माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो

फाइल तस्बिर
  • 6.2K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। माओवादीले संसदलाई भोलि विश्वासको मत नभएको भन्दै पत्र लेख्ने तयारी गरेको छ।

बुधबार समर्थन फिर्ताको पत्र मार्फत जानकारी दिइने स्थायी स्थायी किमटी सदस्य गणेश साहले जानकारी दिए। आज बसेको स्थायी समिति बैठक सकिँदा ५ बजिसकेका कारण बुधबार कार्यालय खुलेपछि समर्थन फिर्ताको पत्र बुझाइने उनले बताए।

यसअघि, माओवादीले समर्थन फिर्ता लिने निर्णय गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको थियो। तर, नयाँ सत्ता समीकरण बनाउन नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग भएको छलफल टुंगोमा नपुगेपछि पार्टीले समर्थन फिर्ता लिन सकेको थिएन। प्रधानमन्त्री केपी ओलीले आगामी वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेपछि पार्टीले बैठक बसेर समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेको हो।

२७५ सदस्यीय प्रतिनिधि सभामा हाल मतदानमा सहभागी बन्न पाउने सांसद २७१ जना छन्। माओवादी केन्द्रका ५३ जना सांसद भए पनि चार जना पार्टी परित्याग गरेकाले माओवादीसँग हाल सभामुखसहित ४९ जना सांसद मात्रै छन् भने एमालेका १२१ सांसद छन्।

काँग्रेसका ६३ मध्ये २ जना (विजयकुमार गच्छदार र अफताब आलम) निलम्बित छन्। त्यस्तै, जनता समाजवादीका ३४ मध्ये २ जना ( रेशम चौधरी र हरिनारायण रौनियार) निलम्बनमै छन्। साना दलहरूबाट मजदुर किसान पार्टी, राप्रपा र जनमोर्चाका एक-एक सांसद छन्। जसमा गणना हुने सांसदको संख्या २७१ हुन पुग्छ। २७१ मध्ये बहुमतका लागि १३६ सांसद आवश्यक पर्छ।

यस्तै, आजको स्थायी समिति बैठकले पार्टीले लुम्बिनी प्रदेशमा भएको घटनालाई चरम असंवैधानिक कदम भएको बताएको छ। गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रमुख पदबाट मुक्त गरिनु संविधानको भावना विपरित स्वच्छाचारी भएको बताएको छ।