माओवादी केन्द्रद्वारा लुम्बिनी सरकारलाई अवैधानिक घोषणा

फाइल तस्बिर
  • 3.6K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशमा हालै गठन गरिएको नयाँ सरकारलाई असंवैधानिक घोषणा गरेको छ। माओवादीको मंगलबार बसेको स्थायी समितिको बैठकले लुम्बिनीको नयाँ सरकारलाई अवैधानिक ठहर गरेको हो।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले शंकर पोखरेल नेतृत्वको लुम्बिनीको नयाँ सरकारलाई अवैधानिक ठहर गरेको बताए। ‘लुम्बिनी प्रदेशमा जुन ढंगले अवैधानिक तरिकाले नयाँ प्रदेश सरकार बनाएको घोषणा गरिएको छ। त्यो अवैधानिक छ,’ श्रेष्ठले भने, ‘लोकतान्त्रिक मूल्य मान्यता, राजनीतिक नैतिकताको चरम उल्लंघनको पराकाष्टा हो।’

विपक्षीले आफूसँग बहुमत रहेको हस्ताक्षरसहित दाबी गरिरहेको अवस्थामा आइतबार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवले शंकर पोखरेललाई मुख्यमन्त्री घोषणा गरेका थिए। साथै, मुख्यमन्त्री कार्यालयमै पुगेर शपथ खुवाएका थिए। त्यस कदमको माओवादी केन्द्रले विरोध जनाएको हो।

सर्वोच्च अदालतले फागनु २३ गते दुई पार्टी बनाउने फैसला आएपछि एक महिनाभित्र विश्वासको मत लिनु पर्नेमा नलिएर अहिले हतारमा लिन खोज्‍नुले प्रधानमन्त्री केपी शर्मा ओलीको उद्देश्य राम्रो नदेखिने प्रवक्ता श्रेष्ठले बताए। नियमित अधिवेशन नबोलाएर विशेष अधिवेशन बोलाउनुले पनि शंका उत्पन्‍न गराएको उनले बताए।

‘केही समयभित्र संसदको नियमित अधिवेशन बोलाउनु पर्ने बाध्यकारी व्यवस्था छ। तर, नियमित अधिवेशन बोलाउनुको सट्टा विशेष अधिवेशन बोलाएपछि प्रधानमत्रीको राजनीतिक आशय र उद्देश्य राम्रो देखिन्‍न,’ प्रवक्ता श्रेष्ठले भने, ‘लोकतान्त्रिक शक्तिहरूले सचेततापूर्वक ध्यान दिनु पर्ने आवश्यकता छ भन्‍ने निष्कर्ष हामीले निकाल्यौं।’

बैठकले हालैमात्र दुई प्रदेश प्रमुखलाई बलजफ्तीपूर्ण तरिकाले विनाकारण विना औचित्य अपदस्त गरिएकोमा पनि आपत्ति जनाएको छ। यस्तै बैठकले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। योसँगै वर्तमान सरकार अल्पमतमा परेको छ। ओलीले आगामी २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्