केरलाका कम्युनिस्टहरुबाट नेपालले के सिक्ने ?

  • 3K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। जनताको आधरभुत आवस्यकता शिक्षा, स्वस्थ्य र रोजगार जस्ले सुलभ गराउँछ जित उसैको हुन्छ भन्ने उदाहरण केरलाको कम्युनिस्ट पार्टी बनेको छ । उनिहरुले सर्वसत्तावादको नीति अंगीकार कहिल्यै गरेनन। हिंसात्मक राजनीतिभन्दा शान्तिपूर्ण चुनावी राजनीतिको नीति लिए। चुनावी राजनीतिबाट त्यस पार्टीले कहिल्यै पछि फर्किनु परेन। एलडीएफ सबैभन्दा बढी नागरिकलाई शिक्षित तुल्‍याउन केन्द्रित रह्याे । केरला मात्रै यस्तो राज्य हो जहाँ साक्षरतादर ९९ प्रतिशत भन्दा माथी रहेको छ।

राज्यका हरेक नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन पनि त्यस पार्टीको भूमिका उल्लेखनीय छ। केरलाको मोडललाई साम्यवादको नयाँ अवतारका रूपमा समेत परिभाषित गरिन थालिएको छ। पुँजीवादी राष्ट्रले प्रविधिमा होस् वा स्वास्थ्य क्षेत्रमा केरलाकै दक्ष जनशक्तिलाई प्राथामिकता दिने गरेका उदाहरण खाडीमा कार्यरत काला डाक्टरहरु हामिले प्रशस्तै देखेका छौ।

मुख्यमन्त्री विजयनले दुई कार्यकालमा विजयी भएका नेतालाई टिकटै दिएनन्। विजयनले संकटमा राम्रो व्यवस्थापन गरेर जनताको मन जिते। उनले राज्यमा लगातार दुई वर्ष आएको बाढीपछि पनि परिस्थितिलाई सम्हाले र जनताको सहायता गरे। बिश्वब्यापी कोभिड-१९ को महामारीमा पनि उनले केरलामा हालत नियन्त्रणबाहिर जान दिएनन्।

एकपछी अर्को उदाहरणिय काम गरिरहेका विजयनले प्रत्येक घरमा निःशुल्क रासन उपलब्ध गराए। उनले प्रवासी मजदुरहरूका लागि सामुदायिक भान्साको समेत प्रबन्ध गरेका थिए। प्रवासबाट फर्किएका युवाहरूलाई उचित रोजगारीको व्यवस्था पनि गरे। यस्तै, कोभिड खोप सबैलाई नि:शुल्क उपलब्ध गराए। वृद्ध-वृद्धालाई पेन्सनको राम्रो व्यवस्था पनि मिलाए। यही कारण एलडीएफले आफ्नो वर्चस्व कायम राख्न सफल भयो।

चीन, ल्याटिन अमेरिका र पूर्वी युरोपका नेताहरूले झै उनीहरूले उद्योगमा न त कब्जा जमाए, न त व्यक्तिगत सम्पत्तिहरु कब्जामा नै लिए। राजनीतिको केन्द्रमा रहेको नेसनल कंग्रेससँग चुनावमा सहभागी भए। चुनावी प्रतिस्पर्धामा कहिले कंग्रेसलाई पछारे कहिले आफूले हार व्यहोरे। विस्तारै केरलाका लागि कम्युनिज्म पहिचान बन्न थाल्यो।

१९७० र ८० को दशकसम्म त बच्चाहरूको नाम नै लेनिन र स्टालिन हुनु सामान्य भइसकेको थियो। केरला कम्युनिस्टको प्राथमिकतामा श्रमिक परे। पूर्वाधार निर्माणमा कार्यरत श्रमिलाई राज्यले नै १० वर्षसम्म तलब दिने व्यवस्था गरियो। खाडी राष्ट्रमा श्रमका लागि पुग्ने युवाहरूको रेमिट्यान्सबाट श्रमिकहरूलाई सरकारले निश्चित अवधिसम्म पालिरह्यो। केरला सबैभन्दा बढी व्यापारघाटा व्यहोर्ने राज्यमा निकै समयसम्म रहेको थियो।

घाटामै रहेर पनि केरलाले नयाँ राजमार्ग बनाउने औद्योगिक पार्क बनाउने नीति लियो । केरला यसमा सफल पनि देखियो। अहिले त्यहाँ चारवटा अन्तर्राष्ट्रिय विमानस्थल छन्। एसियाकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पनि त्यही बन्दै छ। सन् १९८० देखि ९० को दशकमा केरलाबाट अदक्ष कामदारहरू खाडी मुलुकमा जाने गर्थे। अहिले त्यहाँ लेखापाल, वकिल, नर्स, डाक्टर तथा अन्य दक्ष कामदारका रूपमा पुग्ने गरेका छन्। केरलाको कुल गार्हस्थ्य उत्पादनमध्ये रेमिट्यान्स तेस्रो नम्बरमा पर्छ।

पूर्वाधार निर्माण, स्वास्थ्यमा पहुँच र शिक्षाको दृष्टिले केरला सबैभन्दा अब्बल छ। त्यसैले कम्युनिस्ट पार्टीप्रति नागरिकको विश्वास अझै कायम छ। ‘राज्यले आधारभूत सुविधा उपलब्ध गराएको अवस्थामा मानिसहरू सधैँभर नाफाकेन्द्रित भइरहने छैनन्। नागरिकलाई सम्पन्न बनाउन राज्यले नै लगानी गर्ने केरला मोडल लागू हुने हो भने पुँजीवादको पतन निश्चित छ।

केरला कम्युनिस्टको गढ बन्नुको पछि उसले नागरिकका आवश्यकता पूर्ति गर्न सहयोग गर्नु हो। केरलाका युवाहरू राज्यले सबैलाई समान अधिकार दिएको प्रति कृतज्ञ छन्। ‘राज्यले हामीलाई सबै वर्गका मानिसहरू समान हुन् र सबैलाई समान अवसरको सुनिश्चित छ भन्ने आभाष दिलाएको छ। भारतको अन्य राज्यमा जस्तै यहाँ हिन्दूत्वको राष्ट्रवाद प्रवेश गरिसकेको छैन। यहाँ धर्म निरपेक्षतालाई नै प्राथमिकता दिइन्छ। ‘हामी इसाई, मुस्लिम वा हिन्दू कोही पनि होइनौँ। रोग भोक र शोक सबैका लागि समान छन्। त्यसैले हामी मानव हौँ,’ केटाकेटीहरू यही गीत मस्तसँग गाइरहेका थिए।

केरलाले समानताको शिक्षा दिइरहेको छ। सबैलाई समान अवसरका लागि राज्यले नै लगानी गरिरहेको छ। पूर्वाधार विकास, शिक्षामा सरल पहुँच र नागरिकलाई सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन एलडीएफ सधैँ अग्रसर छ। सय वर्ष अघिको आफ्नो जगलाई भत्किन नदिन पार्टी क्रियाशील छ। त्यसैले त बारम्बार जितको आधार पनि बनिरहेको छ।