जसपा अध्यक्ष महन्थ ठाकुर बालुवाटारमा

Mahanta-Thakur
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न ठाकुर त्यहाँ गएका हुन्। स्रोतका अनुसार अहिले ओली र ठाकुरबीच पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भइरहेको छ।

विपक्षी गठबन्धनले बहुमतको संयुक्त सरकार बनाउन साथ खोजिरहेका बेला ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा प्रस्टै खुलेका छन्। सोमबार राति ठाकुरले निकालेको वक्तव्यले राजनीतिमा नयाँ तरंग ल्याएको छ। उनले अहिलेको अवस्थामा सरकार बनाउने गतिविधिमा संलग्न हुनु मधेशको भावनाविरोधी काम भएको समेत उल्लेख गरेका छन्।

ठाकुरले जसपा सरकार केन्द्रित नभई मुद्दा केन्द्रित रहेको समेत बताएका छन्। मुद्दा सम्बोधन नै जसपा नेपालको मूल उद्देश्य भएकाले अहिले वैकल्पिक सरकारमा सहभागी हुनुभनेको मधेश आन्दोलनको मर्म र भावना प्रतिकूल भएको उनको ठहर छ। उनले सरकारमा सहभागी हुँदा झन् अस्थिरता हुने र एजेण्डा सम्बोधनको कार्य अनिश्चिततातर्फ धकेलिने स्पष्ट पारेका छन्।

तर पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराईलगायत कांग्रेस-माओवादी गठबन्धनसँग जोडिन पुगेका छन्। उनीहरुले ओली नेतृत्वको वर्तमान सरकारलाई बिदा गरेर वैकल्पिक सरकार गठनमा खुलेर लागेको छन्। राष्ट्रपतिबाट वैशाख ३० गते राति ९ बजेसम्मको समयसी राखेर नयाँ सरकार गठनका लागि आह्वान भएको छ।

तर जसपा भित्रको विवादका कारण विपक्षी दललाई बहुमत पुर्‍याउन कठिन देखिएको छ। सत्ता समीकरणको विवादले जसपा गम्भीर मोडमा पुगेको छ। यद्यपि बहुमतको संयुक्त सरकार बनाउन विपक्षी दलले प्रयास जारी राखेका छन्।