संसद छलेर अध्यादेश जारी गरेकाेमा कांग्रेस सभापति देउवाकाे आपत्ति

Sher_Bahadur_Deuba
लोकपाटी न्यूज
0 Shares

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संसद छलेर अध्यादेश जारी गरेको भन्दै गम्भिर आपत्ति प्रकट गरेका छन्। सरकारले आजमात्रै ७ वटा अध्यादेश जारी गरेपछि सभापति देउवाले विज्ञप्ति जारी गर्दै अध्यादेश जारी गर्ने सरकारी निर्णयको भर्त्सना गरेका हुन्।

सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘संसदको बजेट अधिवेशन बोलाउन ढिला भैरहेको अवस्थामा संसदलाई छलेर अध्यादेशमार्फत शासन चलाउने वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक छ।’ सभापति देउवाले संवैधानिक परिषद सम्बन्धीसहितका ७ वटा अध्यादेश जारी गर्ने सरकारको निर्णयको विरोध गरेका हुन्।

यसअघि सरकारले गत मंसिरमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोगसहित विभिन्न संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गरेको थियो।

प्रधानमन्त्रीको अध्यक्षतामा हुने संवैधानिक परिषदमा विपक्षी दलका नेता, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश र उपसभामुख सदस्य हुने व्यवस्था छ। सरकारले अध्यादेशमार्फत यीमध्ये ३ जना उपस्थित भए पनि बैठक बस्न र निर्णय गर्न सक्ने व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्