माओवादी केन्द्रको स्थायी समिति बैठक जारी

फाइल तस्बिर
  • 229
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरअघि सुरु भएको हो। पछिल्लो राजनीतिक घटनाक्रम र २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने सम्बन्धमा छलफल केन्द्रित हुने बताइएको छ।

प्रधानमन्त्री ओलीले एक्कासि विश्वासको मत लिनका लागि संसदको विशेष अधिवेशन आह्वान गरेपछि भावी रणनीति तय गर्न स्थायी समिति बैठक बोलाइएको हो। बैठकमा आकस्मिक रूपमा बोलाइएको संसद् अधिवेशन र प्रधानमन्त्रीले विश्वासको मत लिने कदमका विषयमा छलफल भइरहेको एक स्थायी समिति सदस्यले जानकारी दिए।

ओलीले आइतवार नै मन्त्रिपरिषदको बैठकबाट विश्वासको मत लिन प्रतिनिधि सभाको विशेष अधिवेशन आह्वानका लागि सिफारिस गरेका थिए। माओवादीले ओलीको उक्त निर्णका बारेमा सोमवार नै बैठक बोलाउने तयारी गरे पनि अन्तिममा रोकिएको थियो।

यसैबीच सोमवार नै तीन दलका नेताहरुबीच अनौपचारिक छलफलसमेत भएको थियो। ओलीले २७ गते लिन लागेको विश्वासको मत अघि नै अविश्वासको प्रस्ताव दर्ता गर्ने नगर्ने बारेमा नेपाली कांग्रेस, माओवादी र जनता समाजवादी पार्टी जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव समूह निष्कर्षमा पुगिसकेको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्