कोरोनाबारे २० तथ्य : के गर्न हुन्छ, के गर्न हुँदैन ?

Rabindra
  • 90
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपालमा कोरोना भाइरसको दोस्रो लहरसँगै संक्रमण दर पनि ह्वात्तै बढको छ। अहिले लक्षणसहितको बिरामीको चाप बढेकोले अस्पतालमा बेड पाउन पनि मुस्किल छ। दैनिक तीव्र गतिमा कोरोना संक्रमण बढेसँगै मानव समुदायमा सर्वत्र सन्त्रास बढ्दो छ। महामारी नियन्त्रण र न्यूनीकरण मानिसकै सामर्थ्यबाहिर होइन। तर महामारीलाई अरू विस्तारित हुन नदिन स्वास्थ्य चेतना पहिलो आवश्यकता हो।

त्यसका लागि विशेषज्ञहरूको सक्रियतामा सञ्चालन गरिने सचेतना अभियान अनिवार्य हुन्छ। मास्क लगाउँदैमा विषाणु अतिक्रमणबाट बच्न सकिन्छ भन्ने होइन। अपितु व्यापक जनचेतनाका साथै राज्यको तत्परता त्यतिकै जरुरी हुन्छ। नेपालका हकमा केही समयका लागि भेला, सभा-सम्मेलनमा रोक र स्कुल-कलेज बन्द गर्दा केही बित्दैन, बिग्रँदैन। बरु सावधानी अपनाइएन भने नेपालको भएभरको स्रोतसाधनले नभ्याउने अवस्था आउन सक्छ।

नेपाल पनि उच्च जोखिममा रहेका कारण अधिकाधिक अस्पतालहरूमा जाँच सम्बन्धी प्रयोगशालाहरूको स्थापना, सबै अस्पतालमा निश्चित संख्यामा क्वारेन्टाइन र एकान्तवास (आइसोलेसन) को सुविधा उपलब्ध गराउनु राज्य र सम्बन्धित निकायको दायित्व हुन आउँछ। कोरोनाको फैलिँदो व्यापक महामारीबाट यो मुलुक आक्रान्त नहुँदै विशेष सतर्कता अनिवार्य भएको छ।

अलिकति पनि चूक भएमा देशमा उपलब्ध स्रोतसाधनले नभ्याउने आपत् आइलाग्न सक्छ। ठूलाठालुलाई बचाउन त देशमा उपलब्ध सम्पूर्ण संयन्त्र परिचालित होला निश्चय नै, तर सर्वसाधारण उपायहीन बन्न जानेछन्। त्यसकारण राज्यको तत्परता र नागरिकमा सचेतना हुनु जरुरी छ। महामारीबाट कसरी जोगिने ? यस्तो बेला के गर्ने ? लगायतका कयौं जिज्ञासा नागरिकको मनमा उब्जिएको छन्। यसै सन्दर्भमा जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले कोरोनाबारे २० जिज्ञासाका जवाफ दिएका छन्।

१. कस्तो अवस्थामा पीसीआर गर्ने ? पिसिआर नगरे हुँदैन र ?

ज्वरो, खोकी, सास फेर्न गाह्रो, पखाला, बान्ता, थकान, छालामा बिमिरा आदिमध्ये केही लक्षण मिलेमा, संक्रमितसँग भेट भएको अवस्थामा तथा कतै यात्रा गरेको अवस्थामा परीक्षण गर्नुपर्दछ। समयमै पीसीअर गरेमा रोग पत्ता लाग्छ। आफू आइसोलेसनमा बसेमा परिवारलाई संक्रमणबाट बचाउन सकिन्छ। रोग पत्ता लागेपछि गाह्रो भएमा कहाँ र के उपचार गर्ने भन्ने थाहा हुन्छ। तसर्थ पिसिआर टेस्ट गर्नुपर्दछ।

यस पटक पीसीआरबाहेक छातीको एक्सरे गर्नु उपयुक्त हुन्। कोभिड निमोनिया देखिएमा तदनुसारको उपचार गर्दा गम्भीर अवस्था आउनबाट बचिन्छ।

२. खोपले काम गरेको छ कि छैन ? खोप लगाएका संक्रमित भएका छन् कि छैनन् ?

खोप लगाएका व्यक्तिलाई पनि जनस्वास्थ्यका मापदण्ड पालना नगरेमा संक्रमण हुन्छ। उनीहरूको संक्रमण अन्य व्यक्तिलाई सर्न सक्छ। फरक यो छ कि खोप लगाएका व्यक्तिको गम्भीर हुने वा मृत्यु हुने दर नगण्य छ। प्रमाणित खोप जुनसुकै लगाए पनि गम्भीर हुनबाट बचाएको छ।

३. के भिटामिनहरुले कोरोना ठिक गर्छन् ?

भिटामिन सी, डी र जिंक लाभदायक छन्। तर यी औषधिले कोरोना ठिक गर्दैनन्।

४. एन्टिबायोटिक खाँदा कोरोना ठिक हुन्छ ?

एन्टिबायोटिकले कोरोना भाइरसलाई नष्ट गर्दैन। निमोनिया भएर ब्याक्टेरियल संक्रमण भएमा मात्र उपयोगी हुन्छ। तसर्थ जथाभावी औषधि सेवन गर्नुहुँदैन।

५. के जडीबुटी वा आयुर्वेद औषधिले कोभिड निको गर्छ ?

गर्दैन। सम्बन्धित चिकित्सकको सिफारिसमा मात्रा मिलाएर सेवन गर्दा शरीरको प्रतिरोधात्मक क्षमता बढाउने चीन, भारत, मदागास्कर, श्रीलंका आदि देशमा भएका अनुसन्धानले पुष्टि गरेका छन्।

६. के सिटामोलको कोर्स पुरा गर्नुपर्छ ?

पारासिटामोल ज्वरो १०० डिग्रीको आसपास पुगेमा वा टाउको र जिउ दुखेमा मात्र सेवन गर्ने हो। नियमित सेवन गर्नुहुँदैन।

७. अक्सिमिटरलाई कति पर्छ ? कहाँ पाइन्छ ? कति अक्सिजनको स्तर नर्मल हो ?

अक्सिमितर १२०० देखि ५ हजारसम्म पर्छ ? महँगो किन्नुपर्दैन। औषधि पसल वा सर्किजल हाउसमा यो किन्न पाइन्छ र ९५ देखि १०० यसको नर्मल भ्यालु हो।

८. अक्सिजनको लेभल ९४ बाट घटे के गर्ने ?

घोप्टो परेर सुत्ने। यसो गर्दा अक्सिजनको स्तर बढ्छ। यति गर्दा पनि घटेन भने फोक्सोमा संक्रमण भएको बुझिन्छ। अक्सिजन ९२ बाट तल भएमा तुरुन्त अस्पताल जानुपर्छ। छातीको सिटि वा एक्स रे बाट फोक्सोमा निमोनिया वा संक्रमण भएको थाहा हुन्छ। यसो भएमा चिकित्सकको सल्लाह अनुसार भर्ना हुने वा औषधि खानुपर्दछ।

९.अस्पताल प्याक छन् ? अब के गर्ने ?

सामान्य अवस्थामा चिकित्सकको निगरानीमा होम आइसोलेसनमा बस्नुपर्दछ। यदि सास फेर्न गाह्रो भए, अक्सिजनको मात्रा कम भए, निकै गाह्रो भए तुरुन्त अस्पताल जानुपर्छ। भरे वा भोलि जान्छु भन्नु हुँदैन। अस्पतालको फिभर क्लिनिकमा जाँच गराएपछि तपाईँको अवस्था अनुरूप चिकित्सकले उपचारको व्यवस्था गर्छन्।

१०. मास्कलाई किन खोपभन्दा राम्रो मानिन्छ ?

मास्क सस्तो, प्रभावकारी, साइड इफेक्ट नभएको तथा सर्व सुलभ छ। डबल मास्क लगाउने बानी गर्ने हो भने जुनसुकै प्रजातिको भाइरस आए पनि डर मान्नुपर्दैन।

११. सुत्केरी संक्रमण भएमा बच्चालाई दूध चुसाउने कि नाचुसाउने ?

सुत्केरीले मास्क लगाएर, बच्चाको विपरीत दिशामा टाउको फर्काएर तथा स्तनलाई राम्रोसँग सफा गरेर दूध चुसाउन मिल्छ। दूध चुसाउने बेला बाहेक बच्चालाई छुट्टै राख्नु राम्रो हुन्छ। सुत्केरी बस्ने कोठाको झ्याल र ढोका खुला हुनुपर्छ।

१२. यो महामारी कति खतरनाक छ ?

यस पटकको दोस्रो लहर धेरै संक्रामक भए पनि मृत्युदर कम छ। जनस्वास्थ्यका मापदण्ड पालना गरेमा संक्रमण हुँदैन। संक्रमण भएमा स्वस्थ आहार, विहार र उपचारले खतराको अवस्था हुँदैन।

१३. सास फेर्न गाह्रो भए घरमा अक्सिजन सिलिन्डरबाट अक्सिजन लिए ठिक हुन्छ ?

हुँदैन। फोक्सोमा संक्रमण र निमोनिया र पानी जम्ने आदि भएमा सास फेर्न गाह्रो हुन्छ। रोगको उपचारसँगै अक्सिजन लिँदा फाइदा गर्छ। अक्सिजन आफैले रोग निको गर्दैन। फोक्सोको अवस्था अनुसार अक्सिजनको मात्रा निर्धारण हुन्छ। तसर्थ अस्पताल भर्ना भएर वा निको भएर घरमा फर्के पछि सास फेर्न गाह्रो भए चिकित्सकको सल्लाह अनुसार अक्सिजन लिनुपर्दछ।

१४. सामाजिक सञ्जालमा लेखेका वा अन्य निको भएका संक्रमितले प्रयोग गरेका औषधि सेवन गर्ने कि नगर्ने ?

नगर्ने। हरेक व्यक्तिको अवस्था फरक फरक हुन्छ र चिकित्सकको सल्लाह बिना औषधिको जथाभावी सेवन गर्दा झन् खराब अवस्था हुन्छ।

१५. कोभिडको उपचार के छ ?

कोभिडको हालसम्म ठोस उपचार छैन। औषधि, अक्सिजन आदिले शरीरका अंगलाई सुरक्षित राख्ने, सजिलो बनाउने तथा भाइरसले असर गरेका अंगलाई सपोर्ट दिएर बिरामीलाई बचाउने मात्र हो।

१६.पोहोर संक्रमण भएको व्यक्तिलाई अहिले संक्रमण हुन्छ कि हुँदैन ?

मापदण्ड पालना नगरे संक्रमण हुन्छ। अहिलेको नयाँ प्रजातिको संक्रमणले गम्भीर बनाउन सक्छ।

१७. कोभिड र खोपबारे फरक फरक धारणा छन् ? कसको कुरा पत्याउने ?

विभिन्न वैज्ञानिक परीक्षणबाट कोभिड र खोपको पुष्टि भएको छ। अनधिकृत व्यक्तिका भ्रामक कुरा सुन्नुहुँदैन। सरकारले दिने सूचना र विज्ञका कुरा विश्वास गर्नुपर्दछ। कोरोना के हो ? भन्नको लागि अस्पतालमा छटपटाइरहेका संक्रमित हेरे स्पष्ट बुझिन्छ। खोपले काम गर्ने र नगर्नेबारे खोप लगाएका व्यक्तिको मृत्युदर हेरे थाहा हुन्छ।

१८. लकडाउन किन, कति समय आवश्यक हुन्छ ? लकडाउन छोटो गराउन के गर्नुपर्छ ?

लकडाउन भनेको जो जहाँ छ, त्यहीँ बस्ने हो। नयाँ महामारी आएमा, महामारीको कारण अस्पताल भरिएमा, नागरिकले जनस्वास्थ्यका मापदण्ड पालना नगरेमा तथा सरकारले तयारी गर्नको लागि लकडाउन गरिन्छ। लकडाउन जति कडा भयो, संक्रमणको चेन त्यति छिटो तोड्न सकिन्छ। यसको लागि नागरिकले मापदण्ड पालना गर्ने तथा सरकारले पालना गराउनेतर्फ पुरै शक्ति केन्द्रित गर्नुपर्छ। यसो भएमा ३ हप्ताको लकडाउन पर्याप्त हुन्छ। लकडाउनको अवधिमा सरकारले दैनिक काम गरेर गुजारा गर्ने व्यक्तिलाई राहतको व्यवस्था गर्नुपर्दछ। अनुशासित नागरिक र जिम्मेवार सरकारको संयोगले लकडाउन छोटो गर्न सकिन्छ।

१९. यो स्थिति कहिलेसम्म रहला ?

दोस्रो लहर अझै २-३ महिना रहन्छ। त्यसपछि घट्दै जान्छ। महामारीबाट मुक्त हुनको लागि ७० प्रतिशत नागरिकले खोप लगाउनुपर्दछ। जनस्वास्थ्यका मापदण्ड पालना गरेर भाइरसलाई मान्छेबाट अलग्याउनु पर्दछ।

२०. महामारीमा आत्मबल कसरी बढाउने ?

यो महामारीले संसारलाई चपेटामा पारेको छ। सबैको आर्थिक, शैक्षिक, पेशागत तथा अन्य क्षेत्रमा नोक्सान पुर्‍याएको छ। महामारी नियन्त्रणमा आएपछि ती सबै घाटा सन्तुलनमा आउनेछन्। अहिले जीवन रक्षा गर्नु सबैभन्दा महत्त्वपूर्ण विषय हो। योग, ध्यान, प्रवचन श्रवण, संगीत, कला, साहित्य, घरको काम आदिबाट मनलाई सकारात्मक ऊर्जामा स्थिर राख्न सकिन्छ। तनाव दिने खालका कुरा नसुन्ने र नहेर्ने तथा मनमा कोरोना मात्र बोकेर नहिँड्ने हो भने चिन्ताले अस्वस्थ हुने अवस्था उत्पन्न हुँदैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्