व्यवहारिक रूपमा सार्थक बन्दै डिजिटल बैंकिङ अभियान

  • 3
    Shares
लोकपाटी न्यूज

काठमाडाैँ। नेपालमा चलिरहेको डिजिटल बैंकिङ अभियान व्यावहारिक रूपमै सार्थक बन्दै गएको कारोबार संख्याले पुष्टि गरेको छ। नेपाल क्लियरिङ हाउस (एनसिएचएल) मार्फत हुने कारोबारमा ९ वर्षदेखि पहिलो नम्बरमा रहँदै आएको चेक चालु आर्थिक वर्षको ९ महिनामा दोस्रो नम्बरमा पुगेको छ। चालु आवको चैत मसान्तसम्ममा चेकलाई कनेक्ट आइपिएसले पछाडि पारेको हो।

चालु आवको ९ महिनामा कनेक्ट आइपिएसअन्तर्गत करिब १ करोड १७ लाख कारोबार भएको एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) नीलेश मान सिंह प्रधानले जानकारी दिए। त्यस्तै, आइपिएसतर्फ कारोबार संख्या ८५ लाख पुगेको छ। सिइओ प्रधानका अनुसार समीक्षा अवधिमा एनसिएचएलले करिब १ करोड १० लाख चेक क्लियर गरेको छ। सेवा आरम्भको पहिलो वर्ष (आर्थिक वर्ष २०६८/६९) मा एनसिएचएलले करिब ५ लाख चेक क्लियर गरेको थियो।

‘गत आवसम्म चेक नै पहिलो नम्बरमा थियो,’ सिइओ प्रधानले बैंकिङ खबरसितको अन्तर्वार्ताका क्रममा भन्नुभयो, ‘चालु आवको नौ महिनामा चेकभन्दा कनेक्ट आइपिएसको कारोबार संख्या करिब ७ लाखले बढी छ।’ पछिल्ला केही वर्षमा नेपालमा विद्युतीय माध्यमबाट हुने भुक्तानीले उत्साहजनक रूपमा फड्को मारेको र डिजिटल नेपालको अभियान क्रमशः सार्थक बन्दै गएको सिइओ प्रधानको अनुभव छ। यद्यपि, सम्पूर्ण बैंकिङ सेवाको डिजिटाइजेसनका लागि भने बैंकवित्तले अबको दोस्रो चरणमा इनोभेसनलगायतमा सक्रिय भूमिका खेल्नुपर्ने उनको बुझाइ छ।

एनसिएचएलले चेक, आइपिएस, कनेक्ट आइपिएसलगायत भुक्तानीका अन्य वैकल्पिक माध्यमहरूका लागि आवश्यक पूर्वाधारसहित अहिले जम्मा ६ वटा पूर्वाधारहरू स्थापना गरिसकेको छ। यी माध्यमहरूबाट चालु आवको ९ महिनामा एनसिएचएलले करिब ३ करोड १२ लाख कारोबार गरेको छ। सुरुका ५ वर्ष चेक क्लियरिङलाई अटोमेट गर्नमा केन्द्रित रहेको एनसिएचएल पछिल्ला वर्षहरूमा भुक्तानीका डिजिटल माध्यमहरूको प्रवर्धनमा केन्द्रित छ।

देश कोभिड १९ को अतिसंक्रामक दोस्रो लहरसित जुधिरहेका वेला डिजिटल कारोबारलाई नै प्रोत्साहन दिनुपर्ने सिइओ प्रधानले बताए। भविष्यमा डिजिटल माध्यम नै कारोबारको मूल प्रवाह बन्ने भएकाले यो विषम परिस्थितिलाई विद्युतीय कारोबारसित अभ्यस्त हुने अवसरका रूपमा प्रयोग गर्नुपर्ने उनको भनाइ छ। ‘भोलि गएर कारोबारको मूल प्रवाह नै डिजिटल माध्यम बन्ने हुँदा सेवाप्रदायक संस्थाहरू र प्रयोगकर्ता दुवैले यसको प्रवर्धनमा सक्रिय भूमिका खेल्नुपर्छ। कोभिड महामारीको असहज अवस्थामा र पछि गएर पनि हामीले फिजिकल फाइनान्सियल सर्भिसहरू लिनुभन्दा डिजिटल माध्यमबाट लिनु उपयुक्त हुन्छ,’ सिइओ प्रधानको भनाइ छ, ‘डिजिटाइजेसनको यो अभियानमा एनसिएचएलले निर्वाह गर्नुपर्ने भूमिकाप्रति हामी कटिबद्ध छौँ।’

नेपाल राष्ट्र बैंकको नेतृत्व र मार्गदर्शनमा भुक्तानी प्रणाली सञ्चालक (पिएसओ) का रूपमा ८ पुस २०६५ मा स्थापित एनसिएचएलमा राष्ट्र बैंक, वाणिज्य बैंकहरू, विकास बैंकहरू, फाइनान्स कम्पनीहरूको हिस्सेदारी छ। अहिले प्रायः सबै बैंक तथा वित्तीय संस्थाहरू, भुक्तानी सेवाप्रदायक संस्थाहरू, नेपाल सरकारका विभिन्न निकायहरू तथा सिआइटीलगायत लार्ज फन्ड म्यानेजरहरू कुनै न कुनै रूपमा एनसिएचएलसित आबद्ध छन्।