के धर्म र विज्ञानको मिलनबिन्दु छ ?

faith_science
लोकपाटी न्यूज

संसारमा दुई किसिमका दार्शनिक विचारका व्यक्तिहरू हुन्छन्। एक थरीले अतीतको कुरा गर्छन् त अर्को पक्षले भविष्यको कुरा गर्ने गर्छन्। इतिहास खोतल्दा समकालीन समयमा ‘पागल’को संज्ञा दिइएका व्यक्ति नै पछि गएर ठूलो आध्यात्मिक व्यक्तित्व बन्ने गरेको देख्न सकिन्छ।

विगतको बारेमा कुरा गर्ने इतिहासकारहरू, पुरातत्वविद्हरू आदि हुन् भने भविष्यको बारेमा कुरा गर्नेहरू भविष्यवक्ता, काल्पनिक र कविहरू हुन्। सामान्यतया धर्म भन्ने बित्तिकै मान्छेले हिन्दु, बौद्ध, इस्लाम र इसाई जस्ता साम्प्रदायिक धार्मिक संस्थालाई मान्ने गर्छन्।

अर्कोतर्फ विज्ञान भन्ने बित्तिकै प्रविधिको विकास, विलासिताका बस्तुहरूको उत्पादन आदिलाई मान्ने गरिन्छ। तर यी दुवै परिभाषाले गहन रूपमा धर्म र विज्ञानलाई परिभाषित गर्ने गरेको पाइँदैन।

सामान्यतया धर्म भनेको मान्छेको कर्तव्य वा दायित्व हो भने विज्ञान भनेको सिक्ने सिकाइ हो। आफ्नो सत् कर्मबाट नै मान्छे विज्ञानमा पारंगत हुन्छ। त्यसैले वास्तविक अर्थलाई परिभाषित गर्ने हो भने त धर्मविना विज्ञान अधुरो हुन्छ भने विज्ञान विना धर्म खोक्रो हुन्छ।

सामान्यतया साम्प्रदायिक धर्मलाई नै धर्म मान्ने र अहिलेको नयाँ आविष्कारको भौतिक विज्ञानलाई नै विज्ञान मान्ने हो भने चाहिँ धर्म र विज्ञानको बिचमा विपरीत किसिमको मत पाइन्छ। समाजमा धर्म मान्ने र नमान्ने दुई किसिमका व्यक्तिहरू हुन्छन्। धर्म नमान्नेले विज्ञानलाई मान्छन् भने धर्म मान्नेले धर्म र विज्ञान दुवैलाई मान्छन्। तर त्यो विज्ञान धर्मले स्वीकारेको हुनुपर्छ।

आखिर धर्म र विज्ञानबीचको मिलनबिन्दु के होला ? कि त धर्म र विज्ञानबीच कतै पनि तादात्म्य नै हुँदैन होला त ? यस विषयमा केही तथ्यहरू खोज्नु उपयुक्त हुन सक्छ।

प्रसिद्ध वैज्ञानिक ब्वायलले एक सिद्धान्त प्रतिपादन गरे। जसमा कुनै पनि बस्तुमा दबाब बढाउने हो भने त्यसको आयतन बढ्छ भन्ने कुरा पत्ता लगाइएको थियो। अर्थात् आयतन र दबाब दुवै एक अर्काका विपरीत अनुपातमा हुन्छन्। पूरा हावा भरेर एउटा बेलुनलाई निश्चित आयतनसम्म फुलाउन सकिन्छ र फेरि त्यसलाई हातले दबाब दिएर आफू अनुकूलको आकारमा यसलाई ढाल्न सकिन्छ।

यसरी नै धर्म र विज्ञान एक अर्काका विपरीत अनुपातमा देखाउने गरिन्छ। अर्थात् जहाँ धर्म हुन्छ त्यहाँ विज्ञानको आवश्यकता कम हुने गर्छ र जहाँ विज्ञान आउँछ त्यहाँ धर्मको कुरा कम हुन्छ। तर हामीले बुझेजस्तै यी दुई विषय परस्पर विपरीत अनुपाती विषय हुन् त ?

तार्किक दृष्टिले हेर्ने हो भने धर्म र विज्ञान दुवैका बिचमा अन्योन्याश्रित सम्बन्ध पनि रहेको पाइन्छ। स्त्रीको आफ्नो प्रकृति हुन्छ, पुरुषको आफ्नो प्रकृति हुन्छ। दुवैको इच्छाहरू आ-आफ्नो किसिमको हुन्छ। किन्तु एक अर्काको विना दुवै अपूर्ण हुन्छ। जीवनको आनन्द त्यति बेला आउँछ कि जब धर्म र विज्ञानलाई हामीले एकसाथ लिएर अघि बढ्न सक्छौँ। विज्ञान र धर्म दुवैको मुख्य उद्देश्य भनेको मान्छेको चरम खुसी र उसको हितको रक्षा गर्नु हो।

अहिलेको अवस्थालाई हेर्ने हो भने हामीले विज्ञान भनेर बुझ्ने भौतिक विज्ञान मान्छेको भौतिक सुखको लागि सहायक बन्ने गरेको छ। आधुनिक प्रविधिले मान्छेको आधाभन्दा धेरै काम सहजै फत्ते गर्न सक्ने प्रविधि आइसकेको छ। तर आध्यात्मिक खुसी ? आध्यात्मिक खुसीको लागि अझै पनि धर्मको विकल्प आएको छैन।

पूर्वीय दर्शनले मान्छेमा त्रिविध दुःखको बारेमा उल्लेख गरेको छ। आधिदैविक, आधिभौतिक र आध्यात्मिक दुःखमध्ये विज्ञान आधिभौतिक दुःखको मुक्तिका लागि जिम्मेवार छ भने धर्म आध्यात्मिक दुःख निवारणको लागि। विज्ञानले केवल मान्छेको दैनिकीलाई सहज बनाउने गर्छ। तर यसले मान्छेको सन्तुष्टि र स्थायी खुसी ल्याउन सक्दैन। त्यसैले धर्म र विज्ञान एक अर्कामा फरक हुँदाहुँदै पनि यी दुईको मिलनबिन्दु मान्छेको खुसीमा आएर अड्किने गर्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्