काठमाडौं। वैकल्पिक सरकार गठनबारे छलफल गर्न बसेको जनता समाजवादी पार्टी (जसपा) शीर्ष नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको छ।
बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको बैठकमा वैकल्पिक सरकार गठनका विभिन्न विकल्पबारे छलफल भएको संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिए। लोकतान्त्रिक पार्टीमा फरक–फरक धारणा आउनु स्वभाविक भएको भन्दै उनले भोलिसम्म एकीकृत धारणा तय गर्ने जानकारी दिए।
‘हाम्रो पार्टीको दुई खेमा होइन, फरक–फरक विचारहरु छन्। यो स्वभाविक हो लोकतन्त्रिक पार्टीमा,’ उनले भने, ‘संविधानको धारा ७६ को २ अनुसारको वैकल्पिक सरकार निर्माणका लागि दाबी पेश गर्ने भोलि अन्तिम समय छ। त्यसकै निम्ति पार्टीका शीर्ष तहमा अनौपचारिक कुराकानी गरेका छौं। छलफल जारी राख्छौं र भोलिसम्म्म एकीकृत विचार बनाउने प्रयासमा हामी छौं।’
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका राष्टपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुलाई दिएको तीन दिनको समयसीमा बिहीबार सकिंदैछ।