अदालतमा कार्यरत प्रहरी नायब निरीक्षक खत्री मृत भेटिए

Death pic
सांकेतिक चिन्ह
लोकपाटी न्यूज

हेटौडा। उच्च अदालत पाटन हेटौँडा इजलासमा कार्यरत प्रहरी नायब निरीक्षक (सइ) मृत अवस्थामा भेटिएका छन्। शनिबार बिहान हेटौँडा–१ राप्ति खोलामा ४७ वर्षीय प्रहरी नायब निरीक्षक केशवबहादुर खत्रीको शव भेटिएको हो।

खोलामा डुबेको अवस्थामा शव देखेपछि स्थानीयले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई खबर गरेका थिए। प्रहरीको टोली घटनास्थलमा पुगेपछि सइ खत्री रहेको पुष्टि भएको हो। मकवानपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) जयश्वर रिमालका अनुसार घटनास्थलमा शव उत्तानो परेको अवस्थामा भेटिएको थियो।

गोरक्षश्वर मन्दिर नजिक खोलामा डुबेको अवस्थामा खुट्टाको भाग र बाँकी भाग बाहिर रहेको अवस्थामा शव फेला परेको रिमालले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी रिमालले बताए।