जनमोर्चाले गर्‍यो सांसद थापालाई कारबाही

krishna_thapa
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई गण्डकी प्रदेशसभा संसदीय दलको नेताबाट हटाएको छ। बुधबार राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले थापालाई संसदीय दलको नेताबाट हटाइएको जानकारी प्रदेशसभा सचिवालयमा दर्ता गरेकी छन्।

जनमोचार्का महासचिव मनोज भट्टले थापालाई संसदीय दलको नेताबाट हटाइएको जानकारी दिए। थापाले पार्टीको निर्देशन नमानेकाले कारबाही गरिएको र यस विषयमा संसद सचिवालयलाई जानकारी दिएको उनले जानकारी दिए। सांसद कृष्ण थापालाई संसदीय दलको नेताबाट कारबाही गरिएपनि सांसद पदबाट भने निलम्बन गरिएको छैन।

पार्टीका आफ्नै प्रक्रिया हुने भएकोले यसपछि के कारबाही हुन्छ भन्ने कुरा अहिले नै बताउन नमिल्ने उनले बताए। प्रदेशसभामा तीन सदस्य रहेको राजमोका पियारी थापा र खीमविक्रम शाहीले विपक्षी कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी गठबन्धनले मुख्यमन्त्रीको रुपमा अगाडि सारिएका कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको पक्षमा हस्ताक्षर गरिसकेका छन्।

राजमोले थप कारबाहीको बारेमा नबताएपनि कृष्ण थापालाई निलम्बनको प्रक्रिया अगाडि बढाएको र संसद सदस्यबाट नै हटाउने आफूहरुलाई आस्वासन दिएको गठबन्धन दलका एक नेताले नयाँपत्रिकालाई बताएका छन्। त्यसो गर्दा ६० सदस्यीय गण्डकी प्रदेशसभामा ५९ सांसद हुने र ३० सांसदको साथ पाउँदा विपक्षी गठबन्धनलाई बहुमत पुग्ने ति नेताको दाबी छ।