ओलीको बहिर्गमन, अग्रगमनको ढोका

shiwa
  • 421
    Shares
लोकपाटी न्यूज

नेपाली समाजमा राजनीतिक अस्थिरताको प्रभाव निकै निर्मम ढंगले परेको छ। जहानियाँ राणा शासनका घाउहरू खत बन्न नपाउँदै, दलविहीन पञ्चायती व्यवस्था थुपार्ने काम भयो। जेनतेन बहुदलीय व्यवस्थाको स्थापना त भयो तर, त्यो व्यवस्था पनि भयमुक्त हुन सकेन। पञ्चायतको क्षतिहरू पूरण नहुँदै देश १० वर्षे गृहयुद्धको चपेटामा पर्‍यो। युद्धका चोटहरू विस्मृतिमा हराउन नपाउँदै, फेरी व्यवस्था ढलमलाउन थालेको छ।

सत्तान्मादी नेताहरू एका अर्कालाई नामेट पार्न तल्लीन छन्। व्यवस्थालाई नै निमिट्यान्न पार्ने गरी नेताहरूको सिरमा खुन सवार छ। सत्तामा टिक्नका निम्ति सत्तापक्ष सबै किसिमका बर्बर मान्यता शिरोपर गरेर दुनियाँभरिको नाजायज कृत्य गरिरहेको छ। आफूलाई सुपेरियर राष्ट्रवादी ठान्ने ओलीवादी सिंगो दुनियाँमा आफू विरोधीलाई नष्ट गरेर शुद्ध ओली भजन मण्डली बनाउन उद्यत छ। मूर्खको मूर्खता बुझेर जब विद्वान चुप लाग्छ, मूर्खले आफू अब्बल भएको ठान्छ। तर उसले गरेको गल्तीको नियति सबैले भोग्नु पर्छ भनेझैँ अहिले देशमा यस्तै भइरहेको छ। सत्ताको बर्बरताप्रति सरोकारवाला जनता बुद्धिजीवी सबै बुझेर पनि चुप छन्। न उनीहरू निर्णयको पक्षमा छन् न सशक्त विरोध नै गरेका छन्।

नेपाली समाज सदैव फुल्न चाहन्थ्यो। तर राजनीतिक बेइमानीले प्राकृतिक रूपमा सम्पन्न मुलुक गरिबीको रेखामुनि छ। लि क्वान यूले भने झैँ असल शासनका लागि असल मान्छे चाहिने रहेछ। शासन व्यवस्था जति राम्रो भएपनी शासक वा नेता खराब भएपछि जनताले दुःख पाउँदा रहेछन्। अहिले राजनीतिमा नैतिकता वर्जित मात्रै हैन लोप नै भएको छ। यहाँ इमानदार मान्छे हरदम डराउँछ र पलायन हुन बाध्य छ। यहाँ सरकार प्रमुख गैर संवैधानिक ढंगले कदम चाल्छन्। देशको सर्वोच्च संस्था उसको अनैतिक कदमलाई सहिछाप गरिदिन्छ।

देश पूर्णतः छटपटी र बेचैनीले जर्जर भएको छ। त्यहाँभन्दा दुःखद पक्ष त के छ भने, जे जति कष्ट, अप्ठ्यारा, असहजता आइपरे पनि युवासक्ति मौन छ। बरु ५० डिग्रीको घाममा अरूको गुलाम हुन तयार छ तर, विद्रोहप्रति उसको कुनै चासो छैन। यी गतिविधि नियाल्दा हाम्रो समाजको वास्तविक समस्या ‘निम्न पूँजिवादी’ चिन्तन, प्रवृत्ति, संस्कार, संस्कृति र कार्यशैली नै हो। मार्क्सले भने झैं ‘निम्न पूँजिपति’हरुले कहिल्यै क्रान्तिको नेतृत्व गर्न उद्यत भएनन्। पूँजिपतिहरु क्रान्तिको ‘राप र ताप’को समयमा क्रान्तिका सहयोगी भए झैँ गरे। किनकि तिनीहरू माथिल्लो वर्गबाट आफू हेपिएको बुझेका थिए। तर तल्लो वर्ग प्रति असहिष्णु रहिरहे। जतिसुकै चर्का नारा लगाए पनि निम्न पूँजिपतिहरुको स्वाभाविक चरित्र भनेको ‘दलाली’ हो यस कारण आफू पनि दलाली गर्छन् र अरूले पनि आफ्नो चाकडी गरोस् भन्ने चाहना राख्छन्। जुन अहिले सत्तारुढहरूलाई नियाल्दा स्पष्ट हुन्छ।

अब सैद्धान्तिक विषयलाई थाती राखेर कार्यशैली र प्रवृत्तिका कुरा गरौं। हाम्रो राजनीतिक धरातल कस्तो छ भन्ने कुरा बुझ्न क्षितिज निहाल्नै पर्दैन। नेकपा एकताको सुरुमा केही समय नेकपा अब्बल रह्यो। सरकारले पनि केही गति लिएको हो कि भन्ने भान पार्न सफल भयो। भन्न कर लाग्छ, पक्कै पनि ओली आएपछि जनता आशावादी भएका थिए। तथापि शक्तिशाली ओली पहिलो वर्षमा नै वाइड बडी काण्डमा दोषी उम्काउने चक्करमा हलुका टिप्पणी गर्दै चिप्लिन पुगे। सो पश्चात कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछिको हत्या जस्तो जघन्य अपराधका दोषी पत्ता लगाउनको निम्ति गम्भीर हुनुको सट्टा हलुका टिप्पणी गरेर चिप्लिए। उनको चिप्लाइ त्यतिमा सीमित भएन गुठी र प्रेसविधेकमा त झन् रक्षयानमै चिप्लिन पुगे। गुठियार र पत्रकारको आन्दोलनबाट पाठ नसिकी उनले एकपछि अर्को काण्डमा आफूलाइ मुच्छ्दै हिँडे। चिप्लाइ र चिप्लिने यात्राबाट पाठ सिक्न नसक्दा उनको यात्रा डुबानतर्फ उन्मुख हुन पुग्यो। ओली विभिन्न राजनीतिक नियुक्तिमा विवादास्पद छवि भएकालाई प्राथमिकता ओम्नी ग्रुपलाई स्वास्थ्य सामग्री ठेक्का, यती समूहलाई सरकारी सम्पत्ति हुँदै सांसद अपहरणसम्म आइपुग्दा सर्वांग नांगो हुन पुगे।

अझ एउटा रोचक प्रसंग, केही समय अगाडि देशको प्रधानमन्त्री निवास कै जग्गा भू-माफियाले प्रक्रियामा धाँधली गरेर बेचेको भेद खुल्यो। सत्तापक्षीय नेता कर्यकर्ताहरु निकै उँचो स्वरमा हाम्रो सरकारको नेतृत्वमा भ्रष्टाचार शून्य पर्छौं भन्दै जुरमुराए। अब केही होला कि भन्ने आशाका पालुवा पोलाएकै बखत सत्ताधारी पार्टीकै महासचिवले ८ आना जग्गा किनेको समाचार बाहिरियो। सत्तारूढ संगठनको पारो शून्य भयो। ‘भ्रष्टाचारप्रति शून्य सहनशीलता’ भनेर चुनाव जितेका केपी ओलीराज लाज पचाएर महासचिव ठगिएछन् भन्दै जोगाउन आइपुगे। यही घटनाबाट नि प्रस्ट हुन्छ हामी कस्तो व्यक्तिलाई देश जिम्मा लगाएका छौं। देशमा आफूलाई कम्युनिस्ट भन्नेहरूको सरकार छ। शिक्षा, स्वास्थ्य जस्ता मौलिक हकमा पनि स्पष्ट नीति छैन। जुन देश समाजवाद उन्मुख भएको दुहाई दिइन्छ त्यहाँ दाल चामल बाँड्ने कार्य अपराध मानिन्छ भने सांसद अपहरण गर्नु पुण्य कार्य। तर पनि हामी जनता पत्याइदिन्छौ। यती मात्रै नभै उहिल्यै राजा महेन्द्रले दान गरेको वर्तमान सत्तारूढले महाकाली सन्धिको नाममा अनुमोदन गरेको लिपुलेक र कालापानी फिर्ता गर्छ भनेर राष्ट्रवादी छाप लगाइदिन्छौं।

पोले माथि नुन चुक भनेझैँ ओलिटिक्सका हजारौं कमजोरीसँग साक्षात्कार हुन आइपुग्यो प्रचण्ड ओलीको व्यक्तिगत टकराब। उनीहरूको तकलिफ सिंगो नेकपा र सरकारमा पर्‍यो। अन्ततः नेकपा नै फुट्यो। यसरी हेर्दा कुनै पनि समय सरकारले अग्रगमन र विकासको लय समाउन सकेन। असहज परिस्थितिमा विकाशले गति लिन नसकेकोमा सरकारलाई सायद माफी दिन सकिन्थ्यो होला। तर सरकारले यस्तो महामारीको समयमा पनि जिम्मेवार ढंगले प्रस्तुत हुन सकेन, महामारीलाई शक्तिशाली सरकारले आरामले सामना गर्छ भनेर अपेक्षा गर्न सकिन्थ्यो। तर सरकारले यसलाई कमाउने मेलोको रूपमा बुझ्यो। त्यसपश्चात कसैको केही चलेन।

हुन त यो सबै अस्तव्यस्त राज्य सबैको जिम्मेवार ओली मात्रै हुन कसरी भन्न सकिन्छ र ? तर एउटा सत्य तथ्य के पनि हो भने, ओली सत्तासीन हुनु पहिले नेपाल अहिलेभन्दा हर कुरामा राम्रो थियो। बाटो छेक्ने कोही नहुँदा सरकार जिम्मेवार भएर अगाडि बढ्नुपर्नेमा झन् आफैँ संसद् विघटन जस्तो गैर संवैधानिक कार्यमा अल्झिएर बस्यो।

उल्लेखित तथ्यलाई नियाल्दा हाम्रो समाजलाई अग्रगमन र समृद्धिको दिशामा अगाडि बढाउने अबको बाटो भनेको ओलीको बहिर्गमन नै हो। यसका निम्ति अब सिंगो जनसमुदाय सुसंस्कृत, नैतिक र जनपक्षीय राजनीति स्थापित गराउने आन्दोलनमा समर्पित हुनपर्दछ। राजनीतिमा भइरहेको अनैतिक अव्यवस्थित परिपाटीको दर्के झरिलाई सिमसिमे पानीमा बदल्न चाहनाअनुसार नेपाली राजनीतिमा एउटा सानो इट्टा थप्न सबै तयार हुनुपर्दछ। परिवर्तनका निम्ति आवश्यकता अनुरूप जनयुद्ध, जनआन्दोलनको आँधीबेहरी सिर्जना गर्दै देशलाई नयाँ नेपालको मार्गमा हिँडाउन सक्ने, राष्ट्र र जनताको लागि, परिवर्तन र गतिशीलताका लागि संसद् सजिलै छाड्न सक्ने र पदका लागि नभएर राष्ट्रको आवश्यकताअनुसार विकास, शान्ति र समृद्धिका लागि संसदमा जान सक्ने जिम्मेवार नेतृत्व निर्माण नै अहिलेको प्रमुख दायित्व हो भन्ने बुझ्नुपर्दछ। यही जिम्मेवारीलाई शिरोधार्य गर्दै सबै न्यायाप्रेमिलाई यही आन्दोलनमा लामबद्ध हुन अनुरोध गर्दछु। देश समृद्धि तर्फ लम्कियोस् सबैमा शुभकामना।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्