समाज विकासका ऐतिहासिक चरणहरु

slavery-in-america
लोकपाटी न्यूज

काठमाडाैं। उत्पादन पद्धतिको विकाससँगै समाजको विकास हुन्छ। उत्पादन सम्बन्धले नै राजनीतिक र सामाजिक व्यवस्थाको निर्धारण हुन्छ । प्रकृतिको जगतको विकाससँगै मानव समाजको विकास पनि हुँदै आएको छ। कार्ल मार्क्सले श्रम सम्बन्धको आधारमा समाजलाई देहायबमोजिम पाँच भागमा विभाजन गरेका छन्। क) आदिम साम्यवादी युग, ख) दास युग, ग) सामन्ती युग, घ) पुँजीवादी युग, ङ) समाजवादी युग तथा साम्यवाद।

(क) आदिम साम्यवादी युग

एंगेल्सले मानव समाजको ऐतिहासिक विकासको व्याख्या गर्दा दास युगबाट मात्र गरेका थिए। आदिम साम्यवादी व्यवस्थाको अवधारणा अमेरिकी समाजशाश्त्री मोर्गानले गरेका हुन्। चिनियाँ दर्शनमा यस युगलाई ताओ भनिएको छ। यो सबैभन्दा प्राचीन युग हो। आध्यात्मिक चिन्तकहरुले यस युगलाई ढुंगे युगको रुपमा व्याख्या गरेको पाइन्छ।

पाशविक अवस्थाबाट विकसित भएर मनुष्य अवस्थामा आइपुगेपछिको प्रारम्भिक जंंगली जीवनको युग नै आदिम साम्यवादी युग हो। शुरुमा चुच्चे ढुंगालाई नै हतियारको रुपमा प्रयोग गरी जंगलबाट शिकार ल्याउने र बाँडीचुडी खाने गर्दथे। कालान्तरमा चुच्चे ढुंगाको साथै काठ र पछि धनुवाणको प्रयोग गर्न थाले। आगोको आविष्कार पश्चात फलाम र पित्तलको अर्थात् धातुको औजारहरुको प्रयोग हुन थाले।

यस युगमा मानिसहरुको जीवन निर्वाह जंगलमा गई शिकार गरी ल्याएको मासु, फलफूलको आहार हुन्थ्यो भने गुफाको बसाई, झुण्डको बसाई र घुमन्ते जीवन बिताउने गर्दथे। कसैको तेरोमेरो भन्ने धारणा नभएकोले सबै समान थिए। खानेकुरा सबै मिलिजुली खाने गर्दथ्यो। यो व्यवस्थालाई आदिम साम्यवादी युग भनिन्छ।

बिस्तारै पशुपालन र खेतीपाती शुरु भएपछि यिनीहरुमा श्रम विभाजन भयो, विभिन्न कविलाहरुसँगै बस्न थाले र यिनीहरुको नेतृत्व एकजनाले गर्न गर्दथ्यो। खानेकुराहरु भण्डार गर्न थाले। घुमन्ते जीवनबाट स्थायीरुपमा एकै ठाऊँमा बस्न थाले। मालसामानको विनिमयको शुरुवात भयो। प्रशस्त औजारहरु निर्माण हुन थाले। मातृसत्ताबाट पितृसत्ताको उदय भयो। निजी सम्पत्ति राख्ने क्रम शुरु भयो। सम्पत्तिको सञ्चय गर्ने क्रममा एकआपसमा लडाई हुन थाल्यो। मानिसहरुको यस प्रवृत्तिसँगै आदिम साम्यवादी युगको अन्त्य भयो।

(ख) दास युग

आदिम साम्यवादी युगको विघटनपछि दास युगको प्रारम्भ भयो। एउटा समूह अर्को समूहसँग लडाई गर्दा हार्ने समूहलाई जित्ने समुहले घरमा ल्याई दास बनाउन थाले। ती दासहरुलाई घरखेतमा काम गराउँथे। उनीहरुमाथि पाशविक व्यवहार हुन्थ्यो। भागेर जानसक्ने भएकाले तिनीहरुलाई सिक्रीले बाँधेको हुन्थ्यो भने मालिकबाट तिनीहरुको किनबेच पनि हुने गर्दथ्यो। मालिकले आफ्नो दासलाई कुटपिट मात्र होइन, ज्यान मार्दा समेत बात लाग्दैनथ्यो।

यस युगमा आएर मान्छे मान्छेबीच असमानताको शुरुवात भयो। कुनै मान्छे दास हुने र पशुसरह किनबेच हुने र कुनै मान्छे मालिक हुने। यस युगबाट नै मानिस दुई वर्गमा विभाजित भए। दास प्रथा नै शोषणको प्रारुप हो। यस युगमा मानिस मानिसबीच निर्मम शोषण र अत्याचार हुने गर्दथ्यो।

जब दासहरुले कुरा बुझ्न थाले, अनि मालिक बिरुद्घ संघर्ष गर्न थाले। त्यसपछि ठूलो ठूलो विद्रोह हुन थाले। कालान्तरमा दास युगमा मालिकहरु कमजोर बन्न थाले। दास प्रथाको गर्भमा सामन्तवादी व्यवस्थाले जरो गाड्यो र क्रमशः दास युग पनि अन्त्य भयो।

(ग) सामन्ती युग

दास युगको अन्त्यपछि सामन्ती युगको प्रारम्भ भयो। सामन्ती युगमा दास युगका स्वामीहरु सामन्तमा फेरिए भने दासहरु भू–दासका रुपमा परिणत भएका थिए। भूमिमा जोडिएको कारण उनीहरुलाई भूदास भनिएको हो। यिनीहरु सामन्ती युगका किसानहरु हुन्। यी किसानहरु दासजस्तो पूर्ण रुपमा समर्पित हुनु पर्दैनथ्यो। उत्पादनको साधन मुख्य रुपमा जमिन हुन्थ्यो। जमिनमाथि जमिन्दारको पूर्ण स्वामित्व हुन्थ्यो। ठूलो संख्यामा किसानहरु जमिनको स्वामित्वबाट बञ्चित थिए। सामन्तले जीवन निर्वाहका लागि सानो टुक्रा जमिन गरिखान दिन्थे र त्यसको बदलामा जमिन्दारको जमिनमा काम गर्नुपथ्र्यो। सामन्तवादी युगमा सामन्ती अर्थात् जमिन्दारद्धारा किसानहरुमाथि शोषण हुने गर्दथ्यो। यस युगमा किसान र जमिन्दार गरी दुई वर्गमा विभाजित भए।

(घ) पुँजीवादी युग

सामन्ती युगमा किसान र पूँजीपति वर्ग मिली सामन्तवादको अन्त्य गरेपछि पुँजीवादी युगको प्रारम्भ भयो। सत्ता पूरै पुँजीपतिहरुको हातमा निहित भयो। यिनै पुँजीपतिहरुले व्यक्तिगत उपयोगका लागि उत्पादन नगरी नाफाको लागि वस्तुको उत्पादन गर्ने गथ्र्यो। नाफाका लागि वस्तुको उत्पादन गर्ने स्वतन्त्र आर्थिक पद्धति तथा उत्पादन सम्बन्धलाई पुँजीवाद भनियो। पुँजीको लगानी गरी आफूले प्रयोग गर्नुभन्दा खुल्ला बजारमा बिक्री गरी बढीभन्दा बढी नाफा आर्जन गर्ने स्वतन्त्र बजारको अवधारणामा आधारित व्यवस्था नै पुँजीवादी व्यवस्था हो। यस व्यवस्थामा उत्पादनका साधनहरु निजी स्वामित्वमा रहेका हुन्छन्। पुँजीवादी प्रणालीमा सर्वहारा वर्ग र पुँजीपति वर्ग गरी दुईवटा वर्गहरु हुन्छन्। उत्पादनका साधनहरुको निजीकरण भई सोमाथिको एकाधिकार पुँजीपति वर्गमा निहित रहन्छ।

(ङ) समाजवादी युग

पुँजीवादपछिको चरण समाजवाद हो। समाजवादमा उत्पादनका साधनमाथि सामाजिक स्वामित्व हुन्छ। संग्रह र विकासको रणनीतिमाथि केन्द्रीय नियन्त्रण हुन्छ। श्रमको सामाजिक स्वभाव वा चरित्र हुन्छ। आर्थिक योजनामाथि केन्द्रीय प्रभुत्व वा नियन्त्रण हुन्छ, उत्पादन सम्बन्ध मैत्रीपूर्ण हुन्छ। प्रत्येक व्यक्ति ज्यालादारी श्रमिक हुन्छ। बौद्धिक श्रमिक र ज्यालादारी श्रमिकबीच सामञ्जस्यता कायम हुन्छ। न्यायपूर्ण वितरण प्रणाली हुन्छ। राज्यले निशुल्क सामाजिक सामाग्री र सेवा प्रदान गर्दछ। यसमा सर्वहारावर्गको अधिनायकत्व रहन्छ। सार्वजनिक स्वामित्व स्थापित हुन्छ। समाजका सबै सदस्यहरुको कल्याण र स्वतन्त्र विकासमा जोड दिनु नै समाजवादको आधारभूत उद्देश्य हो। पुँजीपति वर्ग र सर्वहारा वर्गबीचको अन्तरविरोध नै प्रधान अन्तरविरोध हुन्छ। क्षमता अनुसार काम, काम अनुसार दामको व्यवस्था हुुन्छ।

(च) साम्यवाद

समाज विकासको अन्तिम चरण साम्यवाद हो। यो सामाजिक क्रान्तिको वैज्ञानिक सिद्धान्त हो। यो समाज व्यवस्थामा न कुनै वर्ग हुन्छ, न कुनै राज्य हुन्छ, न शोषक वर्ग हुन्छ, न त शोषित वर्ग हुन्छ। यो समाजमा एकातिर भौतिक साधनहरुको प्रचुर मात्रामा विकास हुन्छ भने अर्कोतिर मानिसको चेतना पनि रुपान्तरण भइसकेको हुन्छ। त्यसको परिणामस्वरुप हरेकले उसको क्षमताअनुसार हरेकलाई उसको आवश्यकता अनुसारको सिद्धान्त लागू हुने स्थिाति सिर्जना हुन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्