– आनन्द शर्मा
रेल किनिस्
गुड्नै पाएन
जहाज किनिस्
उड्न सकेन !
तर हामीलाई अस्पतालमा बेड चाहिएको छ ।
धरहराको टुप्पोमा सुन लगाइस्
सम्पन्न नहुँदै उद्घघाटन भयो
त्यो सुनभन्दा
हामिलाई श्वास फेर्ने
अक्सिजन चाहिएको छ ।
पशुपतिमा जलहरी लगाइस्
सुनको लेदोको सट्टा
हामीलाई लिक्विड अक्सिजन
चाहिएको छ ।
झापा अनि देशभरि
प्राकृतिक डाँडाको टुप्पोमा
भ्यु टावर बनाइस्।
तर हामीलाई अस्पताल चाहिएको छ ।
नातागोता र कमिसनखोरलाई
राजनीतिक नियुक्ति बाँडिस्,
तर हामीलाई स्वास्थ्यकर्मी चाहिएको छ ।
नेता र जनप्रतिनिधिका लागि हजाराैं
गाडी किनिस्।
तर हामीलाई एम्वुलेन्स चाहिएको छ ।
नेताका लागि सिङ्गापुर, भारत, अमेरिका पुगिस्,
तर हामीलाई गाउँ जाने नेता चाहिएको छ ।
तँ काममा सुतिस् तर
उद्घघाटन गर्न केही बाँकी राखिनस्
निर्माण चाहिँ केही भएन
अब बाँकी प्रत्येक नेपालीको
चिहान पनि उद्घघाटन गर !
नचाहिने ठाउँमा दाताको सहायता,
ऋण र शर्त स्वीकार गरिस्,
तर कोरोनाका लागि गफै गफ मात्र चुटिस्।
तँ अरु सबै मिलेमतोमा खरिद र बिक्री गर्न सक्छस्,
देशै ठेक्कामा दिन सक्छस्।
तर स्वास्थ्य सामग्री खरिद
र आपूर्ति गर्न सक्दैनस् ।
सरकार ! हाम्रो श्वास बन्द हुनुअघि
तँलाई हार्दिक श्रद्धाञ्जली !
सरकार ! हामी चिहानमा पुग्नुअघि
तँलाई हार्दिक श्रद्धाञ्जली !!
सरकार ! हामी धुँवामा उडनुअघि
तँलाई हार्दिक श्रद्धाञ्जली !!!
सरकार ! हाम्रो लाशको धुँवा
बादलमा हराउनुअघि
तँलाई हार्दिक श्रद्धाञ्जली !!!!