प्रचण्ड अर्थात् गणतन्त्रका नायक

Prachanda New photo
  • 8.2K
    Shares
लोकपाटी न्यूज

कार्ल विक्रम थापा/मैले पुष्पकमल दाहाल अर्थात् ‘प्रचण्ड’को बारेमा कलम नचलाई सुख्खै पाइनँ। कारण के हो त भन्दा उनको बारेमा यत्ति धेरै गालीगलौज गर्न, गराउन लागिपरेका नेकपाका केही नेता तथा कार्यकर्तालाई प्रचण्ड के हुन् त भनेर चिनाउन जरूरी नै भयो।

कार्ल मार्क्सको स्थान कसैले लिन सक्दैन। उनको स्थान ग्रहण गर्न एङ्गेल्सले पनि सकेनन्। म कार्ल मार्क्सको रूपमा ‘प्रचण्ड’लाई प्रस्तुत गर्ने धृष्टता पनि गर्न सक्दिनँ, किनकि कार्ल मार्क्स त कम्युनिस्टका मुहान हुन्। त्यही मुहानको एउटा बलियो हाँगा हुन् क. प्रचण्ड। त्यस्तै रूसका लेनिन हुन् भने नेपालका प्रचण्ड हुन्। चीनका माओ हुन् भने नेपालका प्रचण्ड हुन। उत्तर कोरियाका किमइल सुङ हुन् भने नेपालका प्रचण्ड हुन्। यत्ति कुरा बुझ्नु जरूरी छ नेपालका कम्युनिस्टहरूले। कसरी ?

२०५२ सालमा प्रचण्डको पूरै परिवार मृत्युको च्यादर टाउकोमा बाँधेर जनयुद्धमा होमिएका थिए। त्यो समाजवादका लागि संघर्षको पहिलो चरण थियो। मारिएका भए अहिले देशमा गणतन्त्र हुन्थ्यो वा हुन्नथ्यो ? शहीद कहलाउँथे वा गुमनाम हुन्थे ? यी नसोचिएका विषयहरु हुन्। तर अनवरत रुपमा सशस्त्र युद्ध गरिरहेको तत्कालीन नेकपा (माओवादी) का अध्यक्ष नै आजको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पनि हुन्।

नेकपा (माओवादी) ले सशस्त्र विद्रोह गरेको हुन्थेन भने आज देश गणतन्त्रात्मक हुने थिएन। किनकि अरू कुनै पनि पार्टीको एजेन्डा गणतन्त्र थिएन। कांग्रेसको त प्रभु नै थियो। सँगसँगै तत्कालीन ठूला वामपन्थी दल पनि राजतन्त्रभित्रै रमाउने पार्टी थिए। अरू पार्टीहरूको चर्चा गर्नु नै उपयुक्त ठानिनँ। यस्तोमा नेकपा (माओवादी) एक्लै गणतन्त्रको एजेन्डा बोकेर अनवरत रुपमा संघर्षशील रहिरह्यो।

युद्ध नीति, युद्धविराम हुँदै अघि बढिरहेका प्रचण्ड लगायत सिङ्गो पार्टीलाई आतंककारी भन्दै टाउकाको मोल तोकेर बसिरहेका नेपाली काँग्रेस र वामपन्थी दलहरूले सामन्ती राजा ज्ञानेन्द्रको माघ १९ को कदमपछि मात्र गणतन्त्रलाई आफ्नो कार्यक्रमको अंग बनाए। त्यो पनि काँग्रेसले आफ्नो विधानमा गणतन्त्र राखेपछि वामपन्थी पार्टीहरूले राखेका हुन्। त्यतिखेर वामपन्थी पार्टीहरूसमेत जनतामाझ ढुलमुले पार्टीका रूपमा परिचित थिए।

समग्रमा इतिहासलाई साक्षी राख्ने हो भने दुई ठूला संसदवादी पार्टी नै पहिलोपटक नेकपा (माओवादी) को गणतन्त्रात्मक एजेन्डामा प्रवेश गरे। भन्ने गर्छन् जङ्गलबाट माओवादीलाई सहरमा ल्याउने काँग्रेस र नेकपा (एमाले) हो। तर त्यसो होइन। बरू सहरमा रमाइरहेका यी दुई नेपालका पार्टीको एजेन्डा नै माओवादीले परिवर्तन गर्न बाध्य तुल्याइदियो। एकजना नेता त पछिसम्म पनि भन्दै थिए बयलगाढा चढेर अमेरिका पुग्नु र नेपालमा गणतन्त्र आउनु उस्तै उस्तै हो। यसकारण पनि म गर्वका साथ भन्छु कि प्रचण्ड नै गणतन्त्रका पिता हुन्।

संविधान सभा तत्कालीन नेकपा माओवादीको एजेन्डा नै हो। त्यही एजेन्डालाई अन्य राजनीतिक पार्टीले पनि स्वीकार गरेर संविधान सभाको निर्वाचन भयो। त्यही संविधान सभाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी ग¥यो। यो सबै आँधीबेहरी सिर्जना गर्ने नेतृत्व नै प्रचण्ड हो। उनको हरेक कदममा मैले देश देखेको छु, समाजवादी यात्रा देखेको छु। उतिबेला गणतन्त्रमा स्खलित हुने अनि अहिले फेरि समाजवादमा स्खलित हुनेहरूसँग कडा संघर्ष गरिरहेका छन् प्रचण्ड।

संविधानसभामार्फत् गणतन्त्र घोषणा गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका प्रचण्डले समाजवादी यात्रामा अनवरतरुपमा संघर्षशील कम्युनिस्टहरूको विचारलाई नेतृत्व दिइरहेका छन्, समाजवादी यात्रामा सघाउनुपर्‍यो नि सच्चा कम्युनिस्टहरूले।

सामान्य भाषामा बुझाउनुपर्दा एउटा शिशु जन्मँदा जसरी एउटी आमाले रगतको खोलो बताउँछिन्, त्यसैगरी गणतन्त्र नेपाल जन्मँदा १७,००० नेपालीले रगत बगाए। त्यसको नेतृत्व प्रचण्डले गरेका हुन्। यी हुन् प्रचण्ड, गणतन्त्र नेपालका पिता।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्