माओवादी केन्द्रले सोध्यो थप चार जनालाई स्पष्टीकरण

perish_danda
  • 334
    Shares
लोकपाटी न्यूज

धनुषा। नेकपा माओवादी केन्द धनुषाले जिल्लाका चार जनप्रतिधिलाई स्पष्टीकरण सोधेको छ। माओवादी केन्द्रले एमालेतिर लागेका धनुषाका एक मेयर र तीन उपमेयरलाई स्पष्टीकरण सोधेको हो। पार्टीले विदेह नगरपालिका प्रमुख बेचन दास, उपप्रमुख निलमदेवी मण्डल, शहीदनगरका उपप्रमुख शिलादेवीकापर र निलुदेवी कापरलाई स्पष्टीकरण सोधेको हो।

जिल्ला इन्चार्ज योगकुमार बरबरिया यादव र सचिव दीपक यादवपार्टीको कार्यक्रममा सहभागी नभएको, पार्टी त्याग गरेको हो वा होइन र स्थानीय तहमा पार्टीको पक्षमा क्रियाशीलता नभएको विषयमा सोधिएको छ। सर्वोच्चको फैसलासँगै माओवादी केन्द्र र एमाले ब्युँतिएपछि उनीहरू एमालेको कार्यक्रममा सहभागी हुँदै आएकाले स्पष्टीकरण सोधिएको धनुषाका जिल्ला इञ्चार्ज योगकुमार बरबरिया यादवले जानकारी दिए।

‘सर्वोच्च अदालतको निर्णय अनुसार पार्टी पुरानै अवस्थामा फर्केपनि पार्टीको कार्यक्रमहरूमा तपाईंको सहभागिता के कति कारण भइरहेको छैन ? तपाईंले माओवादी केन्द्र त्याग गरेको हो वा होइन ? तथा तपाईंको आफ्नो स्थानीय तहमा पार्टीको पक्षमा क्रियाशीलता के कति कारणले छैन ?,’ माओवादी केन्द्रले सोधेको स्पष्टीकरणमा भनिएको छ।

उनीहरूलाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ। साथै, माओवादी केन्द्रले तीन दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण नदिए कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी पनि दिइएको छ।

यो पनि पढ्नुहोस्ः मैले राजीनामा दिनुपर्ने कारण थिएन, तर पदमुक्त भएकोमा खुसी छु : शेरचन

पोखरा। अमिक शेरचनले आफू गण्डकी प्रदेश प्रमुखमा रहँदा कुनै पनि असंवैधानिक काम नगरेको बताएका छन्। मंगलबार बिहान पत्रकार सम्मेलन गरेर शेरचनले पदमुक्तबारे धारणा राख्दै आफूले पदीय मान्यता विपरीत कार्य नगरेको बताएका हुन्।

प्रदेश प्रमुख रहँदासम्म कसैको दबाब र प्रवाहमा नपरी संवैधानिक मान्यताअनुसार काम गरेर उनको भनाई छ। ‘पदमा रहँदासम्म म कसैको दबाब र प्रभावमा परिन्, संविधानअनुसार नै काम गरेको छु,’ उनले भने, ‘यसरी काम गर्ने क्रममा कसैलाई समस्या परे संविधान हेरेर चित्त बुझाउन मेरो आग्रह छ।’ तर जानकारी नै नदिई आफूलाई पदबाट हटाइएकोमा शेरचनले आपत्ति जनाए।

उनले आफूले सुरुमा पद अस्वीकार गरेको भए पनि पार्टीको निर्णय मानेर प्रदेश प्रमुख भएर आएको बताए। ‘पहिला ओलीजीको प्रस्ताव अस्वीकार गरेको पद थियो यो। पछि पार्टीको निर्णय सुनाएपछि पार्टीको अनुशासित कार्यकर्ताको भएर स्वीकारेको पद हो यो,’ शेरचनले भने, ‘अधिकारविहीन खुला जेलबाट मुक्त गरिदिनुभएकोमा धन्यवाद राष्ट्रपतिजीलाई।’

उनले आफूले राजीनामा दिनै पर्ने कुनै कारण भनेको भए पहिला नै राजीनामा दिने उल्लेख गरे। ‘राजनीतिक कारण हो भने पनि मैले तत्कालीन एमालेको पक्षमा र माओवादी काँग्रेसको पक्षमा केही त गरेको छैन,’ उनले भने। प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेपछि आफूले राजीनामा बोकेर काठमाडौं पुगेको पनि उनले बताए। तर पार्टीले राजीनामा नदिन भनेपछि आफू रोकिएको उनको भनाई थियो।

शेरचनलाई राष्ट्रपति भण्डारीले सोमबार साँझ पदमुक्त गरेकी थिइन्। उनको ठाउँमा एमाले नेतृ सीता पौडेल आएकी छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्