मुख्यमन्त्रीमा पोखरेलको पुन:नियुक्ति संविधानको ठाडो उल्लंघन र घोर अलोकतान्त्रिक प्रवृत्ति : देउवा

Sher Bahadur Deuba
  • 1K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेलको पुन:नियुक्तिलाई  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घोर अलोकतान्त्रिक प्रवृत्ति भन्दै विरोध जनाएका छन्।  ‘लुम्बिनी प्रदेशमा आज भएको समग्र घटनाक्रमलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । संविधानको ठाडो उल्लंघन, बलमिच्याईं र घोर अलोकतान्त्रिक प्रवृत्तिको म कडा निन्दा र भर्त्सना गर्दछु ।’ आइतबार विज्ञप्ति निकाल्दै उनले भनेका छन्।

नेकपा एमालेले प्रदेश सभामा प्रष्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेका मुख्यमन्त्रीसंग बहुमत छ भनेर मान्नु र पुनः मुख्यमन्त्री नियुक्ति गरिनु राजनैतिक, नैतिक र संवैधानिक कुनै पनि कोणबाट तर्कसंगत नहुने देउवाले बताएका छन्। देउवाले नेपाली कांग्रेस, नेकपा माओवादी, जसपा र राजमोलगायतका दलले बहुमत सांसदको हस्ताक्षरसहित वैकल्पिक मुख्यमन्त्री प्रस्तावित गरिसकेको स्थितिमा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिनु संसदीय मूल्य मान्यता विपरीतको ब्यवहार भनेका छन्।

‘संविधान बमोजिम संसदमा अविश्वास प्रस्तावको प्रक्रिया अघि बढेको अवस्थामा त्यसलाई निष्कर्षमा नपुर्‍याई राजीनामाको नाटक गर्नु र प्रदेश अधिवेशन अन्त्य गर्नु नेपालको संविधान एवं संसदीय मुल्य-मान्यता, विधि र पद्धतिको ठाडो उल्लंघन हो’ उनले भनेका छन्। केन्द्रमा प्रस्तुत हुँदै आएको अधिनायकवादी चरित्रको अर्को संस्करण लुम्बिनी प्रदेशमा प्रस्तु भएको भन्दै देउवाले बलमिच्याईंले मिचिएको विधि र प्रक्रियालाई अविलम्ब सुचारू गरेर संसदको बहुमत अनुरुप नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका छन्।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भइसकेका बेला आइतबार उनले अचानक राजीनामा दिएका थिए। त्यसपछि एमालेले आफ्नो एकल बहुमतको सरकार दावी गर्दै प्रदेश प्रमुखलाई पत्र पठाएको थियो । प्रदेश प्रमुख धर्मनाथ यादवले आइतबार नै मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गरेका छन्। लुम्बिनी प्रदेशमा नेकपाबाट निर्वाचित सांसदले आइतबार नै आफ्नो संलग्नता नेकपा माओवादी केन्द्रमा रहेको बताएकी छन्। त्यस्तै आइतबार नै एमालेका एक सांसदले सांसद पदबाट राजीनामा दिएका छन् भने सूर्य चिह्नबाट चुनाव जितेका दुई सांसदले पोखरेलको साथ छाडेर विपक्षी गठबन्धनमा हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्