्रदेशका १४ वटै जिल्ला अस्पतालमा २० शय्याको कोरोना उपचारका लागि व्यवस्थापन गर्न बजेट पठाउँदैछौं,’ उनले भने ।

प्रदेश २ का पर्सा, बारा र धनुषा कोरोनाको उच्च जोखिममा रहे पनि अहिलेसम्म होल्डिङ सेन्टर बनाइएका छैनन्। प्रदेशका ८ वटै जिल्ला भारतीय सीमासँग जोडिएका छन्। पर्साको वीरगन्ज, रौतहटको बारा र सर्लाहीको मलंगवा नाकामा मात्रै नेपाल भित्रिनेको एन्टिजेन परीक्षण गरिन्छ। साताअघि, धनुषाको जटही नाकामा एन्टिजेन परीक्षण गर्ने र त्यहाँ होल्डिङ सेन्टर बनाउने निर्णय भए पनि दुवै काम अझै थालिएको छैन। गत वर्ष महामारीका बेला तेस्रो मुलुकबाट आउनेका लागि जनकपुरको मुजेलियास्थित राजदरबार होटललाई होल्डिङ सेन्टर बनाइएको थियो। मुख्यमन्त्री लालबाबु राउतले होल्डिङ सेन्टर स्थापना गर्न प्रक्रिया अगाडि बढाइने बताएका छन्।

बेलहिया र जमुनाहमा व्यवस्थित बनाउने प्रयास

कृष्णनगर नगरपालिकाले राखेको हेल्थ डेस्कमा गत शनिबारदेखि बिहीबारसम्म गत शनिबारदेखि बिहीबारसम्म २९ जना संक्रमित पाइएका थिए। संक्रमित देखिएकाहरू सडकमा भौंतारिरहेका थिए। कसैले पनि उनीहरूलाई सहयोग गरेका थिएनन्। ‘संक्रमित भनेर चिन्न सक्ने अवस्था छैन,’ स्थानीय व्यापारी जितेन्द्र गोयलले भने, ‘सरोकारवाला निकायले उनीहरूलाई सुरक्षित रूपमा घरसम्म पु¥याइदिनुपर्छ ।’

स्थानीय तहले आइसोलेसन सेन्टर नबनाउँदा संक्रमितहरू जोखिमपूर्ण तरिकाले घरमा होम आइसोलेसनमा जानुपर्ने बाध्यता छ । घरै पनि सार्वजनिक यातायातमा नपठाउन सरकारले निर्देशन दिएको छ, तर यहाँ त्यो पनि लागू छैन। कतिपय सवारी साधन रिजर्भ गरेर घर जाने गरेका छन्। पैसा नहुने संक्रमित सार्वजनिक यातायातमा घर पुग्ने गरेका छन्। सरकारको स्पष्ट निर्देशन र बजेटको समस्या हुँदा आइसोलेसन सेन्टर बनाउन समस्या भएको कृष्णनगरका नगरप्रमुख रजतप्रताप शाहको भनाइ छ। ‘यहाँ पूर्वाधार छैन । अब फेरि विद्यालयलाई अनुरोध गरेर बनाउने योजना छ,’ उनले भने।

रूपन्देहीको बेलहिया नाकामा स्थापना गरिएको होल्डिङ सेन्टरलाई व्यवस्थित रूपले सञ्चालन गर्ने प्रयास भइरहेको छ। रूपन्देहीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक आसमान तामाङले सुनौली हुँदै नेपाल आउने हरेकलाई स्वास्थ्य परीक्षण र विवरणसहित प्रभावकारी रूपमा व्यवस्थापन गर्न सेन्टर सञ्चालनमा ल्याइएको बताए। अझै पनि होल्डिङ सेन्टरका लागि एक जना मेडिकल अधिकृत व्यवस्था हुन बाँकी छ। होल्डिङ सेन्टरमा २ जना अहेव, २ जना ल्याब टेक्निसियन, १ जना अनमी छन्। यसबाहेक युनिसेफबाट २ जना स्वास्थ्यकर्मी पनि खटिएका छन्। संक्रमितको उपचारका लागि शुक्रबार लुम्बिनी निर्माण व्यवसायी संघको भवनमा ३० बेडको आइसोलेसन तयार पारिएकाले अब त्यहाँ राखेर उपचार गरिने प्रजिअ तामाङले बताए ।

बाँकेको नेपालगन्जस्थित जमुनाह नाका हुँदै भारतबाट दिनमा झन्डै दुई हजार नेपाली घर फर्किन थालेपछि उपमहानगरपालिकाले सीमामा होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको छ। नेपाल छिरेका उनीहरूलाई सेन्टरमै राखेर स्वास्थ्य परीक्षण गरेर घर पठाउने गरिएको छ। यो नाका हुँदै फर्किनेहरू अधिकांश कर्णाली प्रदेशका छन्। होल्डिङ सेन्टरमा अभिलेख राख्ने र स्वास्थ्य परीक्षणपछि गाडी खोजेर घर पठाउने गरिएको छ । सीमामै हेल्थ डेस्क राखिएको छ। संक्रमण पुष्टिसँगै स्वास्थ्य अवस्था जटिल भएकालाई भेरी अस्पताल पठाउने गरिएको छ। संक्रमण पुष्टि भए पनि अवस्था सामान्य हुनेलाई नेपालगन्ज–२० को ह्वाइट हाउस होटलको आइसोलेसनमा राख्ने गरिएको छ।

इलाका प्रहरी कार्यालय जमुनाहका इञ्चार्ज असई विष्णु गिरीले होल्डिङ सेन्टरले भारतबाट फर्किनेलाई बस्न सहज भएको बताए। नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख रामबहादुर चन्दका अनुसार ह्वाइट हाउस होटलको आइसोलेसनमा ५७ जना संक्रमित छन्।

सुदूरपश्चिममा बल्ल तयारी

सुदूरपश्चिमको मुख्य प्रवेश नाका गौरीफन्टाबाट भित्रिने नेपालीका लागि कैलालीको गेटामा भर्खर निर्माण भएको गेटा मेडिकल कलेजको भवनलाई होल्डिङ सेन्टर बनाइने भएको छ। सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित बढेर शय्या भरिभराउ हुन थालेपछि मेडिकल कलेजमै कोरोना अस्पताल विस्तार गर्ने पनि तयारी भइरहेको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार कलेज पूर्वाधार विकास तथा निर्माण समिति र अन्य सरोकारवाला पक्षसँग भएको शुक्रबारको छलफलमा होल्डिङ सेन्टर स्थापना गर्ने सहमति भएको हो। गत वर्ष कैलालीको प्रमुख सीमा नाका गौरीफन्टा नजिक त्रिपाल टाँगेर स्वास्थ्य जाँच गर्ने र सम्बन्धित जिल्लाका स्थानीय तहले बनाएका क्वारेन्टाइन र आइसोलेसनमा पठाइने व्यवस्था मिलाइएको थियो ।

यसपटक भने नाकामा सामान्य जाँचबाहेक आफूखुसी घर जान दिइएको छ । स्वास्थ्य जाँचपछि मात्रै घरतर्फ पठाउने गरी कञ्चनपुरको गड्डाचौकीमा बनाउने भनिएको होल्डिङ सेन्टर निर्माणले अझै गति लिएको छैन। ठाउँ खोजी तथा बजेट अभावका कारण हालसम्म निर्माण सुरु नभएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए। अहिले भारतबाट आउनेलाई दशगजामै रोकेर सार्वजनिक यातायातमा घर पठाउने गरिएको छ। कान्तिपुरबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्