काठमाडौं। नेकपा एमालेले राष्ट्रिय सभाको रिक्त सिटका लागि हुन लागेको उपनिर्वाचनमा रामबहादुर थापालाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ। नेकपा (एमाले) स्थायी कमिटी बैठकले वाग्मती प्रदेशबाट राष्ट्रिय सभाको रिक्त सिटका लागि हुन लागेको उपनिर्वाचनमा थापालाई नै उम्मेदवार बनाउने निर्णय गरेको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले थापालाई नै उम्मेदवार बनाउने निर्णय लिएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । स्थायी कमिटी निर्णयलगत्तै गृहमन्त्रीसमेत रहेका थापा उम्मेदवारी दर्ताका लागि हेटौंडा गएका छन्। उनको साथमा प्रधानमन्त्रीका कानुनविज्ञ बाबुराम दाहाल, एमाले नेता अग्नि खरेललगायत पनि गएका छन्। थापासहितको टोली हेलिकोप्टरमा हेटौंडा गएको हो।
कांग्रेस, माओवादी, एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष तथा जसपाको उपेन्द्र यादव पक्षले भने संघीयताका विज्ञ खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।
माओवादीबाट निर्वाचित थापा एमाले प्रवेश गरेपछि वाग्मती प्रदेशको राष्ट्रिय सभाको सिट रिक्त भएको थियो। उक्त सिटमा जेठ ६ गते मतदान हुँदै छ।