सांसद अथकले छुट्याए अक्सिजन सिलिण्डर खरिदका लागि ३० लाख

Athak pic
लोकपाटी न्यूज

कोहलपुर। कोरोना माहामारीको दोश्रो चरणमा बाँके जिल्ला कोरोनाको ‘हटस्पट’ बनेको छ। कोरोना संक्रमित अत्यधिक बढेसँगै बाँकेमा अक्सिजनको अभाव भएको छ। कोरोना संक्रमणको दोस्रो लहर भयावह रुपमा फैलिन थालेपछि जिल्लाका ठूला अस्पतालमा अक्सिजनको अभाव देखिएको छ।

अक्सिजनको अभाव भएपछि संघीय सांसद महेश्वर गहतराज ‘अथक’ले आफ्नो निर्वाचन क्षेत्रभित्र रहेका अस्पताल र आइसोलेशन सेन्टरमा अक्सिजनको सहज आपूर्तिका लागि ३० लाख रुपियाँ विनियोजन गराएका हुन्। सांसद ‘अथक’ले बाँकेका तीनवटा स्थानीय तहलाई अक्सिजन सिलिण्डर खरिदका लागि ३० लाख रकम उपलब्ध  गराएका हुन्।

बाँके निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद अथकले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत कोहलपुर नगरपालिका, नरैनापुर र राप्तीसोनारी गाँउपालिकालाई अक्सिजन खरिदका लागि ३० लाख रकम उपलब्ध गराउन लागेका हुन्।

सांसद अथकका स्वकीय सचिव दिलिप सोनिका अनुसार कोहलपुर नगरपालिकालाई १५ लाख, नरैनापुर गाँउपालिकालाई १० लाख र राप्ती सोनारी गाँउपालिकालाई ५ लाख रकम विनियोजन गरीएको छ। स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत तत्काल अक्सिजन सिलिण्डर खरीदका लागि ३० लाख रकम छुट्याईएको सोनिले बताए।

संक्रमितहरुले समयमै अक्सिजन नपाउदा अकालमै ज्यान गुमाउन परिरहेको परिस्थितिमा अक्सिजनको सहज आपूर्तिका लागि बजेट विनियोजन गरिएको स्वकीय सचिव सोनिले बताए।

कोरोना संक्रमणको दोस्रो लहर भयावह रुपमा फैलिन थालेपछि बाँके जिल्लाभर वैशाख १३ देखि निषेधाज्ञा जारी छ।जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गरी नयाँ भेरीयन्ट सहितको कोरोना जिल्लाभरी तीब्र रुपमा फैलिएकोले त्यसको नियन्त्रणका लागि जिल्लाभरी निषेधाज्ञा जारी गरेको जनाएको छ।

55

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्