ओलीलाई मनिषा आचार्यको खुला-पत्र

kp-sharma-oli
  • 1.4K
    Shares
लोकपाटी न्यूज

सम्माननीय प्रधानमन्त्री ज्यू
नमस्कार।

यो मुलुकको कार्यकारी अधिकार, शक्ति र सत्ताको प्रमुख तपाईं र तपाइको सुखी नेपाली समृद्ध नेपालको नाराप्रति मेरो सदैव गहिरो सद्भाव र सम्मान छ। सत्ता र शक्ति सामाजिक करारबाट तपाईंले प्राप्त गरेको कुरालाई तपाइले नकार्नुहुन्न भन्ने दृढताका साथ आफूले तपाईंलाई प्रश्न राख्न पाउने मेरो अधिकार प्रयोग गरेर जीवनमा पहिलोपटक देशको एउटा नागरिकको हैसियतले यो पत्र लेख्दैछु। अझ राज्यको महत्वपूर्ण काम प्रतिकूल परिस्थितिको संयमतापूर्वक सामना गर्दै आम विद्यार्थीहरुको रक्षाका निम्ति उत्तरदायी हुनुपर्नेमा झन उदासीन र निरीह भएकोमा अत्यन्तै दुख लागेको छ। जहाँ सम्म लाग्छ यी मेरा प्रश्नहरुले आम नेपाली जनता र अझ विद्यार्थी जमातका तमाम प्रश्नहरुको प्रतिनिधित्व पक्कै गरेको महसुस गरेकी छु।

प्रधानमन्त्री ज्यू ! मसँग न्यून मात्रामा सन्तुष्टिका उर्जाहरु र असंख्य निराशा र आक्रोशका ज्वाराभाटा छन्। बिगत ३ वर्षदेखि लगातार एउटै कक्षामा पढिरहेका, ६ महिनामा सकिने एउटा सेमेस्टरको परीक्षा दिन डेढ वर्षदेखि पर्खेर बसेर हतास र निराशामय विद्यार्थीहरुको प्रतिनिधि पात्र आफू स्वयम् पनि हुँ। अहिले निधेषाज्ञाको अवधिमा अधिकांश विद्यार्थीहरुले नेपालमा पढ्ने वातावरणको सिर्जना गर्न सरकार आफैँले चाहना नगरेको र यसका निम्ति कहिकतैबाट पहल नगरेको भन्दै आक्रोशित छन्।

अहिलेको यो अवस्थामा मकैमा घुन पिसेजस्तै सरकारको निर्णयको जातोले विद्यार्थीहरुलाई नपिसोस्, विश्वब्यापी कोरोना कहरको समयका वर्षाैं कुरेर नयाँ कक्षामा जान आतुर, आफ्नो पढाई यति अवधिभित्र सकेर यो काममा लाग्छु भनेर बनाएका तालिकाहरु र आफू पढिसकेर सेटल्ड हुन आतुर विद्यार्थीहरुको भावना, दोस्रो चरणको कोभिड- १९ परिक्षणमा सरकारले देखाएको सिमितता र ढिलोपनाले ल्याउने परिस्थितिलाई आम नेपाली नागरिकहरुले नजिकबाट हेरिरहेका छन्। आखिर लकडाउनको बिकल्पको बारेमा सरकारले किन सोच्दैन ? अहिले जसरी नै परीक्षणको दायरालाई क्रमभङ्ग नगर्ने हो भने परीक्षा कुर्दाकुर्दै विद्यार्थीहरुको बुढ्यौली निश्चित देखियो।

त्यतिमात्र होइन मनोवैज्ञानिक सन्तुलन खस्किँदै जाने भएकाले सबैभन्दा पहिले यसको ब्यवस्थापनको दायित्वलाई सरकारले बुझ्ने समय कहिले आउँछ यो सर्वत्र चासोको विषय हो। प्रधानमन्त्री ज्यू ! आफ्नो स्वार्थसिद्ध सत्ता प्राप्तिका खातिर आम नेपाली जनताको ढाडमा टेकेर बुइँ चढेको कति चाँडै बिर्सनसक्नुभएको ? एकातिर जनता कोरोनाको महाप्रलयकारी लडाइँमा छट्पटी रहेको अवस्थामा राहत, भरोसा, एकता साथ र सहयोगको अपेक्षामा रहदा तपाई भने आफ्नो र सत्ता सुरक्षाको अंकगणितीय हिसाबकिताबमा तल्लिन हुन अलिक सुहाएन कि ? उखान र टुक्काको बादशाहको रुपमा परिचित तपाईंको यो किसिमको प्रस्तुति र कार्यशैलीले यो समयमा मुलुक कति पछि परिसक्यो, सहजै आम मानिसले अनुमान लगाउन सक्छन्।

गम्भीर आशंका गर्न सक्ने मार्ग प्रशस्त गर्नुमा तपाईको अग्रस्थानको भूमिकालाई आफूले कसरी लिनुहुन्छ त्यो त तपाइकै कुरा भयो। तर कुण्ठा र मिश्रित आलोचनामा बाँसुरीको मिठो धुनमा रमाउन खोज्ने कुचेष्टाको मूल्याङ्कन सबैले गरेका छन् र समग्रतामा एउटै प्रश्नको उत्तर चाहेका छन्। त्यो हो लोकतन्त्र, कानूनको समानता र कोरोनाबिरुद्धको यस भयंकर युद्धमा तपाईको भूमिका के हो ? यिनै नागरिकले होइन र तपाईलाई अनुमोदन गरेर राष्ट्र र राष्ट्रियताका पक्षमा काम गर्न पठाएका ? के तपाईको एकतन्त्रात्मक र तानाशाही शासनबाट शासित हुनका लागि तपाईंलाई प्रधानमन्त्री बनाएका हुन् र ? जनताको अभिमतलाई शासकीय बुटले कुल्चिएर आफैँले रचेको नक्कली राष्ट्रवादलाई स्खलित गरेर लिपुलेक र लिम्पियाधुरालाई सत्ता टिकाउनका निम्ति भारतीय गोयलसँग गरिएको सम्झौता र एमसीसी जस्तो घातक बिदेशी लगानीलाई नेपालमा अथोराइजेसन दिनका निम्ति चालेका तपाईका कदमले तपाईलाई अलोकतान्त्रिक मात्र होइन, असफल सरकारको रुपमा परिचित गराएको कुरा जुन र घाम जस्तै छर्लङ्ग छ।

प्रधानमन्त्री ज्यू ! तपाईले गर्नुभएका हरेक भाषणहरु कति स्मार्ट छन्। ‘मैले नेतृत्व गरेको सरकार गरीब,दुखी ,मजदूरका लागि काम गर्ने सरकार हो,मेरो नेतृत्वको सरकार आएपछि जनताले सुतिसुती खान पाउँछन्’ अनि खै हुनेखानेहरुले बाहेक दैनिक ज्यालादारी गरेर बिहान बेलुका गुजारा गर्ने जनताले गर्व गर्न सक्ने एउटामात्र तपाईको काम भन्दिनुस् त ? तपाईको नेतृत्वको सरकार हुँदा तपाईका वरिपरि घुम्ने अघिल्लो दिनसम्म हात्तिछाप चप्पल लगाउनेहरु रातारात कसरी अर्बौका मालिक भए ? बाइडबडी, एनसेल, बालुवाटार जग्गा, यती, ओम्नी, गोकुल बास्कोटाको ७० करोड हुँदै कोरोनाका स्वास्थ्य सामग्रीमा- राहतमा अर्बौको भ्रष्टाचारसम्म आइपुग्दा आफूलाई नै बदनामित गर्ने यी तमाम मुद्दामा मुछिएकाहरुलाई अझ प्रोत्साहन गर्दै एसियामा भ्रष्टाचार हुने मुलुकहरुमध्ये एक नम्बरमा आफ्नो देशको नाम दर्ज गराउन सफल हुनुभएकोमा बधाई छ।

अझ नेपालको इतिहासमा कम्युनिष्ट पार्टीका अध्यक्षद्वारा नै संविधानमाथि कु गर्नु दुःखद विषय मात्र थिएन, अत्यन्तै गम्भीर विषय पनि हो। यदि कानून तपाईलाई इच्छा लागेको बेला स्वसिद्द बनाउने हो भने किन चाहियो ब्यवस्थापिका संसद ? अझ कोरोना कहरको यस्तो बिकराल परिस्थितिमा रातारात सांसद खरिद गरेर राज्यका नागरिकले कुखुरा बेचेर, दूध बेचेर, तरकारी बेचेर तिरेको कर, ५० औ लाख युवाहरुले बिदेशबाट भित्र्याएको रेमिट्यान्स तपाईको मनोमानिका लागि होइन, त्यही पैसाको सदुपयोग गरेर सर्वसाधारणलाई निशुल्क खाद्यान्न, मास्क, सेनिटाइजर बितरण गर्दा तपाईको लोकप्रियता पक्कै घट्दैन थियो। अस्पतालहरुमा अक्सिजन किन्ने बजेट बिनियोजन गर्दा लोकप्रियता त ओली सरकारकै बढ्ने होइन र ? कर्णालीमा, ताप्लेजुङको ओलाङ्चुङ गोलामा एउटा सिटामोल नपाएर एउटा जीवनजल नपाएर, समयमै सुत्केरी गराउन सकिने गरी स्वास्थ्यको पहुँच नभएर, कोरोनाले आक्रान्त भएर बेडमा हस्पिटलमा थलिरहँदा अक्सिजन, भेन्टिलेटर र आइसियूको अभावमा अकालमै मृत्युवरण गरेका जनताहरु तिनका घरपरिवार र आफन्तहरुको मन एउटै होइन र ? बिपन्न वर्ग, मध्यम वर्ग र पिछडिएका वर्गका निम्ति वर्गप्रतिको लगाव त कतै देखिएन नि ? तपाईले आफ्नो कार्यकक्षमा सिसाजडित सुरक्षा सावधानी अपनाउँदा १० रुपैयाँको मास्क किनेर लाउन सक्ने स्थिति नभएकाहरुको बारेमा सोच्ने दायित्वबाट भाग्ने छुट तपाइलाई छैन।

कोरोना कहर भन्दा डरलाग्दो राज्य कहर बनिरहँदा कोरोना कहरको कारणले गर्दा नेपालको आर्थिक वृद्धिदर दुई प्रतिशत हुने आँकलन अर्थविद्हरुले गरिरहेको वर्तमान अवस्थामा कोरोना कहरको सर्वाेत्तम सोलुसन यदि लकडाउन मात्र हो भने कति दिनसम्म हो ? कोभिडविरुद्ध औषधी नतिजामुखी नबन्दासम्म ढुक्क भएर बस्न नसकिने यो स्थितिको सामना कसरी गर्ने भन्ने विषयमा सरकारले अत्यन्तै गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ। पहिलो चरणको लकडाउनपछि कोरोना नियन्त्रणमा तदारुकता देखाउन पछि परेको सरकारले दिनानुदिन मृत्यु हुनेको सङ्ख्या यति, आइसियुमा यति, भेन्टिलेटरमा यति भनेर तथ्याङ्क निकाल्दै जनतामा आक्रोश फैलाउनु अत्यन्तै गैरजिम्मेवारपूर्ण काम हो ।

कोरोना कहरको बिचको समयमा कोभिड कन्ट्रोलका निम्ति सरकारले के-के गर्‍यो ? जनताको जनजीविकामा सहजता प्रदान गर्न कस्ता-कस्ता प्याकेजहरु ल्यायो ? श्रमिक, मजदूर, किसान र दैनिक ज्यालादारीबाट जीविका चलाउने करोडौं श्रमजिवी जनताको स्वास्थ्य र शिक्षाको जिम्मा लिने काम राज्यको दायित्वभित्र पर्दैन र ? जनताले कति दिनसम्म घरभित्रै बसेर आफू बाँच्न सक्ने स्थिति छ, उनीहरुलाई आधारभूत आवश्यकताहरु परिपूर्ति गर्न सरकार कहाँ अग्रसर भयो ? देश बाहिर रहेका नेपालीहरु जहाँ छन्, त्यहाँ पुगेर आफू जनतासँगै भएको आभास किन दिलाउन सकेन ? कोभिडका नाममा स्थानीय तहदेखि केन्द्रसम्म भएका कु– ब्यवस्थापन, चरम आर्थिक दुरुपयोग र स्वास्थ्य सामग्रीमा भएको मनोमानी भ्रष्टाचारको विषयमा किन मौन रह्यो ? स्वास्थ्यकर्मी र कोरोनाको कहरमा फिल्डमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता र स्वास्थ्य बिमा कार्यान्वयन र निरन्तर निगरानी खै ? जनतालाई घरभित्रै बस् भनेर आदेश मात्र दिने कि सुसूचित पनि गर्ने ? खै कार्ययोजनासहितको काम ? तपाइको यो अकर्मण्यता र हेलचेक्र्याइले समृद्ध नेपालको परिकल्पना परिकल्पनामा मात्र सीमित रह्यो। तर तपाईका वरपरका मान्छेहरु भने हरहिसाबले समृद्ध बनेका छन्, सायद यो त तपाईका निम्ति पक्कै सकारात्मक नै होला।

प्रधानमन्त्री ज्यू ! अब पानीजहाज, बिजुली, रेल, सुनका गजुर, सांसद किनबेच, विभिन्न प्रकारका शिलान्यास, काम नसकिँदै उद्घाटन, ब्यापारिक स्वार्थ बोकेका माफियाहरुसँगको मिलेमतोमा अनियन्त्रित ब्यापारीकरण, दलीय भागबण्डा, सत्तामोहको फोहोरी खेल र विकासका उधारा सम्झौताहरु जनतासमक्ष फिर्ता लिएर उपचारका निम्ति पूर्वाधार विकास, शैयाहरुको प्रबन्ध, पर्याप्त मात्रामा अक्सिजन प्लान्ट निर्माण गर्दै राज्यका तीनै तहका सरकारबिच समन्वय गर्नुपर्ने कुरामा तपाईको विशेष ध्यानाकर्षण गराउन चाहन्छु। अहिलेको आवश्यकता हो नभए स्वास्थ सेवाको अभावमा कोही कसैले ज्यान गुमाउँछ भने त्यो राज्यद्वारा नागरिकप्रति गरिएको निरङ्कुश र षडयन्त्रपूर्ण हत्या हो।

जनता बिरामी हुँदा उपचार राज्यले गर्न सक्दैन आफैँ गर भनेर जिम्मेवारीदेखि पन्छिन खोज्नु सरकारको कायरतासिवाय अरु होइन। आम नागरिकको दायित्व समाजप्रति दायित्व रहेजस्तै विद्यार्थीको दायित्व पनि यस्तो बेला सरकारलाई सघाउँदै उनीहरु बसेको समाजको निम्ति योगदान गर्न चाहन्छन् र शैक्षिक क्षेत्रहरू सदैव बन्द गरेर विद्यार्थीको मनोसामाजिक भावनामाथि खेलबाड नगरियोस्, अनलाइन शिक्षाका नाममा यसले दिने अवसर समान नभएको, मुलुकका कुना काप्चामा प्रविधिको सुलभता नभएकोले नेपालको वर्तमान परिपेक्ष्यमा अनलाइन शिक्षा त्यति ब्यवहारिक नभएको कुरा यहाँसमक्ष राख्न चाहन्छु।

अन्त्यमा देशबासीले पश्चगमन चाहेका छैनन्, अग्रगमन चाहेका छन्। त्यसैले तपाईंले बोलेका कुराहरुको कार्यान्वयनको मार्ग बन्द समाजतर्फ नहोस्, बन्द समाजले अन्तत: देशलाई नै अध्यारोतर्फ धकेल्ने कुरा तपाईलाई थाहा भएको विषय नै हुनुपर्छ। देशको यो परिस्थिति अत्यन्तै चिन्ताजनक छ किनकि विश्वका ती मुलुकहरुले मात्र यो कहरको सामना गर्न सके जसले व्यापक परीक्षणमा जोड दिए यसर्थ चाडोभन्दा चाडो अस्पताललाई तयारी अवस्थामा राख्दै सरकारले प्रत्येक अस्पतालमा फिभर क्लिनिक, आइसोलेसन वार्डदेखि तोकिएका अस्पतालहरुमा आइसीयूको बिस्तार, स्वास्थ्यकर्मी र कर्मचारीको सेवा सुरक्षा लगायतका विषयमा गरेका निर्णयलाई अक्षरश: कार्यान्वयन गर्ने कार्यमा तपाइलाई अतुलनीय भूमिका खेल्ने प्रेरणा मिलोस् !

उही राष्ट्र र राष्ट्रियतालाई माया गर्ने एक राष्ट्रप्रेमी नागरिक

मनिषा आचार्य

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्

  • बौद्धिक तर्क, जनताको प्रशन अनि उत्कृष्ठ लेख ।