रहेनन् पत्रकार दाहाल

dahal
लोकपाटी न्यूज

काठमाडौं। कोरोना भाइरस संक्रमणबाट थप एक पत्रकारको निधन भएको छ। कोरोनाबाट संक्रमित बनेका पत्रकार दिनेश दाहालको शनिबार उपचारका क्रममा निधन भएको हो। दाहाल २०७८ वैशाख १० गते धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना भएका थिए। लगत्तै पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो।

निमोनियासमेत देखिएपछि उनलाई सोही अस्पतालको आईसीयू कक्षमा राखेर राखेर उपचार गरिएको थियो। उपचारकै क्रममा उनको शनिबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ। यस्तै,  नेपाल पत्रकार महासंघले पत्रकार दाहालको निधनप्रति दुख व्यक्त गरेको छ। महासंघका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य समेत रहेका पत्रकार दिनेश दाहालको ४० वर्षको अल्पायुमै भएको निधनले स्तब्ध भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय दाहालले जनप्रहार साप्ताहिकमा लामो समयसम्म सम्पादकका रुपमा कार्य गरेका थिए। पत्रकार दाहाल पछिल्लो समय सिपोष्ट न्यूज डटकमका सम्पादक/प्रकाशकका रुपमा पत्रकारितामा सक्रिय रहेका थिए। उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको छ। स्वर्गीय दाहालका श्रीमती, एक छोरा र एक छोरी छन्।अहिलेसम्म कोरोनाबाट ज्यान जाने पत्रकारको संख्या ८ पुगेको छ। ६ सय ५० भन्दा बढी पत्रकार संक्रमित भएका छन्।