‘स्वार्थबाट माथि उठौं, कोरोनाबाट हजारौं सपना जोगाऔं’

लोकपाटी न्यूज

जनकराज पन्त/मानवीय चेतनाले संसारमा असाधारण उपलब्धिहरू भएका छन्। नवीनतम विकास र वैज्ञानिक आविष्कारले संसार साह्रै रमाइलो र सहज भएको छ। तर समाजमा वर्गीय असमानता खाडल ठूलो छ। समानता र न्याय सबैतिर उठ्ने माग र सरोकारका विषय हुन।

आज विश्व गम्भीर संकट र चुनौतीसँग लड्दै मानव सभ्यताको अस्तित्व जोगाउन क्रियाशील भएर लागी रहेको छ। मान्छेहरूको जीवन भोगाई चुनौतीहरूसँगै पैठाजोरी खेल्दै अरू भन्दा भिन्न र फरक हुने, धनी र सम्पन्न हुने चाहनामा कोभिड-१९ ले एक पटक ब्रेक लगाएको छ। कोभिड-१९ ले अहिले समाजका हरेक वर्ग, समुदाय र जातजातिहरूलाई नराम्रोसँग प्रभावित बनाएको छ।

समाजका आफ्ना प्यारा मान्छेहरूलाई मसानघाटसम्म पुर्‍याउँदै गरेका तस्बिरहरूले मानव समुदाय त्रसित बनेको छ। शोकमा रहेका मनहरू आफ्नो भविष्यसँग आत्तिएका छन्। कोभिड-१९ का कारण जीवन गुमाउन पुगेका व्यक्तिहरूले देखेका सपनाहरू पुरा हुन पाएनन्। उनीहरूका सपनाहरू घाम अस्ताए जस्तै बिच बाटोमै अस्ताएका छन्। यहाँ जिउनेहरूका सपना कति छन्। ती पुरा हुन्छन् हुँदैनन्, भविष्यलाई छाडौं।

राजनीतिमा आफ्नो भविष्य देख्नेहरू पनि थिए होलान्। कतिले राजनीति गरेर देशको सेवा गर्ने सपना बुनेका होलान्। कतिपय राजनीतिज्ञहरू महामारीको संकटबाट आफ्ना मतदाता जोगाउन गाउँ गाउँमा खटिरहेका पनि होलान्। मानवको जीवन रक्षा र गाँसबासको बन्दो बस्दो गर्ने उनीहरूको दैनिकी बनेको होला पनि। तर, कतिपय व्यक्तिले संकटलाई स्वार्थपूर्तिको अवसरका रूपमा उपयोग पनि गरिरहेका होलान्।

हुनसक्छ केही दलाल राजनीतिज्ञ अथवा उद्योगी कालोबजारी गरेर करोडौं कमाउने दाउमा लागेका पनि होलान्। सत्तालाई स्वार्थमा उपयोग गरिरहेका छन्। नागरिकको जीवन रक्षाको सवालमा चासो छैन। करोडौं पैसा कमाउने दाउ खोजेर बसिरहेका छन्। तर, कोही उद्योगपतिले संकटको बेला आफ्ना नेपाली दाजुभाइ दिदीबहिनीको जीवन रक्षाका लागि औषधी उपचारमा र गाँसबासको लागि सहयोग गरिरहेका छन्। सरकारलाई कर तिरेर जिम्मेवार नागरिकको कर्तव्य पूरा गरिरहेका छन्। संकटमा मनकारी मनहरूले हामीले महसुस गर्ने गरी सहयोगको तत्परता पनि देखाएका छन्।

यता स्वास्थ्य सेवामा रहेका सेवकहरूले ज्यान जोखिममा राखेर बिरामीको सेवामा रमाइरहेका छन्। स्वास्थ्य क्षेत्र र सेवा नबुझेका स्वास्थ्य माफियाहरू सिटामोल र डिकोल्ड लुकाएर करौडौं कुम्ल्याउने दाउमा छन्। कालोबजारी र ठगी धन्दा चलाई रहेका छन्। संसारमा सबैभन्दा अमूल्य कुरा मानवीय जीवन हो। जीवन रहे सपनाहरू पछ्याउँला। केही पुरा होलान्। केही बाटोमा हराउलान्। सपना पुरा गर्न आफ्नो कर्म, पेसा, योग्यता र क्षमतालाई प्रयोग गर्न पर्छ। तर लोभ, लालचमा परेर जीवनमाथि खेलबाड गर्न राम्रो होइन।

सपना देख्नु राम्रो कुरा हो। सपना देख्ने मान्छे प्रगतिको बाटोमा हिँडिरहेको हुन्छ। आफ्नो योग्यता र क्षमताको भरपुर उपयोग गरिरहेको हुन्छ। सत्य यो पनि हो की जन्म र मृत्यु निश्चित छ। सच्चा कर्मले सेवा गरी सपनाहरू पुरा गर्नु मानवीय धर्म हो। आज विश्वमा देखा परेको कोभिड-१९ को संकटमा सेवाको भावबाट पछि हटेर दाउ खोज्ने सपना बुन्नु दरिद्रता मात्र हो। करोडौंको सम्पत्ति जोडिन सक्छ। तर त्यो सफलता होइन। तपाईंले गर्भका साथ देखाउन नसक्ने गरी पुरा गरेको सपनाको कुनै मूल्य हुँदैन।

एक पटक सोचौं, मानव सभ्यतालाई अझ उच्चतम बिन्दुमा पुर्‍याउने सपना बोकेर स्कुल गइरहेका विद्यार्थीको सपनामा ब्रेक लाग्दा मानव समुदायले कति ठूलो क्षति बेहोर्नु पर्ला। हजारौंको जीवन उज्यालो दिशामा डोर्‍याउने शिक्षकको सपना हेरौं। निःस्वार्थ भावले राष्ट्रको सेवामा खटिनेका, मानव समुदायलाई जीवन दिने किसान मजदुरका सपनाहरू। मानस समुदायमा यस्ता सपना कति छन्, छन्। तर कोभिड-१९ संकटको चपेटामा परेका र कतिपय पूर्णविराम लागेका सपनाले समाजलाई कति क्षति पुर्‍याउने हो। अकल्पनीय विषय हो।

आर्थिक क्षेत्रमा कोभिडले गम्भीर क्षति पुर्‍याउँदै गएको बेला बैंकको ऋणले कसैको घर बाँस नउठोस्। किस्ता र व्याजको चिन्ताले डिप्रेसन र आत्मगलानी नहोस्। बैंकका नाफाका सिढीहरु जनता जोगिए छन् भने आर्थिक वातावरण सामान्य भएपछि हातहरू रंग्याउला। तर संकटमा जनतालाई राहत हुने र सरकारलाई टेवा पुर्‍याउने गतिविधिको आवश्यकता छ। हामीले कमाउने नाफाको हिस्सा कोभिडले लगाउन सक्ने पूर्णविरामको सपनामा खर्च गरौं। नाफाको हिस्सा सर्वसाधारणको पनि हो। त्यसैले नियमनकारी निकायले पनि अग्रसरता लिनुपर्छ।

कोभिड-१९ बाट आज मानव समाज जोगिए नाफा कमाउने दिन फेरि फर्किएलान्। तर अहिलेको समयले पुण्यको माग गरिरहेको छ। अमूल्य सपनाहरू जोगाउन माग गरिरहेको छ। त्यस कारण आर्थिक सक्षमता भएका क्षेत्रबाट निःस्वार्थ सहयोगको अपेक्षा समाजले राखेको छ। अस्तित्व जोगाउन मानव समूदालयले नाफामा हिस्सेदारी खोजेको छ। हरेक नागरिकको नाफामा हिस्सा देखियो भने सबैको भलो हुनेछ। विश्वको एक साझा समस्याको रूपमा कोभिड-१९ देखा परेको छ। यस विरुद्ध विश्व मञ्चका संघसस्थाहरु एकजुट भएर लड्न आवश्यक छ।

हुनेले नहुनेलाई सक्दो सहयोग गरौं। चाहे आर्थिक रूपले होस् वा सामाजिक रूपमा, मानवीय रूपमा अथवा जागरणको दृष्टिकोणबाट होस्। रोग र भोकसँगको लडाइमा सबै होमिन जरुरी छ। कोभिड-१९ लाई विभेदकारी सोच आलोचना तथा सामाजिक सञ्जालको हल्ला वा प्रचारको विषय नबनाई सुरक्षित रूपमा सावधानी तथा जिम्मेवार रूपमा सबैले आआफ्नो ठाउँबाट लडौं। योगदान दिऊ। एक दिन कालो बादल हटेर जाने छ। सबैतिर उज्यालो प्रकाशले खुसीयाली ल्याउने छ। घरघरमा विजय उत्सव मनाइने छ। कोभिड-१९ लाई पराजित गरेर मानव सभ्यताको रक्षमा एक भएर सबै लागौं। मानवीय चेतनाको विजय अवश्य हुने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्