लुम्बिनीको मुख्यमन्त्रीमा केसीको दाबी, ४२ सांसदले गरे हस्ताक्षर

Kul_Prasad_KC
  • 2.4K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन ४२ जना सांसदको हस्ताक्षर संकलन गरिएको छ। यद्यपि प्रदेश प्रमुख धर्मनाथ यादवले शंकर पोखरेलले बहुमत पुर्‍याएको भन्दै पुन: मुख्यमन्त्री नियुक्त गरिसकेका छन्।

माओवादी केन्द्रले ४२ जनाको हस्ताक्षरसहित ढिलो गरी प्रदेश प्रमुख समक्ष दावी प्रस्तुत गरेको छ। शंकर पोखरेललाई मुख्यमन्त्रीका रुपमा शपथ नगराउनसमेत उनीहरुले भनेक छन्। पोखरेलले वहुमत गुमाइसकेकोले उनलाई शपथ नगराउन भनिएको छ। आफ्नै संसदीय दलका नेता पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएपछि एमालेका कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य दुगनारायण पाण्डेयले राजीनामा दिएका छन्।

यस्तै, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले मुख्यमन्त्रीका पोखरेललाई समर्थन नगर्ने बताएका छन्। उनीहरू सूर्य चिन्ह लिएर निर्वाचित सांसद हुन् र एमाले संसदीय दलमै थिए। आइतबार नै दाङबाट निर्वाचित प्रदेश सभा सदस्य विमला खत्री वली माओवादी केन्द्र प्रवेश गर्ने निर्णय गरेकी थिइन्।

लुम्बिनी प्रदेश सभामा अहिले सभामुखसहित ८१ सदस्य छन् र एमालेका ४१ सांसद छन्। तीमध्ये चार जनाको समर्थन नपाउने भएपछि पोखरेललाई ३७ सांसदको समर्थन हुनेछ। तर, प्रदेश प्रमुख यादवले पोखरेललाई संविधानको धारा १६८ को उपधारा १ अनुसार बहुमतप्राप्त दलको संसदीय दलको नेताका रुपमा मुख्यमन्त्री नियुक्त गरेका छन्।

तर, नेपाली कांग्रेस, माओवादी, जसपा र राजमोसहितको गठबन्धले ४२ जना सांसद हस्ताक्षर संकलन गरेर आइतबार अपराह्न फेरि प्रदेश प्रमुख यादवलाई भेटेर हस्ताक्षर बुझाएका छन्। उनीहरुले कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गर्नसमेत दाबी पेस गरेका छन्। उनको शपथ रोक्ने मागसहित ती दलका सांसदहरु धर्नामा बसेका हुन्।

दावी पत्रमा भनिकएको छ, ‘अविश्वासको प्रस्ताव सामना नगरी मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृत भइसकेकाले लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यको बहुमत प्राप्त माओवादी केन्द्रको तर्फबाट प्रदेशसभा सदस्य कुलप्रसाद केसीलाई संविधानको धारा १६८ (२) बमोजिम प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न तपशील बमोजिमका लुम्बिनी प्रदेशसभा सदस्यहरुको समर्थन रहेको अवस्था जानकारी गराउँदै नयाँ सरकार गठन गर्नका लागि दाबी प्रस्तुत गर्दछौं।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्