वर्तमान विश्व आधुनिक मात्र नभएर उत्तर आधुनिक सोचमा चल्न थालेको छ। उत्तर आधुनिक सोचले कुनै कुरालाई वा कुनै बुझाइ वा दृष्टिकोणलाई अन्तिम सत्य मान्दैन। वर्तमान विश्वमा अगाडि आएको यस उत्तर आधुनिक सोचले कुनै कुरालाई बहस गर्न थप सजिलो बनाएको छ। यस लेखमा उठाइएका सवालहरू पनि बहसका लागि मात्र हुन्।
विद्वानहरूका विचारमा दर्शन भनेको बुझाइ वा हेराइ हो, जब कुनै बुझाइ वा हेराइ व्यवहारमा परिणत हुन्छ, तब सभ्यताको जन्म हुन्छ। विश्वमा प्राचीन मानिएका यस्ता धेरै दर्शनहरू छन्। यस्ता प्राचीन दर्शनहरूमध्येको आफूलाई प्राचीन दर्शनका रूपमा व्याख्या गर्दै आउने अर्को एक दर्शन ‘किराँत दर्शन’ पनि हो। किराँत दर्शन किरातीहरुको दर्शन हो।
विश्वका विभिन्न भागमा छरिएर बसोबास गरेता पनि मूल रूपमा नेपालको पूर्वी भू-भागमा किरातहरूको बसोबास रहेको पाइन्छ र हिजो आज पनि यो क्षेत्र माझ किरात र पल्लो किरात नामले चिनिन्छ। किरातीहरुले किरात धर्मलाई अनुशरण गर्दछन्। किरात धर्मको मूल धार्मिक ग्रन्थ मुन्धुम हो, जुन किरातीहरुको सिंगो इतिहास हो। यहाँ किरातीहरुको सिंगो इतिहास बोकेको किरात मुन्धुम र किरातीहरुको बसोबास रहेको यस भूमिबीचमा के कस्तो ऐतिहासिक सम्बन्ध छ भन्नेबारे चर्चा गरिन्छ।
किरात परिचय किरात शब्द कुनै जात भूगोल रगत अनुहार वर्ण आकार वा समयको नाम होइन। किरात शब्दले सभ्यता संस्कृति जीवनपद्धति सोचाइ अवधारणा मूल्य-मान्यता र दर्शनलाई बुझाउँदछ। किरात शब्द एक समयमा विकसित भएको सभ्यता वा सोचाइको नाम हो, जीवनपद्धतिको नाम हो। आज जे-जति किराँती भनेर कहलिँदै आएका जाति वा समुदाय छन्, ती जाति वा समुदाय भनेका त्यो सभ्यता सोचाइ वा जीवनपद्धतिहरू विकास गर्दै र अनुशरण गर्दै आइरहेका समुदाय हुन्।
किरात सोचाइ वा किरात दर्शन एक प्राचीन दर्शन हो। यो दर्शन सभ्यता वा सोचाइलाई अनुशरण गर्दै आउने समुदाय वा जातिहरू पनि प्राचीन जाति हुन् भन्ने कुरा इतिहासकारहरूले पनि स्वीकारेका छन्। प्रसिद्ध किरात इतिहासकार इमानसिंह चेम्जोङले किरात शब्दको उत्पत्ति भूमध्यसागरीय क्षेत्रको मोआवाइट भाषाको किरियात् भन्ने शब्दबाट भएको हो। जसको अर्थ किल्ला वा सहर हुन्छ भनेर उल्लेख गरेका छन्। (Chemjong – The History and Culture of Kirat People)
त्यस्तै चेम्जोङले किरात साहित्यको इतिहासु नामक पुस्तक तथा Sir John Hammerton को Ancient History शीर्षक लेखमा प्राचीन वेविलोन र मेसोपोटामियाको सभ्यताहरूसित किरातहरूको सम्बन्ध थियो भन्ने कुरा पुष्टि गर्ने प्रयास गरेका छन्। यसबाट के अनुमान गर्न सकिन्छ भने मान्छेहरूले जंगगलबाट निस्केर भूमध्यसागरीय क्षेत्रमा प्रथम बस्ती बसाले। जहाँ उनीहरूले आफूले प्राप्त गरेका अनुभव अनुभूतिहरूलाई संगालेर प्रथम मानव सभ्यताको विकास गरेका थिए। त्यहीबाट नयाँ भूमिको खोजीमा निस्किएका एक समूह यात्राका अनेकौं अनुभूति संगालेर हिमालयको काखमा आई बस्ती बसाले। जहाँ उनीहरूले आफ्नो अनुभूतिका आधारमा किरात दर्शनको विकास गरे।
हिन्दु धर्मको प्राचीन ग्रन्थहरूमा पनि किरात शब्दको प्रशस्त मात्रामा उल्लेख भएको पाइन्छ। यसबाट पनि के स्पष्ट हुन्छ भने भारतीय उपमहादीपमा आर्यनहरुको प्रवेश हुनुभन्दा पूर्व यहाँ किरातहरुले आवाद गरेको थिए। नेपालकै इतिहासमा पनि काठमाडौं उपत्यकालाई केन्द्र बनाएर ३२ पुस्तासम्म शासन गरेको इतिहास पाइन्छ। अहिले पनि नेपालमा बसोबास गर्ने आर्य मूलका बाहेक सम्पूर्ण जनजातिहरू किरात हुन् भनेर विशिष्ट विद्वानहरूले औंल्याइरहेका छन्। तर, पनि किरात शब्द नेपालको पूर्वी भूभाग माझ किरात र पल्लो किरात तथा अधिक रूपमा त्यस क्षेत्रमा बसोबास गर्ने लिम्बू राई याख्खा र सुनुवारजस्ता जातिहरूले मात्र किरातका रूपमा स्वीकारेका छन्।
यसरी वर्तमान अवस्थामा लिम्बू राई याख्खा र सुनुवारहरूले मात्र हामी किराँती हौं। नेपालमा ३२ पुस्तासम्म शासन गर्ने ती शासकहरू हाम्रा पुर्खा हुन् र विश्वका प्राचीन सभ्यताहरूसँग हाम्रो सम्बन्ध छ भनेर स्वीकार्नू वा दाबी गर्नुमा उनीहरूका इतिहासको अलावा उनीहरूको बुझाइ वा दार्शनिक पक्ष पनि जिम्मेवार छ। अझ नेपालको पूर्वी भूभागलाई किरात प्रदेश वा किरात क्षेत्रका रूपमा परिचित हुनका मुख्य कारण उनीहरूको हजारौं वर्षको भोगाइ सोचाइ जीवन र जगतलाई हेर्ने किराँतीपनको दृष्टिकोण मुन्धुमले त्यस भूमिसँग गाँसिदिएको सम्बन्ध पनि हो।
किरात मुन्धुम पुर्खाहरूको हजारौं वर्षको भोगाइ सोचाइ अवधारणा मूल्य मान्यताहरूले एउटा सभ्यताको विकास गर्यो, जीवनलाई हेर्ने प्रकृतिलाई बुझ्ने समाजलाई नियमित बनाउने नैतिक नियम कानुन बन्यो। त्यो नियम कानून तथा दर्शनले उनीहरूको जीवनमा एउटा आत्मविश्वास वा आध्यात्मिकताको विकास गर्यो र त्यो आध्यात्मिकताबाट नै किरात धर्मको जन्म भयो।
किरात धर्म इसाई, इस्लाम वा बौद्ध धर्मजस्ता कुनै एक व्यक्तिद्वारा घोषित धर्म नभएर पुर्खाहरूको हजारौं वर्षको भोगाइले जीवन र जगतप्रतिको बुझाइ वा हेराइको नाम हो र यो किरात धर्मको पवित्र धार्मिक ग्रन्थ मुन्धुम हो। मुन्धुम त्यही हजारौं वर्षको पुर्खाहरूको हजारौं वर्षको भोगाइ वा जीवन र जगतप्रतिको बुझाइले सिर्जना गरेका नियमहरूको संग्रह हो। यसरी हेर्दा किरात मुन्धुम एउटा सिंगै किरात सभ्यताको इतिहास हो।
किरात मुन्धुममा किरात पुर्खाहरूको जीवन भोगाइका अनुभूतिहरू संकलित छन्। सृष्टिको नियम अनुसार मान्छेको उत्पत्ति भएपछि मानव जीवनलाई कसरी सुन्दर र व्यवस्थित बनाउने भनेर पुर्खाहरूको जीवन भोगाइका कथाका आधारमा मुन्धुममा नियमहरू लेखिएका छन्। किरात मुन्धुममा सिंगै सृष्टिको वर्णन पाइन्छ। मुन्धुममा पृथ्वीको उत्पत्ति त्यसपछि क्रमशः वनस्पति जीवजन्तु तथा मानिसको सृष्टिका कथाहरू र मानव सृष्टि भएपछि उनीहरूको जीवनलाई कसरी सामाजिक व्यवस्थित व्यवहारिक र व्यावसायिक बनाउने भन्ने कुराहरू मुन्धुमका कथाहरूमा वर्णित छन्। मुन्धुमका यी कथाहरू पुर्खाका जीवन भोगाइमा आधारित छन्। त्यस्ता कथा कहानीहरू कुनै काल्पनिक संसारमा आधारित नभई यही धरतीका खोलानाला डाँडापाखा गुफा पोखरी तथा किरातीहरुले मान्दै आएका ऐतिहासिक स्थलहरूमा आधारित छन्।
किरात मुन्धुम र प्रकृति भूमिको सम्बन्ध किरात मुन्धुम किरातीहरुको हेराइ हो, किरातीहरुको बुझाइ हो, किरातीहरुको दर्शन हो। किरात दर्शनले मान्छेलाई केन्द्रमा उभ्याएको हुन्छ। किरात मुन्धुमको व्याख्याअनुसार सृष्टिको नियम अनुरूप प्रकृतिको हरेक वनस्पति तथा जीव जन्तुहरूको जीवन चक्रलाई युगौंयुगसम्म निरन्तरता दिनका लागि पछिल्लो सर्वश्रेष्ठ प्राणीका रूपमा मान्छेको सृष्टि भएको मान्दछ। आजको वैज्ञानिक खोजले पनि अन्य वनस्पति तथा प्राणीहरूको सृष्टि पश्चातमात्र मानव सृष्टि भएको स्वीकार गरेको छ।
किरात मुन्धुमको व्याख्याअनुसार प्रकृतिमा सबै वनस्पति तथा जीव जन्तुहरूको जन्म, विकास भइसक्दा पनि प्रकृतिको नियम जीवनचक्र (Life Cycle)लाई नियमित बनाउने तथा प्रकृतिको महत्त्वलाई बुझेर प्रकृतिको संरक्षण गर्ने चेतनशील प्राणीको अभाव सिर्जना भएकोले सृष्टिको पछिल्लो तर सर्वश्रेष्ठ प्राणीका रूपमा मान्छेको सृष्टि भएको कुरा उल्लेख छ। मान्छेको सृष्टि नभई वनस्पति तथा जीवजन्तुको मात्र सृष्टि तथा विकास भएको अवस्थामा प्रकृतिलाई बुझ्ने प्रकृतिको संरक्षण संवर्द्धन गर्ने कार्यहरू हुन नसकेकाले त्यहाँ चेतनशील प्राणीको अभाव भएको थियो र त्यो अभाव मान्छेको सृष्टिपश्चात् पूरा भएको हो भनेर किरात मुन्धुमले व्याख्या गर्दछ। त्यसैले किरात दर्शनले मान्छेलाई प्रकृतिको सर्वश्रेष्ठ वस्तुका रूपमा मान्दछ।
आजको २१ औँ शताब्दीको वैज्ञानिक युगमा आइपुग्दा पनि किरात दर्शनलाई अनुसरण गर्ने तथा किरात मुन्धुमलाई आफ्नो पवित्र ग्रन्थ मान्ने किरातीहरु आफू रहेबसेका ठाउँहरूमा रहेका प्रत्येक खोला नाला पहाड गुफा पोखरी हिमाल आदिलाई पुज्ने गर्दछन्। यसरी प्रकृतिलाई सर्वोत्कृष्ट मान्नु वा प्रकृतिको पूजाआजा गर्नुका पछाडि के कारणहरू छन् भन्ने बारेमा छुट्टै बहस गर्न उपयुक्त हुनेछ। तर, यहाँ किरातीहरु प्रकृति पूजक भएर प्रस्तुत हुनुले किरातीहरु आफू रहेबसेका क्षेत्र वा त्यहाँको माटो खोलानाला झरना पहाड पोखरी गुफा तथा हिमाल आदिसँग एक प्रकारको अन्योन्याश्रित सम्बन्ध स्थापित गर्न पुगेका छन्। जुन सम्बन्ध स्थापित गर्न उनीहरूलाई हजारौं वर्ष लागेको थियो।
अझ भनौं त्यस ठाउँलाई आवाद गर्न त्यहाँको हावापानीसँग घुलमिल वा परिचित हुन प्रत्येक मौसम अनुसार व्यवसाय गर्न विभिन्न प्राकृतिक प्रकोप तथा संकटहरुबाट बच्न त्यस ठाउँहरूमा उनीहरूले कठोर संघर्ष गर्नुपर्यो। त्यो हजारौं वर्षको संघर्षले उनीहरूलाई त्यस भूमिको विशेषता त्यहाँको परिवेश खोलानाला झरना पोखरी डाँडाकाँडाको महत्त्व बुझ्न सफल भए। आज जुन क्षेत्रमा किरात दर्शनलाई अनुशरण गर्ने किरातीहरुको बसोबास रहेको छ त्यहाँका खोलानाला गुफा पोखरी डाँडाकाँडा तथा हिमालहरूसँगको हजारौं वर्षको सम्बन्धले ती ठाउँ खोलानाला र पोखरीहरूप्रति उनीहरूले विशेष आस्था वा विश्वास सिर्जना गरेका छन्।
किरात भूमि किरात भूमिका बारेमा चर्चा गर्दा यहाँ किरातीहरुको कुनै स्वायत्त क्षेत्र त्भचचष्तयचथ को बारेमा बहस गर्न खोजिएको होइन। यहाँ चर्चा गर्न खोजिएको विषय भनेको नेपालको पूर्वी भू-भाग, जहाँ आफूलाई किराँती भनेर चिनाउन चाहने जातिहरूको बसोबास छ जुन क्षेत्रलाई हिजोसम्म माझ किरात र पल्लो किरातका नामले सम्बोधन गरिन्थ्यो। उक्त क्षेत्र किरातीहरुको क्षेत्रका रूपमा परिचित हुनका पछाडि के कारणहरू छन्, अर्थात् सिंगो किरात सभ्यताको इतिहास बोकेको किरात धर्मको पवित्र ग्रन्थ मुन्धुमले यहाँको माटो यहाँको भूमि खोलानाला झरना डाँडा गुफा आदि ठाउँहरूसँग कस्तो सम्बन्ध स्थापित गरेको चर्चा गरिएको छ।
वास्तवमा किरातीहरु र किरात क्षेत्रका बारेमा चर्चा गर्नुपर्दा उनीहरूको इतिहासलाई थोरै भए पनि कोट्याएर हेर्नुपर्ने हुन्छ। फेरि किरात इतिहासका बारेमा चर्चा गर्दा किरातीहरुको सिंगो सभ्यताको इतिहास बोकेको किरात मुन्धुमलाई हेरेनौं भने सायद त्यो इतिहास पनि अधुरै रहन सक्छ। किनकि किरातीहरुको मुन्धुम एक किरात सभ्यताको इतिहास हो। मुन्धुम पुर्खाहरूको अनुभव एवं भोगाइद्वारा निचोड निकालिएको दर्शन हो। पुर्खाहरूले किरात मुन्धुम तयार गर्ने शिलशीलामा अर्थात् हजारौँ वर्षको जीवन भोगाइहरुमा यहाँका पहाड खोलानाला गुफा पोखरी हिमाल आदि ठाउँहरूसँग कसरी साक्षात्कार गर्दै आए, प्रत्येक स्थानहरूले उनीहरूको जीवनमा कस्तो प्रभाव वा अनुभूतिहरू प्रदान गर्न सक्यो, त्यहीअनुसार उक्त स्थानहरूलाई उनीहरूले बुझ्दै जान थाले।
ती स्थानहरूप्रतिको उनीहरूको बुझाइले उनीहरूमा विश्वास र साहसको सिर्जना गर्यो। आज पनि यहाँका किरातीहरु गर्वका साथ भन्ने गर्दछन् कि ‘हामी खाम्बोङ्बासा लुङ्बोङ्बासा वा धर्ती पुत्रहरू हौं। हामी यही धर्तीमा विकसित भएका हौं। यसरी यही धर्तीसँग खेल्दै, संघर्ष गर्दै हामीले जानेका बुझेका ज्ञानहरू नै हाम्रो दर्शन हो।’
कतिपयले किरातीहरुको यो भनाइलाई उनीहरूको खोक्रो आत्मविश्वासको अभिव्यक्ति मात्र भनेर व्याख्या गरेका छन्। उनीहरूको यस भनाइलाई पुष्टि गर्ने कुनै आधार नभएको तर्कहरू प्रस्तुत गरेका छन्। तर, किरात मुन्धुमलाई हेर्ने हो भने उनीहरूको किरातहरूको त्यस क्षेत्रको माटोसँग त्यहाँको भूमिसँगको सम्बन्धले स्थापित गरेको अभिव्यक्ति हो।
वास्तवमा किरात मुन्धुमलाई हेर्ने हो भने त्यही भूमिमा उनीहरूको किरात बुझाइहरू विकसित भएका छन्। त्यही माटो भूमिसँगको सम्बन्धले किरात दृष्टिकोणहरू किरात दर्शनहरू निर्माण भएका छन्। यस क्षेत्रमा भूमिमा उनीहरूको बुझाइअनुसार आस्थाका रूपमा विकसित भएका किरात मुन्धुमसँग सम्बन्धित अनेकौं ऐतिहासिक स्थलहरू छन्। जसका आधारमा हेर्ने हो भने यो भूमि किरात भूमि सिंगै किरात दर्शनको उत्पत्ति भूमि पनि हो।
किरात ऐतिहासिक स्थलहरू प्रत्येक जाति समुदाय वा धर्मावलम्बीहरूका लागि संसारका कुनै न कुनै ठाउँहरू विशेष महत्त्वका रूपमा रहेका हुन्छन्। त्यस्ता स्थानहरूसँग उनीहरूको विशेष आस्था हुने गर्दछ। किरातीहरुका पनि यस्ता विशेष आस्थाका रूपमा रहेका किरात मुन्धुमसँग सम्बन्धित धेरै स्थानहरू रहेका छन्। त्यस्ता किरात मुन्धुमसँग सम्बन्धित भएर रहेका केही स्थानहरूको बारेमा चर्चा गरिएको छ।
मेन्छ्यायेम- मेन्छ्यायेम् एउटा पहाडको नाम हो। भौगोलिक रूपमा यो डाँडा मिल्के पर्वत। यस श्रृङ्खलाअन्तर्गत ताप्लेजुङ, तेह्रथुम र संखुवासभाको सीमानाको रूपमा रहेको छ। किरात मुन्धुममा यो डाँडाको प्रशस्त मात्रामा उल्लेख भएको पाइन्छ। गुफा पोखरीलाई आफ्नो काखमा लिएर बसेको यो डाँडा पर्यटकीय दृष्टिकोणले अति सुन्दर ठाउँ मानिन्छ भने किरात मुन्धुमले यसलाई बैशालु अवस्थलको रूपमा व्याख्या गरेको छ। मुन्धुममा वर्णन भएअनुसार त्यो बेला मेन्छ्यायेम् डाँडामा तरुनी-तन्नेरीहरू भेला भएर नाच्ने गाउने गर्दथे। तन्नेरीहरूले छेलो हान्ने खेलको होडबाजी गर्दथे भनेर उल्लेख गरेको छ।
स्वच्छ वातावरण र चारैतिरका सुन्दर दृश्यहरू अवलोकन गर्न र ती भौगोलिक दृष्यहरुसँग रम्न सकिने खालको भौगोलिक वातावरणले अत्यन्त सुन्दर यो ठाउँमा पुग्दा जो-कोही पनि प्रफुल्लित आनन्दित नभइरहन सक्दैनन्। यसरी प्राकृतिक दृश्यहरू अवलोकन गरेर पनि रम्न, रमाउन सकिने सुन्दर ठाउँ भएको हुनाले किरात पुर्खाहरूले यो ठाउँलाई तरुनी तन्नेरीहरू भेला भएर नाच्ने, गाउने उपयुक्त ठाउँको रूपमा चुनेको हुनुपर्दछ।
फक्ताङ्लुङ्- फक्ताङलुङ कुम्भकर्णलाई किरातीहरुको तीर्थस्थलका रूपमा मानिन्छ। संसारको तेस्रो अग्लो मानिने कञ्चनजंघा हिमशृङ्खलामा पर्ने यो हिमाललाई किरातीहरुले देवताहरू बस्ने स्थानका रूपमा मान्ने गर्दछन्। संसारका सबै हिमालहरू आरोहण भइसक्दा पनि माङको निवास भएको कारणले फक्ताङलुङको आरोहण गर्न नसकिने किरातीहरुको विश्वास रहेको छ।
सेञ्चेइ फक्ताङलुङ पारुङफुक्कु – मारुङ्फुक्कु पारुङ्तेम्बे, मारुङतेम्बे इत्यादि नामले मुन्धुममा वर्णित हुने यी सबै स्थानहरू यस हिमालमा पर्दछन्। फक्ताङलुङ हिमालको फेदीमा पारुङफुक्कु मारुङफुक्कु तथा पारुङतेम्बे-मारुङतेम्बेसम्म पुगेर किरातीहरुले पूजाआजा गर्ने गर्दछन्। फक्ताङलुङ पर्यटकीय दृष्टिकोणले अति सुन्दर भए पनि हिउँदको याममा पारुङफुक्कु मारुङफुक्कु तथा पारुङतेम्बे मारुङतेम्बे पनि पुरै हिउँले ढाकिने हुनाले विशेष गरी असार साउनमा मात्र त्यहाँ पूजा गर्न जाने गर्दछन्।
तागेरानिङ्वाभू याङदाङ- तागेरा निङवाभूयाङदाङ गुफा ताप्लेजुङ जिल्लाको लेलेपमा अवस्थित छ। किरातीहरुले निराकार निराजन अदृष्य सर्वशक्तिमान् देवताका रूपमा तागेरा निङवाभूमाङलाई मान्ने गर्दछन्। किरात मुन्धुमका अनुसार तिनै सर्वशक्तिमान् तागेरा निङवाभूमाङ विभिन्न क्षेत्रको यात्राका क्रममा यस तागेरा निङवाभूयाङदाङमा बस्ने गरेको उल्लेख छ।
कुम्मायक कुस्सायकः- कुम्मायक कुस्सायक किरातीहरुको ऐतिहासिक स्थल हो। किरातीहरुले कुल देवताका रूपमा युमामाङलाई मान्ने गर्दछन्। प्रत्येक किरातीहरुले युमा माङको पूजा आरधना गर्दछन्। किरातीहरुले जे कर्म गर्दा पनि युमा माङको आरधना गर्ने चलन छ। किरातीहरुले युमा माङलाई निराकार निराजन अदृष्य सर्वशक्तिमान् देवताका रूपमा पुज्ने चलन रहेको छ। यासकस्थित यस कुम्मायक कुस्सायकमा तिनै निराकार निराजन अदृष्य सर्वशक्तिमान् देवता युमामाङ मान्छेमा प्रकट भएर बोलेको हुनाले यस स्थानलाई किरातीहरुले पवित्र रूपमा मान्ने गर्दछन्। यो कुम्मायक कुस्सायकमा आज प्रत्येक वर्ष याक्वा सेवा र चासोक सेवामा पूजा आरधना गर्ने गर्दछन्। त्यसै गरी प्रत्येक तीन वर्षमा टाढा टाढाबाट किरातीहरु पूजा आरधना गर्न यस कुम्मायक-कुस्सायकमा आउने गर्दछन्।
विगतमा लामो समयको विषम परिस्थितिलाई पार गरेर आज किरात समाज आफ्नो अस्तित्वका लागि सामाजिक धार्मिक राजनीतिक सांस्कृतिक तथा ऐतिहासिक आदि विभिन्न कोणबाट अगाडि बढिरहेको छ। यो अत्यन्त खुसीको कुरा हो। यसरी किरात समाजलाई अस्तित्वका लागि अगाडि बढ्नलाई उनीहरूको विभिन्न ऐतिहासिक आधारहरूको महत्त्वपूर्ण भूमिका हुने गर्दछ।
किरातहरू ऐतिहासिक रूपमा जहाँबाट जसरी आएका इतिहासले व्याख्या गरेता पनि उनीहरूको सभ्यताको इतिहास भनेको किरात मुन्धुम हो। उनीहरूलाई किराँती बनाएको त्यो किरात दर्शनले हो। किराँती भनेर चिनाएको नै किरात सभ्यताले हो। उनीहरूको त्यो दर्शन, त्यो सभ्यताको इतिहास भनेको नै किरात मुन्धुम हो। आजसम्म पनि किरातीहरुले आफूलाई किराँती भनेर चिनाएका छन् भने किरात मुन्धुमले नै हो।
किरात मुन्धुमलाई हेर्ने हो भने उनीहरूले यही भूमिमा किरात दर्शनको विकास गरेको स्पष्ट हुन्छ। किरात पुर्खाहरूले यही भूमिमा हजारौं वर्षको जीवन भोगाइले विकास गरेको सोचाइका आधारमा किरात दर्शनको विकास भएको हो। किरात मुन्धुममा उल्लेखित भूमिहरूका आधारमा किरात ऐतिहासिक स्थलहरूको अध्ययन गर्ने हो भने यो कुरा स्पष्ट हुन्छ। त्यो किरात दर्शनको समष्टि रूप नै किरात मुन्धुम हो।
(मचिन्द्र लिम्बू, विकीपिडियाबाट सम्पादन गरिएको सामग्री।)