अल्पद्रष्टा ओली र दूरद्रष्टा प्रचण्ड

Prachanda-Oli.jpg01
  • 2.9K
    Shares
लोकपाटी न्यूज

बलिदान शर्मा। आजकल बजारमा चर्चा चल्ने गर्छ, ‘नेपालको राजनीति ओलीले मात्र बुझेका रहेछन्। उनी आजकल झनझन् शक्तिशाली बन्दै गएका छन्। उनले जनताले बुझ्ने भाषामा जनताको कुरा बोल्छन्।’ अझ कतिले त भोलिको हेक्का नराखी भन्छन्, ‘ओलीबाहेक सबै सकिए। प्रचण्डको पनि राजनीतिक भविष्य ओलीले सकिदिए।’ प्रचण्डको भविष्यसमेत सकिएको तर्क गर्ने त्यस्ता ‘फेसबुके विद्वान’हरुले झलनाथ, माधव नेपालको त हिसाब नै गर्न छोडेका छन्।

अहिले ओली सरकार प्रमुख छन्। सरकारमा भएको बेला राज्यका सम्पूर्ण साधन स्रोत आफ्नो समूहको भरणपोषणलाई खर्चिनुलाई उनले ‘राजनीतिक स्थीरता’का रुपमा परिभाषित गरेका छन्, अर्थात् आफ्नो समूह जति बलियो बनाउन सकिन्छ, अर्कोपटक सत्तारोहणको सम्भावना पनि त्यति नै बलियो हुन्छ। त्यसकारण राज्यशक्तिको दोहन गरेरै भए पनि आफ्नो समूहलाई खुसी पार्न ओली सम्पूर्ण रुपले लागिपरेका छन्।

माओवादी वृत्तकै कतिपय नेता कार्यकर्ता भन्छन्, ‘सत्ता कब्जा गर्ने तरिका कसरी हो, त्यो ओलीबाट सिक्नुपर्छ। २०६४ यता हामीले ओलीले जस्तो गरेको भए सत्ता कब्जा गरिसक्थ्यौं।’

ओली वृत्तका अधिकांश नेता–कार्यकर्ता माओवादी र प्रचण्डको अवसानमा आफ्नो भविष्य देख्दैछन्। उनीहरु ठान्छन्, ‘प्रचण्ड कमजोर बनाएपछि माओवादी आन्दोलन कमजोर पार्न सकिन्छ। माओवादी कमजोर भएमा देशको राजनीति सधै आफ्नै वरिपरि केन्द्रित गर्न सकिन्छ। राजनीतिक प्रतिशोधका साथ गरिएका अनगिन्ती आक्रमणका साथै माडीमा सीताराम मन्दिर बनाउने प्रोपोगाण्डादेखि भरतपुरको विकासमा हस्तक्षेप गर्ने र भरतपुर महानगरलाई स्मार्टसिटीको सूचिबाट हटाउनेसम्मका गतिविधि प्रचण्ड कमजोर पार्ने र माओवादी आन्दोलन समाप्त पार्ने मनोकांक्षाद्वारा निर्देशित छन्।

ओली अहिले आफूलाई जस्तो बलशाली महशुस गरिरहेका छन्, २०६२ ताका पूर्वराजा ज्ञानेन्द्र पनि आफूलाई त्यस्तै बलशाली ठान्थे। बरु, पूर्वराजाले आफूलाई बलशाली ठान्नु स्वाभाविकै थियो, किनकि उनीसँग सिंगो सैन्य शक्ति, न्यायालयको शक्ति, कर्मचारीतन्त्र थियो। तर, जनताको शक्ति उनको साथमा नहुँदा सर्वाधिक शक्तिशाली ठानिएका ज्ञानेन्द्र इतिहासकै अन्तिम महाराजाका रुपमा समाप्त भए। अहिले ओलीसँग पूर्वराजासँग २०६२ ताका भएजस्तो शक्ति छैन। र, पनि उनी आफूलाई निकै शक्तिशाली सम्राट ठानिरहेका छन्।

जतिबेला राजा ज्ञानेन्द्रले माघ १९ को कदम उठाए, दलहरुमाथि प्रतिबन्ध लगाए, संकटकाललाई थप कडा बनाएर विद्रोहमाथि दमनको चक्र चलाए। त्यसपछि उनी आफ्नो मत सर्वेक्षणका निम्ति देश दौडाहामा निस्किए। राजा महेन्द्रको २०२८ सालको देश दौडाहापछि सायद ज्ञानेन्द्र नै त्यस्ता राजा हुन्, जो प्रत्यक्ष रुपमा जिल्ला जिल्लामा पुगेर भाषण गरे।

राजा जहाँ पुग्थे, त्यहाँ उनको जयजयकार हुन्थ्यो। उनको भव्य नागरिक अभिनन्दन हुन्थ्यो। मान्छेहरु टाढाटाढाबाट राजा हेर्न सदरमुकाम पुग्थे। पञ्चकन्याले स्वागत गरिन्थ्यो। नेपाली सेनाले दर्जनौं तोपको सलामी दिन्थ्यो। यी सबै दृष्य आफ्नै आँखाले देख्दा ज्ञानेन्द्रलाई लाथ्ग्यो, ‘म हजुरबुवा त्रिभूवन र बुवा महेन्द्रभन्दा पनि लोकप्रिय रहेछु। सिंगो देश नै मेरो पक्षमा रहेछ।’

तर, नेकपा (एमाले) का नेता केपी ओली लगायतका केही प्रतिगामी शक्तिले विरोध गर्दागर्दै पनि सात संसदवादी दल र नेकपा (माओवादी) बिच १२ बुंदे समझदारी भयो। त्यही समझदारीका बलमा फौजी संघर्ष र शान्तिपूर्ण आन्दोलन सँगसँगै अगाडि बढ्यो। जनताले आन्दोलनमा अभूतपूर्व सहभागिता जनाए। त्यतिबेला बल्ल ज्ञानेन्द्रले अनुमान गरे होलान्, ‘नागरिक अभिनन्दनका नाममा मेरा सभाहरुमा आएका जनता राजा हेर्न आएका थिए, राजाको समर्थनमा आएका थिएनन्।’

आज ओली ठ्याक्कै त्यही नियतिमा छन्। नेपालीमा उखान छ, ‘मूर्खदेखि दैव डराउनू।’ अहिले राज्यका जुन जुन अंगले ओलीसामू ‘त्वमशरणम्’ गरेका छन्, उनीहरुले ओलीको समर्थन गरेका होइनन्। बरु, ‘मूर्खसामु दैव डराउनू’ युक्तिको चरितार्थ भएको मात्रै हो। कुनै बेला नागरिकलाई ‘ब्ल्याकमेलिङ’ गर्दै राष्ट्रवादी छवि बनाएका ओलीको राष्ट्रवाद अहिले गोयलका कारिन्दाका रुपमा पतन भएको छ। सामाजिक सञ्जालदेखि जनताका तल्ला तहसम्म देखिएको निरासा र ओलीप्रतिको आक्रोश आउँदो निर्वाचनमा राम्रैसँग देखिने छ।

तत्कालका दृष्टिले हेर्दा ओली बलिया देखिएका छन्। तर, यो उनको क्षणिक सफलता मात्र हो। ओलीकै कार्यकालमा त्यति शक्तिशाली एमाले चिराचिरा भएको छ। पार्टीका झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टजस्ता मुर्धन्य नेताहरु ओली कदमको विपक्षमा छन्। यस्तो स्थितिमा निर्वाचन भएमा ओली समूहले प्रत्यक्ष जित्ने कुनै निर्वाचन क्षेत्र देखिँदैन।

ओलीसँग जुन शक्ति छ, त्यो कुनै दीर्घजीवी सोंच राख्ने वैचारिक शक्ति होइन। जुन दिन ओलीको सत्ता ढल्नेछ, त्यो दिन उनीसँग रहेको अराजनीतिक समूह पनि लाखापाखा लाग्नेछ। किनकि, एमालेभित्रका अवसरवादी जति सबै अहिले ओली समूहमा छन्। जतिबेला माधव नेपाल प्रधानमन्त्री थिए, उनीहरु कोटेश्वर धाउँथे, जतिबेला झलनाथ खनाल प्रधानमन्त्री थिए, उनीहरु डल्लु धाउँथे। स्वार्थका लागि धाउने समूह अहिले धाउँदाधाउँदै बालुवाटार पुगेको छ। यो समूह भोलि बालुवाटारबाट बालकोट धाउँदैन, शक्तिको केन्द्र जता सर्नेछ, उनीहरु त्यतै धाउनेछन्।

प्रचण्ड तत्कालका लागि सत्ताको केन्द्रमा छैनन्। तर, उनीसँग वामपन्थीहरुको बलियो विश्वास छ। राजनीतिक परिस्थितिमा फेरबदल आउनेवित्तिकै कम्युनिस्ट पार्टीहरुबिच एकता र क्रान्तिकारी ध्रुवीकरणको प्रक्रियाले फेरि गति लिनेछ। प्रचण्ड र माधव नेपालहरु एकीकृत हुनेछन्। जसपाभित्रका प्रगतिशीलहरु, वामपन्थी धाराका अरु शक्तिहरु संयुक्त मोर्चाको छाताभित्र आउनेछन्। त्यसले फेरि प्रचण्डलाई बलियो बनाउने निश्चित नै छ।

यसरी हेर्दा ओलीले आज मात्र हेरेका छन्। राज्यको कुन स्रोत कसरी दोहन गर्ने ? कुन संयन्त्रमा कुन अवसरवादीलाई भर्ती गर्ने ? राज्यका कुन कुन स्रोतमा भ्रष्टाचारको अवसर छ ? ती सबैमा ओलीले गहिरो गरी आँखा लगाएर बसेका छन्। तर, त्यसले भोलिको निर्वाचनमा कस्तो असर गर्ला ? यतातिर ओली समूहले सोचेको छैन।

तर, प्रचण्ड तत्कालका लागि ‘कर्नर’मा परेको देखिए पनि भविष्यको बाटो सहज बनाउने दिशातिर छन्। समाजवादको भौतिक, वैचारिक, संगठनात्मक आधार तयार पार्न, कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्न उनले जुन प्रयत्न गरेका छन्, जुन जोखिम उठाएका छन्, त्यसले फेरि प्रचण्डलाई शक्तिशाली बनाएर उभ्याउनेछ, क्रान्तिलाई नयाँ शिराबाट संगठित गर्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्

  • यस्तो बिष्लेषण भनेको आत्मरतिमा रमाउनु मात्र हो है| यथार्थको धरातलमा यो मेल खादैन महाशय |