नेपाली काँग्रेस पनि फुट्न सक्छ : विष्णु रिजाल

Bishnu_Rijal
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वास मल लिन असफल भएपछि विपक्षी दलले नयाँ सरकार गठनको लागि बहुमत पुर्‍याउने प्रयास जारी राखेका छन्। काँग्रेस, माओवादी केन्द्र र जसपा गरी तीन दलको गठबन्धनले काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार बनाउन प्रयास गरिरहेका छन्। तर, जसपाको आन्तरिक विवादका कारण देउवालाई सरकार गठन गर्न बहुमत पुर्‍याउन कठिन देखिएको छ।

जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षले जसपा अहिलेको अवस्थामा सरकारमा सहभागी नहुने जनाएको छ। तर देउवालाई सरकार बनाउन जसपा पुरैको साथ चाहिन्छ। साथै उनले नेकपा एमालेको माधवकुमार नेपाल पक्षलाई पनि सहयोगको मागेका छन्। नेपाल पक्षका शीर्ष नेताहरूले पनि आफू ओलीलाई सत्ताबाट हटाउन सहयोग गर्न तयार रहेको आश्वासन देउवालाई दिएको खबर पनि बाहिर आएका छन्। नयाँ सरकार बनाउन आफूहरू राजीनामा दिन समेत तयार रहेको नेपाल पक्षले भनेको बताइएको छ।

नेपाल पक्षले सांसद पदबाट राजीनामा दिने मनशाय बनाइरहँदा विदेश विभाग उपप्रमुख विष्णु रिजालले भने काँग्रेसले एमाले फुटाउन लागेको आक्षेप लगाएका छन्। उनले सामाजिक सञ्जालमार्फत सरकार बनाउन एमाले फुटाउने खेलमा नलाग्न देउवालाई चेतावनी दिएका छन्।

‘नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) लाई पार्टीगत सहमतिका आधारमा १३६ सांसद जुटाएर नयाँ सरकार बनाउने सुविधा छ । तर, जसपा फुटाएर वा एमालेका सांसदलाई राजीनामा गर्न लगाएर सरकार बनाउन खोजेमा भविष्यमा आफ्नो पार्टीको हालत पनि त्यही हुन्छ भन्ने काँग्रेसलाई याद हुनुपर्ने हो,’ रिजालले लेखेका छन्।

२०५४ मा एमाले फुटाउन उत्साहसाथ लागेको काँग्रेस ०५९ मा आफैँ फुटेको इतिहास पुरानो नभएको उनले स्मरण गराएका छन्। ‘यसै पनि शेरबहादुर देउवाका नाममा सत्ताकै लागि भक्तबहादुर रोकायलाई गायब पारेको, राप्रपाका सांसदलाई बैंकक पठाएको, सांसदहरू किनेको, इतिहासकै जम्बो मन्त्रिमण्डल बनाएको, सांसदलाई पजेरो सुविधा दिएको र पछि पार्टीले सरकार छाड्न निर्देशन दिँदा पार्टी नै छाडिदिएको जस्ता कीर्तिमान कायम छन्,’ उनले भनेका छन्, ‘अवाञ्छित तरिकाले बनाएको र जोगाएको सरकार २०५३ साल मा आफ्नै पार्टीका दुई सांसद अनुपस्थित भएर अवाञ्छित तरिकाले नै ढालेको सम्झना हुनुपर्ने हो।’

उनले चार पटक प्रधानमन्त्री भइसकेका र आठ दशक पुग्न लागेका देउवाले बहुदलीय प्रजातन्त्रलाई बदनाम बनाउने त्यस कालखण्डलाई फेरि पछ्याउन खोज्दा लोकतन्त्र र काँग्रेसलाई कति फाइदा पुग्ला भनेर प्रश्न पनि गरेका छन्।