हटस्पटका फ्रन्टलाइनर भन्छन् : ‘आँसु लुकाएर बिरामीको उपचार गर्दै छौं’

pic
लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रेडयोलोजिस्ट डा.राजेन्द्र खनाललगायतको टिम/तस्वीर कान्तिपुर
लोकपाटी न्यूज

काठमाडौं। भर्ना नपाएर कोरोना संक्रमित स्ट्रेचरमा छटपटिन्छन्। अक्सिजनको अभाव उस्तै छ। स्वास्थ्यकर्मी आफैं सिलिन्डर खोज्न निस्कनुपर्छ। आईसीयू र अक्सिजन नपाएर संक्रमितले दिनहुँ ज्यान गुमाइरहेका छन्। अस्पतालमै संक्रमित खचाखच भएका बेला थप भर्नाका लागि चौतर्फी दबाब आउँछ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रेडयोलोजिस्ट डा. राजेन्द्र खनाललगायतको टिम जनशक्ति पर्याप्त छैन। भएका स्वास्थ्यकर्मीलाई चौबीसै घण्टा खटाउनु परिरहेको छ। यस्तै समस्यामा गिजोलिए पनि हरसम्भव संक्रमितको उपचार गरिरहेको नेपालगन्जको भेरी अस्पतालको नेतृत्वमा छन्, डा. प्रकाश थापा। मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. थापा आफैं दिनरात खट्छन्। संक्रमित भर्नाका लागि बुधबार दिनभर आफैं टेन्ट व्यवस्थापनमा लागेका थिए। कोरोना उपचारको केन्द्र बनेको अस्पतालमा लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमबाट बिरामी आइरहेका छन्।

विषम परिस्थितिमा अस्पताल प्रशासन सञ्चालन गर्न र बिरामीको उपचार कसरी सम्भव भएको छ ? ‘अस्पताल आइसकेको बिरामीलाई घर जानूस् भन्न मिलेन। भुइँमा राखेर भए पनि उपचार गरिरहेका छौं । चुनौती धेरै छन्। चुनौतीसँग जुधेरै अगाडि बढ्ने प्रयास गरिरहेका छौं,’ डा. थापाले भने, ‘हामीले गरिरहेको प्रयासमा स्थानीय प्रशासन र अन्य निकायले सहयोग गरिरहेका छन्।’ बेड नपाएर अस्पतालको इमर्जेन्सी अगाडि बिरामी छटपटिँदा उनी आफैं बेड मिलाउन पुग्छन्।

अक्सिजन व्यवस्थापनका लागि प्रशासनसँग समन्वयदेखि अर्थ जुटाउनसम्म आफैं खटिरहेका हुन्छन्। जनशक्ति अपुग भएकाले संक्रमित स्वास्थ्यकर्मीलाई रातदिन परिचालन गरिएको छ। थोरै जनशक्ति, बेड र अक्सिजन अभावले सेवा दिन चुनौती छ। ‘भेरी अस्पताल विकास समितिले पनि हामीलाई सहयोग गरिरहेको छ। प्रशासन, सुरक्षा निकाय, विभिन्न संघसंस्थाकै सहयोगमा अगाडि बढिरहेका छौं,’ डा.थापाले भने, ‘महामारीका समयमा धेरै कुरा गौण हुन जान्छन्। प्रमुख कुरा बिरामीलाई कसरी सेवा दिन सकिन्छ भन्ने नै हो।’ चिकित्सकलगायतका स्वास्थ्यकर्मी स्वस्फूर्त रूपमै बिरामीको सेवामा जुटेको बताउँदै उनले कुनै थप पारिश्रमिक वा भत्ताको व्यवस्था नरहेको जानकारी दिए।

कोरोनाको दोस्रो लहर सुरु हुनुअघि भेरी अस्पतालमा ६ जना संक्रमित मात्रै उपचारका क्रममा थिए। पहिलो चरणको संक्रमणमा निको हुने दर धेरै भएकाले चाप थिएन। डेढ महिनाअघि सुरु दोस्रो लहरले अस्पतालमा बिरामीको चाप थेगिनसक्नु छ। रातदिन लागेर वा चाहेर पनि चिकित्सकहरूले बिरामीलाई आवश्यक उपचारसेवा दिन सकिरहेका छैनन्। एउटै नर्सले ३०/३५ जना कोरोनाका बिरामीलाई हेर्नुपर्ने बाध्यता छ ।

यसै गरी संक्रमण बढ्दै जाने हो भने कसैले केही गर्न सक्ने अवस्था नरहने चिकित्सकहरू बताउँछन्। ‘कोरोना महामारी नियन्त्रणभन्दा बाहिर गइसक्यो। हामीले सक्ने सेवा दिने प्रयास गर्ने हो । त्यसभन्दा बढी हाम्रो हातमा केही रहेन,’ मेडिकल सुपरिन्टेन्डेन्ट डा. थापाले भने।

सरकारले जोखिम भत्ता दिने निर्णयसमेत गरेको छैन। सुरुवाती चरणमा काम गरेका स्वास्थ्यकर्मीले भने दरबन्दीअनुसार जोखिम भत्ता पाएका छन्। हाल काम गर्नेलाई जोखिम भत्ता दिने योजना बनाएको अस्पताल प्रशासले जनाएको छ। ‘कुरुवाबाट आक्रमण हुँदा पनि सहेकै छौं । आफन्त गुमाउँदा कुरुवा आक्रोशित हुनु स्वाभाविक नै हो,’ डा. थापाले भने, ‘त्यसलाई हामीले ठूलो मुद्दा बनाएका छैनौं ।’

दोस्रो लहरमा पनि नेपालगन्ज हटस्पट बनेपछि अस्पताल प्रशासनको प्रयासमा अक्सिजन प्लान्ट स्थापना गरिँदै छ। त्यस्तै केन्द्र, प्रदेश र स्थानीय सरकारले केही जनशक्ति उपलब्ध गराएका छन्। केन्द्रबाट चिकित्सकसहित ६० स्वास्थ्यकर्मी दिने भनिए पनि मागअनुसार निवेदन नपर्दा ४८ जनालाई नियुक्त गरेर काममा लगाइएको छ। विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृतको अभाव छ। नेपालगन्ज उपमहानगरपालिकाले १५ स्वास्थ्यकर्मी भेरीमा पठाएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट चिकित्सकसहित २२ स्वास्थ्यकर्मी पठाइएपछि केही सहज भएको छ।

अस्पताल प्रशासनलाई जनशक्तिसँगै अक्सिजन र बेड अभाव सबैभन्दा ठूलो समस्या बनेको छ। ‘अक्सिजन पर्याप्त नहुँदा उपचारमा समस्या थपिएको छ। समयमा अक्सिजन नपाउँदा बिरामीको ज्यान जाने अवस्था आएको छ,’ अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले भने, ‘लिक्विड ट्यांकर आयो तर रिफिल गर्ने सामग्री नहुँदा अक्सिजन पु¥याउन सकिएको छैन।’ अस्पतालले लिक्विड अक्सिजनका लागि १५ दिनअघि अनुरोध गरे पनि अहिलेसम्म उपलब्ध भएको छैन। अध्यक्ष धितालका अनुसार अस्पतालसँग समन्वय नगरेर बिरामी अस्पताल पठाउँदा पनि बाटोमै अक्सिजन नपाएर ज्यान गुमिरहेका छन्। अहिले अस्पतालमा रहेका ९० प्रतिशत बिरामीको अक्सिजनसहितको बेडमा उपचार भइरहेको छ । अस्पतालमा दिनमा ४ सय ५० वटा ठूला अक्सिजन सिलिन्डर खपत हुन्छ।

बाँकेमा रहेका दुईवटा अक्सिजन सप्लायर्सले पश्चिम नेपालकै ठूला अस्पताललाई अक्सिजन उपलब्ध गराइरहेका छन्। केही दिनयता विद्युत् आपूर्तिमा समस्या भएपछि अक्सिजन उत्पादन बढ्न सकेको छैन। ‘अक्सिजनले धान्न नसक्ला भनेर परिवारलाई पहिले सूचित गराएका छौं। प्लान्टबाट एकैपल्ट पाइप लाइनबाट सबै बेडमा अक्सिजन दिइन्छ,’ भेरी अस्पतालकी नर्सिङ अधिकृत शिला शर्माले भनिन्, ‘पाइप लाइन नभएको ठाउँमा सिलिन्डरबाट अक्सिजन दिइरहेका छौं।’

कोरोना वार्डबाहिर रहेका चारवटा कुरुवा बेडमा सिलिन्डर प्रयोग भइरहेको छ। कोरोना उपचार केन्द्र भेरी अस्पतालमा १८ वटा आईसीयू बेड छन्। स्वास्थ्य अवस्था निकै जटिल भइसकेका संक्रमितका लागि १५ वटा भेन्टिलेटर छन्। कोरोनाका लागि १ सय ४२ बेडको अस्पताल मानिएको भेरीमा २ सय १० बेड पु¥याइएको छ। अस्पतालका हरेक कुनाकाप्चामा बेड थप्दै २ सय ४९ जना संक्रमितको उपचार गरिँदै छ। भेरी अस्पतालका चिकित्सकसहित १ सय ६० जनाभन्दा बढी स्वास्थ्यकर्मी र कर्मचारीलाई संक्रमण भइसकेको छ। संक्रमित भएर पनि स्वास्थ्यकर्मीले बिरामीको सेवा गरिरहेका छन्। उनीहरू एक साता २४ घण्टा काम गरेर दुई साता आइसोलेसनमा बस्छन् र पुनः काममा फर्किन्छन्।

खानसमेत समय छैन

रूपन्देहीमै धेरै सक्रिय संक्रमित रहेका बेला लुम्बिनी प्रदेशका अन्य जिल्लाबाट गम्भीर बिरामी थपिने क्रम जारी छ। यहाँका स्वास्थ्य संस्थालाई बिरामीको चाप थेग्न मुस्किल परेको छ। बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी एक वर्षदेखि कोरोना संक्रमितको उपचारमा सक्रिय छन्। त्यसको नेतृत्व प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) रेडयोलोजिस्ट डा. राजेन्द्र खनालले गरिरहेका छन्। ‘आफ्नै स्वास्थ्यले महामारीसित जुझ्ने प्रयास विफल पार्छ कि भन्ने डर छ,’ उनले भने, ‘मंगलबार हनहन्ती ज्वरो आयो, शरीर दुख्यो, फेरि कोरोना संक्रमण भयो कि जस्तो महसुस भयो।’ उनी गत वर्ष पनि संक्रमित भएका थिए। ‘मनमा डर पलायो तर मेरो प्राथमिकता बिरामी हुन् भन्ने लागेपछि अस्पतालमा आएँ,’ उनले सुनाए।

डा. खनाल दैनिक यसरी आफूलाई हौसला प्रदान गर्छन्। आफ्नो मनोबल कमजोर बनाउँदा दिनरात उपचारमा खटिने स्वास्थ्यकर्मीलाई कसरी हौसला प्रदान गर्ने भनेर सोच्छन्। ‘अहिले खाना खाने समय छैन,’ उनले भने, ‘खानालाई आवश्यकतामा राखेका पनि छैनौं ।’ पूरै समय अस्पतालमा आइपर्ने समस्या हल र बिरामीको रेखदेखमा बिताउने गरेको उनले बताए। ‘घरबाट श्रीमती र बच्चाले फोन गरेपछि झस्किन्छु,’ उनले भने, ‘अनि घर पनि जानुपर्छ भन्ने लाग्छ।’ उनका अनुसार अस्पतालको अवस्था चौबीसै घण्टा ‘भयावह’ हुन्छ। यसअघि जडान गरिएका बेड, आईसीयू र भेन्टिलेटरमा बिरामी छन्। दैनिक सघन उपचार आवश्यक पर्ने बिरामी थपिन्छन् । शय्या अभावमा आपत्कालीन कक्षमा बस्छन्। त्यस्ता बिरामीलाई अक्सिजन जडान गरिन्छ। ‘एक सातादेखि अक्सिजन पनि अपुग छ,’ उनले भने, ‘अभाव भएपछि बिरामीको अक्सिजन मास्क निकाल्नुपर्ने अवस्था छ।’

अस्पतालको मूलद्वारबाटै देखिने संक्रमितको दर्दनाक अवस्थाले मुटु पोल्ने गरेको डा खनालले बताए। ‘संक्रमित र उनीहरूका आफन्तसित आँसु लुकाएर प्रस्तुत हुनुपर्ने बाध्यता छ,’ उनले भने। एक वर्षमा धेरै बिरामीलाई भेन्टिलेटरमा राखेर पनि निको बनाएको स्मरण गर्दै उनले भने, ‘अहिले परिस्थिति धेरै जटिल छ । यही अवस्था रहे अनुमानभन्दा धेरैको मृत्यु हुन सक्छ ।’

डा. खनालले पहिलो लहरको सुरुवातबाटै सामाजिक सञ्जालमा कोरोनाबारे जानकारी, अस्पतालको अवस्था, बेड, जनशक्ति, अक्सिजन आपूर्ति, बिरामी र तिनका कुरुवाको स्थिति उल्लेख गरेर स्टाटस लेख्दै आएका छन्। सामाजिक सञ्जालमार्फत स्वास्थ्य क्षेत्रका समस्या सम्बन्धित निकाय, सञ्चारमाध्यम र आमनागरिकलाई जानकारी गराउँदै आएका थिए। दिनरात समाचार आउदा र अस्पतालको पूर्वाधार अवस्था प्रस्ट हुँदा पनि नागरिकले आफूलाई नलागेसम्म केही हुँदैन भनेर लापरबाहीलाई नरोकेको उनले बताए। ‘महामारीका बेला पनि विवाह, पार्टी, चौरासी पूजामा बिना मास्क हाँस्दै तस्बिर लिन छाडिएन,’ उनले भने, ‘बाँचे अर्को वर्ष रमाउँला भन्ने सोचाइ राख्नुप¥यो ।’

बिहानै अस्पताल पुग्ने उनले आकस्मिक कक्षको भुइँमा असरल्ल पल्टिएका बिरामी, त्यहीँ ठिंग रहेका अक्सिजन सिलिन्डर, नजिकै बसेर कुरुवाले हेरचाह गरिरहेका दृश्य, स्वास्थ्यकर्मीले सबै बेडमा ध्यान दिनुपर्ने अवस्था हुँदा समेत जनशक्ति अभाव देख्दा मन कुँडिने डा. खनालले बताए। ‘अहिले त आफन्तले जोखिम मोलेरै आफ्ना मान्छेलाई बचाउन प्रयास गरिरहेको देखिन्छ,’ उनले भने, ‘त्यो देख्दा महामारीमा हामीले नगरे कसले गर्छ भन्ने भावना पलाउँछ।’ पीपीई लगाउन समय खर्चिनुभन्दा मास्क पहिरी सेनिटाइजर लगाएर आईसीयू, एचडीयू, आकस्मिक कक्ष र फिभर क्लिनिकमा पुग्ने गरेको उनले बताए।

पछिल्ला दिनमा दैनिक खपत हुने ४ सयभन्दा बढी सिलिन्डरका लागि अस्पतालका अन्य चिकित्सक, कर्मचारी, आफू स्थानीय सरकार, अक्सिजन उद्योग र प्रशासनको ढोका चहार्न बाध्य भएको बताए। ‘आफ्नै गाडी लिएर अक्सिजन खोज्न हिँड्छु,’ उनले भने, ‘चौतर्फी ध्यान दिइरहे पनि व्यवस्थापन सम्भव नहुँदा कष्टकर स्थिति आउने गरेको छ।’ एउटै विषयमा सधैं सबैतिर बोलिरहनुपर्ने, भनिरहनुपर्ने, बाध्यता रहेको पनि उनले बताए। दुःख गर्दा पनि आईसीयूमा भर्ना लिन नसक्दा दिनमा आधादेखि एक दर्जन संक्रमितले आपत्कालीन कक्षमै ज्यान गुमाउने समस्याले पिरोल्ने गरेको उनले सुनाए। डा. खनालका अनुसार अहिले अन्य रोगका बिरामीको उपचार ठप्प छ। स्वास्थ्यकर्मीले आकस्मिक कक्षदेखि आईसीयू, एचडीयूसम्ममा खटिनुपरेको छ।

रूपन्देहीको भैरहवास्थित भीम अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. शकुन्तला गुप्तालाई निद्रा पर्दैन। ‘रातभरि कसैको फोन आइहाल्छ कि, उठेर हिँंडिहाल्नुपर्छ कि, अब के हुन्छ होला, बिरामीका आफन्तले के भन्लान्, जवाफ के दिने, कर्मचारीलाई कसरी प्रोत्साहन गर्ने भन्नेजस्ता प्रश्न मनमा खेल्छन्,’ उनले भनिन्, ‘घरको ढोकाबाट भित्र देखिने निदाएका छोराछोरी, बिरामी आमा, कतिबेला आउँछ्यौं भनेर सोध्ने श्रीमान् कसैसँग पनि राम्ररी बोल्ने फुर्सद हुँदैन।’

भीम अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा. शकुन्तला गुप्ता

बिहानदेखि बेलुकासम्म अस्पतालका दुईवटा फोनमा आउने प्रश्नको जवाफ दिने, चिकित्सक, नर्सलगायत कर्मचारीसँग समन्वय गरी बिरामी व्यवस्थापन गर्ने, जिल्ला प्रशासन, प्रदेश सरकारसमक्ष समस्याको जानकारी गराउने र समाधान खोज्ने काममा समय कटिरहेको उनले सुनाइन्।

स्त्रीरोग विशेषज्ञ डा. गुप्ता गत भदौदेखि अस्पताल प्रमुखका रूपमा कार्यरत छिन्। जिम्मेवारीमा आएका बेला अस्पतालमा कोरोनाका बिरामी राख्नुपर्ने अवस्था थिएन। ‘हामीलाई बुटवलको कोरोना विशेष अस्पतालका बेडमा संक्रमित व्यवस्थापन भइरहेकाले नआत्तिन भनिएको थियो,’ उनले भनिन्, ‘एकाएक स्थिति भयावह भएपछि कोरोना उपचार थालियो।’ महामारीका बेला बिरामी र अस्पताल सम्हाल्न हम्मे परेको उनले बताइन्। ‘जता हे¥यो त्यतै रुवाबासी, छटपटी र आतुरी छ,’ उनले भनिन्, ‘चाहेर पनि कतिलाई बचाउन सकिरहेका छैनौं।’

स्वास्थ्यकर्मीले बास नपाउँदा उनीहरूका परिवार पनि जोखिममा रहेको उनले बताइन्। बिहानै अस्पताल पुग्ने उनी दिनभरि भोकै बस्छिन्। ‘नुहाउन जाँदा फोन नउठे मेसुको फोन उठेन भन्ने आरोप आउँछ,’ उनले भनिन्, ‘साँझ घर पुगेपछि खाना खान्छु।’ निद्रा नपुगेकाले टाउको दुख्ने, आँखा पोल्ने गरेको उनले सुनाइन्। कान्तिपुरबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्