मानवीय चेतनाले संसारमा ल्याएका परिवर्तन र विकासमा हामी खुलेर बहस गर्दा मानिस स्वतन्त्र र निर्भीकता साथ आफ्नो विवेकले निर्णय गर्छ। खुला आकाशमा चरा उढेझै विश्वमा हामी आफ्ना नीति, एवं दृष्टिकोण राख्न खुला हुनुपर्दछ। एउटा सानो घेरामा मात्र सीमित नभई मानिसले संसारका हरेक ठाउँमा विना अवरोध बाच्न पाउनुपर्दछ।
एउटा विश्व प्रख्यात भनाइ छ नि, तपाईंलाई कसैले अन्याय र दमन गरिरहेको छ भने त्यसको विरोध र प्रतिरोध गर्न तपाईंको धर्म हो। तर तपाईँ अन्याय र दमनविरुद्ध बोल्नु हुन्न भने तपाईंलाई अन्याय र दमन ठिक छ। जसरी पशुलाई नाम्लोले बाँधेर एउटा सानो घेरामा राखिन्छ। हामी त्यस्तै सानो घेराको मानसिकता लिएर अगाडी बढ्ने कि हाम्रो चेतनामा सधैँ दमन, शोषण र कुसंस्कारविरुद्ध बुलन्द आवाज उठाउने र विद्रोहको निम्ति तयार रहने ? यो एउटा महत्त्वपूर्ण प्रश्न हो।
स्वार्थ प्रेरित अवसरवादमा लाग्नेहरूको कुनै आफ्नो भिजन हुँदैन। उनीहरू अवसर तथा व्यक्तिगत स्वार्थ सिद्धिमा लागिरहेका हुन्छन्। तर यहाँ व्यक्तिगत स्वार्थभन्दा राष्ट्रिय स्वार्थलाई माथि राख्ने देशभत्तहरुले सधैँ गलत प्रवृत्तिविरुद्ध लडिरहन्छन्। नेपालको सन्दर्भमा हेर्दा आज कु-राजनैतिक अभ्यास भइरहेको छ। लोकतन्त्रमा सबैभन्दा माथि जनता हुन्छन्। तर यहाँ ठिक उल्टो छ। कुर्ची, पद र पैसाका लागि जनतालाई दास बनाउने काम भएको छ। भ्रष्ट्राचारमा नयाँ रेकर्ड राख्ने होड चलेको छ।
देश विकास र परिवर्तन गर्न कुनै वादले असर गर्दैन। मात्र शासन गर्ने शासकको दूर दृष्टि, भिजन र राष्ट्रप्रति बफादार हुन आवश्यक छ। साथै अनुशासन, पारदर्शिता र जबाफदेहिता बने पुग्छ। विश्वका शासन मोडेलहरूको अध्ययन गर्दा राजतन्त्रात्मक, प्रजातान्त्रिक, गणतन्त्रात्मक वा एकात्मक शासन प्रणाली भएका विश्वका अनेक देशहरूले आफूलाई सबल बनाएका पाउँछौं। तर हामी आपसी खिचातानी र राजनैतिक स्वार्थका लागि गुटगत मानसिकतामा विभाजित छौं। अनि हाम्रा नागरिक गरिबी, भोकमरी र अभावसँग लडिरहेका छन्।
नेपालमा केवल राजनैतिक नारा, राजनैतिक प्रणाली र चेतनाको चर्चा धेरै हुन्छ। तर, जनताको आधारभूत जिवनस्थिरमा परिवर्तनका लागि काम गर्ने नेतृत्व छैन। नेता छान्ने, प्रधानमन्त्री वा मन्त्री फेर्ने कार्यले जनताका समस्याको समाधान दिँदैन। गरिबको घरमा दियो जलाउनु छ भने हरेक सचेत नागरिकले राष्ट्र विकासमा आ-आफ्नो क्षेत्रबाट योगदान गर्नुहोस्। गलत प्रवृत्ति, व्यवहार र कुसंस्कारविरुद्ध आवाज बुलन्द बनाऔं। व्यक्तिगत गुटगत र निजी स्वार्थको लागि आफू अरूबाट प्रयोग भइरहने साधन नबनौं। राष्ट्रको स्वार्थ पुरा गर्न सबैले आ-आफ्नो ठाउँबाट विद्रोहको शंख बजाऔं। कुसंस्कार र कुराजनितीविरुद्ध विद्रोह गरौं।