व्यष्टि र समष्टिको द्वन्द्वात्मक सम्बन्ध कस्तो रहन्छ ?

Globe-दर्शन
  • 73
    Shares
लोकपाटी न्यूज

अंश र सम्पूर्ण (Part and Whole) – दार्शनिक प्रवर्ग, जसले वस्तुहरु (अथवा वस्तुका तत्वहरु) को समष्टि तथा त्यो संयोजकको बीचमा सम्बन्धलाई व्यक्त गर्दछन्, जसले यी वस्तुहरुलाई एकीकृत गर्दछ तथा समष्टिलाई यस्ता नयाँ गुणहरु र नियमसंगतिहरु प्रदान गर्दछ, जसलाई वस्तुहरुमा पृथक रुपमा लिँदा पाउन सकिँदैन। यो संयोजकको माध्यमबाट सम्पूर्ण अभिव्यक्त हुन्छ, जसको सम्बन्धमा अलग–अलग वस्तुहरु अंश हुन्छन्। अंश र सम्पूर्ण प्रवर्गले संज्ञानको यस्तो सामान्य गतिलाई पनि लक्षित गर्दछन्, जुन आम रुपमा सम्पूर्णको अखण्ड अवधारणासँग आरम्भ हुन्छ। त्यसपछि सम्पूर्णका अंशहरुमा विभाजित गर्दा विश्लेषणको अवस्थाबाट अगाडि बढ्दछ र मनमा ठोस सम्पूर्णको रुपमा वस्तुको पुनर्सिजनासँग पूर्ण हुन्छ।

अंश र सम्पूर्णको समस्या सबभन्दा पहिले प्राचीन यूनानमा (प्लेटो र विशेषगरी एरिस्टोटलद्वारा) प्रस्तुत गरियो र त्यस बेलादेखि सम्पूर्ण उल्लेखनीय दार्शनिक धाराहरुसँग तिनीहरुको सम्बन्ध रहेको छ। विज्ञानमा आश्रित भौतिकवादी धाराहरु नियमित रुपमा सम्पूर्णको यान्त्रिकवादी अवधारणासँग सम्बन्धित रहे, जसलाई यान्त्रिकविज्ञान (र पछि गएर शास्त्रीय भौतिक विज्ञान) बाट ग्रहण गरिएको थियो। तर आदर्शवादी सिद्धान्त सम्पूर्णलाई त्यसका अंशहरुको समष्टिसम्म सीमित गर्न सकिंदैन भन्ने धारणामाथि आधारित थिए। केवल मानसिक उपजहरुलाई मात्र वास्तविक सम्पूर्णता मानियो, जबकि भौतिक सत्ताहरुको आधारलाई यान्त्रिक समुच्चय मानियो। वैज्ञानिक ज्ञानको विरुद्धमा दार्शनिक ज्ञानको स्थापना यसैमा आधारित थियो। शास्त्रीय जर्मन दर्शन (शेलिंग, हेगेल) मा अजैविक (यान्त्रिक) सम्पूर्ण र जैविक (स्व–विकासमान) सम्पूर्णमा अन्तर गरियो। तर जैविक सम्पूर्णलाई पदार्थसँग होइन, बरु केवल आत्माको विकाससँग मात्र जोडियो। १९औं–२०औं शताब्दीमा विभिन्न आदर्शवादी धाराहरुले (नवप्राणवाद, साकल्यवाद, अन्तःप्रज्ञात्मकतावाद, आदिले) अंश र सम्पूर्णको सम्बन्धमाथि परिकल्पनाहरुको व्यापक उपयोग गरे। शास्त्रीय जर्मन दर्शनका परम्पराहरुको आलोचनात्मक ढंगबाट मूल्यांकन गर्दै माक्र्सले जैविक सम्पूर्णको अध्ययनको सिद्धान्तहरुको – अमूर्तबाट माथि मूर्ततिर जाने विधि, विश्लेषण र संश्लेषणप्रति द्वन्द्वात्मक दृष्टिकोण आदिको – निरुपण गरे। मार्क्स सम्पूर्णको रुपमा समाजको वैज्ञानिक अध्ययनको विधिको संस्थापक पनि थिए। यसको साथसाथै द्वन्द्वात्मक भौतिकवादले ती सैद्धान्तिक मतहरु तथा विषयहरुको सामग्रीको सामान्यीकरण गर्दछ, जुन वस्तुहरुप्रति सम्पूर्णतामूलक दृष्टिकोणमाथि आधारित हुन्छन्।

नयाँ दृष्टिकोणले अंश र सम्पूर्णको तर्कसंगत स्पष्टीकरण गर्न सम्भव बनाउँदछ। सैद्धान्तिक रुपले मात्र होइन, बरु प्रयोगात्मक रुपले पनि यो सिद्ध गरियो कि जटिल रुपमा संगठित विषयहरुको रुपमा सम्पूर्णलाई त्यसका भागहरुको समष्टिसम्म सीमित गर्न सकिंदैन । सम्पूर्णले नयाँ गुण तथा विशेषताहरु ग्रहण गर्दछ, जुन त्यसका अंशहरुमा विद्यमान हुँदैनन्, तर सम्बन्धहरुको कुनै निश्चित प्रणालीमा तिनीहरुको पारस्परिक क्रियाको फलस्वरुप उत्पन्न हुन्छन्। कुनै पनि सम्पूर्ण गठनको यो विशेषता, जसलाई समाकलनीयताको गुण भन्न सकिन्छ।

यस्ता सम्पूर्ण गठनहरुको सबभन्दा महत्वपूर्ण सामान्य लक्षण हो, जसले सम्पूर्णका बाँकी सबै विशिष्ट गुणहरुलाई बुझ्न सम्भव बनाउँदछन्। यसमा निम्न कुराहरु पर्दछन् : विकासको प्रक्रियामा नयाँ पक्षहरुको उत्पत्ति, सम्पूर्णताका नयाँ प्रकारहरु प्रकट हुुनु; नयाँ संरचनात्मक स्तरहरुको गठन र तिनीहरुको क्रमिक अन्तर्निभरता; सम्पूर्ण प्रणालीहरुको जैविक तथा अजैविक रुपमा यस आधारमा विभाजन, जसबाट अजैविक प्रणाली (परमाणु, अणु, आदि) का अंशहरुका गुणहरु सम्पूर्णलाई परावर्तित गर्नुको बावजूद मुख्यतया अंशहरुको आन्तरिक स्वरुपबाट निर्धारित हुन्छन्, जबकि जैविक प्रणाली (जैविक तथा यान्त्रिक प्रणालीहरु) मा, उदाहरणको लागि जैविक तथा सामाजिक विषयहरुमा, अंशहरुका गुणहरु पूर्णतया सम्पूर्णका गुणहरुबाट निर्धारित हुन्छन्।

जैविक सम्पूर्णका अंशहरुलाई त्यसको विकासको उपजको कारण सम्पूर्णबाट बाहिरी रुपमा स्वतन्त्र अंशहरुको रुपमा, तिनीहरुको नयाँ प्रकृतिलाई नष्ट नगरीकन अलग गर्न सकिँदैन। समकालीन संज्ञान यो पारस्परिक संज्ञानात्मक विरोधाभासलाई समाधान गर्न समर्थ छ। यदि यसले अंशहरुको ज्ञानको पूर्वापेक्षा गर्दछ भने, सम्पूर्णको संज्ञान कसरी प्राप्त गर्न सकिन्छ ? यो विरोधाभाषको समाधान विश्लेषण तथा संश्लेषणको एकताको द्वन्द्वात्मक बोधमा आधारित छ। सम्पूर्ण र अंशहरुको संज्ञान सँगसँगै हुन्छ : अंशहरुलाई पृथक गरेर हामी तिनीहरुको सम्बद्ध सम्पूर्णका तत्वहरुको रुपमा अध्ययन गर्दछौं, जबकि तत्वहरुको संश्लेषणको फलस्वरुप सम्पूर्ण अंशहरुबाट बनेको द्वन्द्वात्मक संरचनाको रुपमा प्रकट हुन्छ।

(रमेश सुनुवार र नारायण गिरीद्वारा संकलित एवं अनुवादित पुस्तक दर्शन विश्वकोशबाट।)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्