देश संकटमा : राजनीति स्वार्थमा

Ananta
  • 48
    Shares
लोकपाटी न्यूज

अनन्तप्रसाद घिमिरे

केही सातायता नेपालमा पनि कोरोना भाइरस महामारीको दोस्रो लहरको चपेटामा परेको छ। पृथ्वीभर मानव समुदायमा सर्वत्र सन्त्रास बढ्दो छ। पहिलो त अहिले मानव जीवनकै सुरक्षाको प्रश्न छ। संक्रमण व्यापक भइसकेको छ। यसको नियन्त्रणका लागि युद्धस्तरमा लाग्नुपर्ने अवस्था आएको छ। यो महामारीले कति क्षति गर्ने हो भनिसाध्य छैन।

महामारी नियन्त्रण र न्यूनीकरण मानिसकै सामर्थ्यबाहिर होइन। महामारीलाई अरू विस्तारित हुन नदिन विशेष सतर्कता अनिवार्य भएको छ। सावधानी अपनाइएन भने नेपालको भएभरको स्रोतसाधनले नभ्याउने अवस्था आउन सक्छ। स्वास्थ्य संकटकालको अवस्थामा राज्यले तत्परता देखाउनु पर्छ। संकटको बेला हरेक नागरिकलाई सुविधा उपलब्ध गराउनु राज्य र सम्बन्धित निकायको दायित्व हुन आउँछ। अहिले राज्याधिकारीहरूले अरू गफ गर्न छाडेर आफ्नो ध्यान यता केन्द्रित गर्न अति आवश्यक छ।

अहिले राजनीतिक खिचातानी र दोषारोपणमा लाग्ने वेला होइन। सबै मिलेर कोरोना संक्रमणको जोखिमविरुद्ध लड्नुपर्ने अहिलेको आवश्यकता हो। तर, अहिले देशको राजनीतिले जसरी कोभिड-१९ को खतरालाई नजरअन्दाज गरिएको छ, यो अत्यन्त खेदजनक छ। आफ्ना नागरिकहरू महामारीका कारण भौतिक र मनोवैज्ञानिक रूपले थला परेको बेला देशमा राजनीतिक दुर्गन्धले जरो गाड्दै जानु अत्यन्त दुखद विषय हो।

नेताहरूले आ-आफ्नै सुविधा र दुबिधाका भाषणले नेपाली राजनीतिमा तीव्ररुपमा बढ्दै गएको विकृतिले देश र जनताबीचमा आतंक र तनावपूर्णको वातावरण सृजना गरेको छ। जनताका गुनासो, समस्या र आवश्यकतालाई पैताला मुनी राखेर उच्च स्वरले बिच सडकमा देश विकास र नागरिकले पाउने सेवा सुविधाका बारेमा भाषण दिँदै हिँड्ने परम्परा कायम नै छ। वर्तमान अवस्थामा यो प्रवृत्ति निकै मौलाउँदै गएको देखिन्छ। तर जनताले आफ्नो हितको सेवा सुविधा भाषणमा बाहेक अन्यत्र कतै नपाएको अवस्था छर्लंग छ। यहाँनेर कवि लेखनाथ पौड्यालको कविता घतलाग्दो बन्न पुग्छः

जो दिँदैन उहीँ दिन्छु भनी गर्जन्छ सत्वर।
जो हो नबर्सने मेघ उसैको हुन्छ घर्घर।।

राजनीतिक संस्कृतिमा मौलाएको विकृतिले अब डुंगा डुबाएरै छोड्ने छाँटकाँट देखाइसकेको छ। अलग सोच र सिद्धान्त बोकेका दलहरू विपरीत ध्रुवतिर लागेको कुरा बुझ्न सकिन्छ। तर, एउटै सिद्धान्त र विचारधारा बोकेर हिँड्ने दलभित्रका नेताहरूले विपरीत दिशातिर लाग्नु भनेको आफ्नो स्वार्थ परिपूर्ति गर्न चुनेको दिशा मात्र हो भनेर भन्न कन्जुस्याइँ गर्नुपर्ने अवस्था छैन। संसद् विघटन भएर अदालतको आदेश बमोजिम पुनः स्थापना भएदेखि विभिन्न दलहरूको आ-आफ्नो दाउ छ। हुन त नेपालमा राजनीतिक अस्थिरताको इतिहास लामो छ। अस्थिर राजनीतिको यो श्रृंखला निरन्तर छ। आन्तरिक राजनीतिक शक्तिहरू बिच उत्पन्न भइरहने शक्ति संघर्षले अस्थिरता उत्पन्न गर्ने पक्षलाई मलजल पुगिरहेको छ।

निरन्तर अस्थिरताले आक्रान्त नेपालमा स्थायित्व नआउनुको कारण आन्तरिक राजनीतिक शक्तिबीचको स्वार्थ द्वन्द्वको विकृति प्रमुख हो। यस्तै राजनीति द्वन्द्व र विकृतिका कारण नेपालले आवश्यक राजनीतिक स्थायित्व आर्थिक र संवैधानिक स्थायित्व प्राप्त गर्न नसकेको यथार्थ हो। कहिले आफ्नै कच्चा खेलबाट बाहिरिने, कहिले देश बाहिरको षड्यन्त्रको सिकार बन्ने यो नै नेपाली राजनीतिको वर्तमान अवस्था छ। दुई डुंगाबीचको तरुल नेपाल जो माथि यो निश्चित छ कि नेपाली राजनीतिको मैदानमा विदेशी खेलाडीहरूको दबाब र प्रभाव भने निकै बेजोड छ। जसले नेपाली राजनीतिमा स्थिरता कायम रहन नदिएको महसुस हुन्छ।

नेपालको भूपरिवेष्टित अवस्था, भौगोलिक अवस्था र संवेदनशील भूराजनीतिक अवस्थाले नेपालको सामरिक महत्त्व अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको माझमा प्रख्यात छ। छिमेकी राष्ट्रको शक्ति बढिरहेको बेला हामी भने अस्तित्वको लडाइँमा छौं, आफ्नो दुनो सोझ्याउनमा नै व्यस्त छौं। सबैभन्दा ठूलो समस्या त के छ भने अस्तित्वको लडाइँमा हामी कोरा सिद्धान्तमा बाँडिएका छौं, त्यो नै राष्ट्र र राष्ट्रियताका लागि सबैभन्दा ठुलो खतरा हो। हाम्रो आँखामा स्वार्थको पट्टि लागेको छ। जबसम्म नेताहरूले राजनीतिक संस्कारलाई भुलेर जनताका दुःख-पीडालाई भाषणको एक किस्सा मात्र बनाउँदछन् अनि गफमा मात्र राष्ट्रवादका कुरालाई सीमित राख्दछन् तबसम्म विकास हुन असम्भव छ।

आफ्नो हित, सत्ता र सुविधाका लागि जे गर्न पनि पछि नपर्ने नेताहरू र नेताहरूको मिथ्या भाषणले नेपाली जनताको कान पाकिसकेको छ। अझै पनि यस्तो अवस्था दोहोराइ रहने हो भने जनताहरूले पनि कुनै नयाँ व्यवस्थाको बारेमा नसोच्लान् भन्न ससकिदैन। संकटको समयले नेतृत्व स्थापित र विस्थापित दुवै गर्न सक्छ। यद्यपि वर्तमान सरकारले आफ्नो शक्ति अहिले संकटको घडीमा युद्धस्तरमा काम गर्न उपयोग गर्नुपर्छ। अहिलेको महामारीको संकट नियन्त्रण र क्षति कम गर्न सरकार सफल बनोस्। हाम्रो शुभकामना।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्